कविताको नेपाल यात्रा

कविताको नेपाल यात्रा

इतिहासदेखि वर्तमानसम्म कविताको यात्रा सुगम भने कहिल्यै रहेन। पहिल्यैदेखि कवि र कविताले तालीका साथै गाली पनि पाइरहे।


अमेरिकी लेखक तथा समालोचक एडमन्ड विल्सनले कविता विधाको पतनबारे हल्ला मच्चाउँदै सन् १९३४ मा ‘इज भिर्स अ डाइङ टेक्निक ?’ शीर्षकमा निबन्ध लेखेका थिए। त्यसबेला उनको यस प्रश्नमाथि धेरै कवि तथा कविताप्रेमीले आपत्ति जनाए। अर्का अमेरिकी लेखक जोसफ इप्सटनले पनि कमेन्ट्री पत्रिकामा सन् १९८८ मा ‘हु किल्ड पोयट्री ?’ शीर्षकमा यस्तै आशयको निबन्ध लेखेका थिए।

यसरी बेलाबेलामा कवितालाई मरिसकेको साहित्यिक विधा भन्दै अनेक लेखरचना आइरहेका छन्। जसले यस बहसलाई सेलाउन दिइरहेको छैन। हुन त एडमन्ड विल्सन र जोसफ इप्सटनभन्दा धेरै अगाडि कवितालाई समयको नास मान्नेहरू अनेक थिए।  ईशापूर्व चौथो शताब्दीको मध्यतिर नै प्राचीन ग्रीसको एथेन्समा दार्शनिक प्लेटोले कविलाई समाजबाट बहिष्कार गर्नुपर्छ भनेका थिए। उनका विचारमा कविहरू कल्पनामा रमाउने मान्छेहरू हुन् र यिनले समाजको विकासमा खासै योगदान पुर्‍याउँदैन भन्ने थियो।

इतिहासदेखि वर्तमानसम्म कविताको यात्रा सुगम भने कहिल्यै रहेन। पहिल्यैदेखि कवि र कविताले तालीका साथै गाली पनि पाइरहे। साथीहरूको जम्काभेट, टीभी सो र हास्यव्यंग्य कार्यक्रमहरूमा समेत कवि र कवितामाथि उति नै व्यंग्यात्मक प्रहार भइरह्यो। विश्वसाहित्य परिदृश्यमा पनि कवितालाई अनेकौं पटक समाप्त भइसकेको विधा भनिरहँदा फ्रान्सेली उपन्यासकार गुस्ताफ फ्लोबेरले 
समेत कवितालाई बेकार र मिति गुज्रिसकेको साहित्यिक विधा भनेका छन्।

त्यस्तै अमेरिकी कवि फ्रेडरिक ओग्डेन न्यासले कविताको कुनै उपयोगिता नभएकोसम्म भने। उनको विचारमा कविता उपयोगी र उत्पादनशील हुँदैन। यसरी पत्रपत्रिकामा कविताले आफ्नो पाठक गुमाइरहेको गुनासो दिनप्रतिदिन बढ्दो छ। यद्यपि कविता यस्तै आरोप–प्रत्यारोप माझबाटै अनवरत आफ्नो बाटोमा हिँडिरहेकै छ। उसो त कवितालाई सर्वोत्कृष्ट साहित्यिक विधा मान्ने कविताप्रेमीहरू पनि छन्। अमेरिकी कवि विलियम कार्लोस विलियमले आफ्नो जीवनको अन्तिम दिनतिर एउटा लामो कवितामा लेखेका छन्, ‘कविताबाट समाचार पाउन साह्रो छ। तर कवितामा भएका अनेक थोकको अभावमा मानिस हरदिन बिजोग भएर मरिरहन्छ।’

यी वाक्यहरूले कविताको महत्त्वबारे भन्नुपर्ने जति भनेका छन्। भन्छन्, कविता सम्पूर्ण साहित्यको जननी हो। यसले साहित्यको हरेक विधामा सौन्दर्य र मिठास थप्छ। यसरी कवितालाई साहित्यमा महत्त्वपूर्ण विधाको रूपमा स्थापित गरिदिएको छ। ‍युगौंदेखि अनेक रूप फेर्दै कविता हामीसँगै यात्रारत छ। अनेक अर्थपूर्ण परिभाषाहरूमा परिभाषित हुँदै वर्तमानसम्म आइपुग्दा कविताले आफ्नो पछाडि असंख्य कविताप्रेमी कवि तथा पाठक भेला पार्न सफल भएको छ।

अहिले समयको घाम कविताको फाँटमा चम्किलो पाराले टल्किरहेको छ। कविताले पाठक र श्रोताको मायाको न्यानो भरपूर पाइरहेको छ। सद्भावको रापिलो घामले कविताको संसारमा व्याप्त चिसो हटाउन सहयोग गर्दै छ। 

अहिले नेपाली साहित्यवृत्तमा कवि र कविताको चर्चा चुलिँदो छ। २०७८ सालको मदन पुरस्कार अग्नि महाकाव्यका लागि नवराज लम्साललाई प्रदान गरिएको छ। जसले नेपाली कवितावृत्तमा खुसीयाली छाएको छ।
२०७९ को सुरुवातसँगै करिब एक दर्जन कविका नयाँ पुराना कृतिहरूले बजार प्रवेश गरे। कोरोनाको प्रकोप तथा आर्थिक मन्दीले थलिएको पुस्तक बजारमा यसले निकै ठूलो खुसी ल्याएको छ। यसले नेपाली कविताको माहोल फेरि एकपटक तातिएको छ। 

साहित्यकै ठूला पुरस्कारका लागि कविता विधाका कृतिहरू छनोटमा परिरहेका छन्। अग्रज कविका कृतिहरू पुनः प्रकाशित भइरहेका छन्। कविताका थुप्रै कृतिका नयाँ संस्करण बजारमा आइरहेका छन्। साथै नेपाली कवितामा नयाँनयाँ अनुहारहरूको उदय भइरहेको छ।यसबेला कविहरू हौसिएका छन्। हप्तैपिच्छे ठाउँठाउँमा कविता कृतिहरूमाथि अन्तरक्रिया, तथा छलफल कार्यक्रमहरू सम्पन्न भइरहेका छन्। बजारमा बग्रेल्ती नयाँ कविता कृतिहरू आउँदै छन्। पुस्तक पसलतिर कविता कृतिहरूका रंगीचंगी आवरणहरू झुन्डिएका भेटिन्छन्। कविहरू अनेक पुरस्कार थापिरहेका छन्। नियमित कविता प्रतियोगिताहरू भइरहेका छन्। कविता महोत्सवहरू सम्पन्न भइरहेका छन्। कविहरू मिलेर कवितायात्रा गरिरहेका छन्। थुप्रै कविहरू एकल वाचनका लागि देशभित्र र बाहिर आमन्त्रित भइरहेका छन्। कविका अन्तर्वार्ताले पत्रिकाका पानाहरू भरिएका छन्।

नेपाली कविता अन्य भाषामा अनुवाद हुँदै छन्। अन्य भाषाका कविता पनि नेपालीमा आउँदै छन्। जहाँ नेपाली पुगेका छन्, ती देशबाट अनेकले कविता लेखिरहेका छन्। फेसबुक, अनलाइन वेभसाइट तथा पत्रपत्रिकाहरूमा कविताकै चर्चा छ। प्रतियोगिताहरूमा अनियमितताको हल्लाभित्रै चले पनि भाग लिनेको संख्या घटेको देखिँदैन। कविता कृतिहरूमाथि समीक्षा निरन्तर छापिँदैछन्। कविहरूले स्टेज पाइरहेकै छन्। कविका एकलवाचन कार्यक्रमहरूमा वाहवाह र वान्स मोरको डिमान्ड आएकै छन्। कवि र कविताप्रति पाठकश्रोताको असीम माया र लगाव देखिन्छ। दृश्यमा अनेकौं कवि र कविता छन्। पक्कै पनि धेरै कवि देखिनु र धेरै कविता लेखिनु गलत होइन। भोलि यिनै कविहरूबाट केहीले नेपाली कवितामा दह्रो उपस्थिति देखाउने छन्। तर यस हूलमूलमा जोगिनु पनि आवश्यक छ।

गुणात्मक नभई संख्यात्मक कविताको उत्पादनले निम्त्याउने दुष्परिणाम भनेकै राम्रा कवि र कविता ओझेल पर्ने सम्भावना हो। अकविहरू पर्दा अगाडि देखा पर्दा असल कविहरू पर्दा पछाडि धकेलिन्छन्। यस्तो अवस्थामा जिम्मेवार कवि, समालोचक तथा पाठकले राम्रा कवि र कवितालाई साथ र प्रोत्साहन दिनु आजको आवश्यकता हो। यसका लागि कविताको संरक्षणमा राम्रो पाठकको भूमिकालाई नकार्न सकिँदैन।
विश्वप्रसिद्ध कवि वाल्ट व्हिटमेनले सन् १८९२ तिर भनेका थिए– महान् कविहरू पाउनको लागि महान् श्रोता (पाठक) पनि जरुरी छन्। कविता पढ्ने पाठकको संख्या अन्य विधाका पाठकभन्दा तुलनात्मक रूपमा कम छ। धेरैको बुझाइमा कविता कमैले बुझ्छन्। यसकारण थोरैले मात्रै किन्छन् र पढ्छन्।

कविताका बौद्धिक पाठकलाई हल्ला कविताको स्वादले पक्कै बाँधेर राख्न सक्दैन। वर्तमान नेपाली कवितामा चुनौतीका अनेक पर्खालहरू ठडिएका छन्। भित्रभित्रै विसंगतिहरू पनि बढिरहेका छन्। 

हुन पनि कवितामा भाषाको परिष्कृत र उत्कृष्ट प्रयोग हुन्छ। जसका कारण कवितालाई आम पाठकले बुझ्न पक्कै गाह्रो हुन्छ। त्यसमाथि विम्ब, प्रतीक तथा भाषाको जटिलताले कवितालाई अन्य विधाभन्दा बेग्लै बनाइदिन्छ।यसकारण पनि कविता लेख्नेहरूले कविता पढ्छन् या जसका कविता छापिएका हुन्छन् उनैले मात्रै त्यो पत्रिका किन्छन्। हुन त कवि र कविताको लक्ष्य बजारमा बिक्रीको ग्राफ उक्लिनु मात्रै कदापि होइन। कविता बजारमा बिक्री नभए पनि जीवनमा सुखानुभूति ठूलो प्राप्ति हो।

हो, वास्तवमा कविता हाम्रो समाज, परिवेश र जीवनसँगै जोडिएर जीवन बन्छ। कविताले हरेक चिजलाई नजिकबाट हेर्न सिकाउँछ। कविताले ती चिजहरूमा सौन्दर्य खोज्न सिकाउँछ। सुखदुःखलाई अनुभव गर्न सिकाउँछ। यी सबलाई सुन्दर रूप दिन सिकाउँछ। कविताले तिनमा मिठास र सौन्दर्य भर्छ। यसकारण पनि बजारमा बिक्री मात्रै कविताको प्रमुख लक्ष्य हुनु हुँदैन। फेसबुक, पत्रपत्रिका, अनलाइन साइटहरू तथा एकलवाचनका कार्यक्रमहरूले कवितालाई सम्भावित पाठकश्रोतासम्म पुर्‍याइरहेका छन्। यो राम्रो संकेत हो।

बुझ्न यो पनि आवश्यक छ कि कविता लोकप्रिय हुँदैमा शक्तिशाली हुने सोच गलत छ। लोकप्रिय हुनु र गुणस्तरीय कविता लेखिनुमा पक्कै फरक हुन्छ। कवि र कविताले पत्रिकामा छापिनु वा मञ्च पाउनु नै सफलताको ग्यारेन्टी कदापि होइन। हल्ला गर्न नसकेको कविता कमजोर हुन्छ भन्ने सोच पनि गलत हो। विज्ञापनको सहयोगले कविताकृतिहरू केही थप संख्यामा बिक्री होलन्। तर समाचार वा गीतजस्ता कविताले नेपाली कविताको मान र सानलाई लामो समयसम्म थाम्न सक्दैनन्। पाठकलाई गहिरो प्रभावमा पारिराख्न त गुणात्मक कविताकै खाँचो छ।

कविताका बौद्धिक पाठकलाई हल्ला कविताको स्वादले पक्कै बाँधेर राख्न सक्दैन। वर्तमान नेपाली कवितामा चुनौतीका अनेक पर्खालहरू ठडिएका छन्। भित्रभित्रै विसंगतिहरू पनि बढिरहेका छन्। नेपाली कविताले पार गर्नुपर्ने अनेकौं समस्याहरू छन्। यस अवस्थामा, कविताको राम्रो अध्ययन गरेर यसका सकारात्मक र नकारात्मक पाटो केलाउँदै मार्गनिर्देशन गर्न सक्ने कविताप्रेमीहरूको खाँचो छ। अहिले समयको घाम कविताको फाँटमा चम्किलो टल्किरहेको छ। कविताले पाठक र श्रोताको मायाको न्यानो भरपूर पाइरहेको छ। सद्भावको रापिलो घामले कविताको संसारमा व्याप्त चिसो हटाउन सहयोग गर्दै छ। यस उज्यालोमा कवितातिर आकर्षित थुप्रै नयाँ युवा अनुहारहरू देखा पर्दैछन्। रुचिपूर्वक कलम समाइरहेका यी उत्साहित नवप्रवेशीहरूलाई प्रोत्साहन गर्नु आवश्यक छ।

लोकप्रिय हुनु र गुणस्तरीय कविता लेखिनुमा पक्कै फरक हुन्छ। कवि र कविताले पत्रिकामा छापिनु वा मञ्च पाउनु नै सफलताको ग्यारेन्टी कदापि होइन। हल्ला गर्न नसकेको कविता कमजोर हुन्छ भन्ने सोच पनि गलत हो। 

कविता सिर्जनाको चाहनामा बग्दै आएका यी सासाना खोलानालाहरूलाई कविताको खेततिर लगाउनु पर्छ। जहाँ नेपाली कविताको उज्ज्वल भविष्यको हरियो खेती गर्न सकिने प्रशस्त उर्वर सम्भावनाहरू छन्। हामी सचेत बनौं कि कविताकृतिहरूको यस भेल बाढीले कविताको मिठास र सौन्दर्यलाई बगाएर नलगोस्। यसले कविता साहित्यको सुन्दर तलाउलाई धमिलो नपारिदियोस्। बरु यसले कविताको संसारमा हुर्किरहेका नयाँ कवि अनुहारहरूलाई मलजल गरी हुर्काउँदै कविताको बगैंचालाई सुवासयुक्त नयाँ फूलहरूले सजाइदियोस्।

बुझ्नु छ कि मात्रै शब्दहरूको अस्थिपञ्जर थुपारेर खडा गरिएको पहाडले नेपाली कवितालाई दीर्घकालीन उचाइ दिन सक्दैन। कविता लेखनमा दह्रोसँग उभिनलाई कवितामा काव्यशक्तिको उपस्थिति आवश्यक छ। पानीको फोकाको जस्तो सौन्दर्यले कवितालाई दीघार्यु प्रदान गर्न सक्तैन। बजारमा बिक्ने कविताभन्दा पाठकको दिलदिमागमा गहिरो गरी टिक्ने साहित्यिक महत्त्वका कविता महत्त्वपूर्ण हुन्। जसको कलात्मक मूल्य धेरै उच्च छ। होडबाजीको प्रवृत्तिले अनेक कवितालाई सस्तो फिल्मी गीतको दर्जामा पुर्‍याइरहेको छ। यस्ता गीतहरू जो नयाँ फिल्मको कुनै अर्को आइटम नम्बर रिलिज हुनेबित्तिकै बजार तथा श्रोताको मन र दिमागबाट हराउँछन्।

अतः यस्तो होहल्लामा कवितामाथि अनेक गम्भीर प्रश्नहरू तेर्सिएका छन्। कवि र कवितालाई उचाल्ने र पछार्ने काम भइरहेका छन्। तर यस भीडभाडमा पनि कविताको एउटा सुखद बाटो कोर्न सकिने आशा चाहिँ जीवितै छ। जे होस् यो समय कविताको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.