जहाँ भोट लिन्छन्, हराउँछन् नेता

जहाँ भोट लिन्छन्, हराउँछन् नेता

मर्चवार (रुपन्देही ) :

चाची नमस्ते ! गोड लगी ( काकी नमस्ते ! ढोग गरेँ) 
आशीर्वाद ! खुस राह ( खुसी रहनुहोस् ) 

रूपन्देही जिल्लाको विकट मर्चवार क्षेत्रमा उम्मेदवार र मतदाताबीचको संवाद हो, यो। झन्डै चार पालिका ओगटेको मर्चवार क्षेत्रमा यस खालको संवाद दोहोरिन पाँच वर्ष लाग्छ। २०७४ सालमा दैलोमा देखिएका नेताहरू पुनः नमस्कार गर्दै अहिले मतदाताबीच देखा परेका छन्। 

रुपन्देही ४ मा पर्छ, मर्चवार। पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत लुम्बिनी खण्डको भैरहवादेखि झन्डै सात किलोमिटर पश्चिमी दक्षिण दिशामा छ, कोइली चाईको घर। चाईका बहिनीहरूको सीमापारी बिहे भएको छ। ‘बहिनीको परिवारले पनि खेतीपाती गर्छन्,’ चाई भन्छिन्, ‘उब्जनी नहुँदा भारत सरकारले उनीहरूलाई सहयोग गर्छ। हाम्रो सरकारले हामीलाई राहत (अनुदान) दिँदैन।’

यो क्षेत्रका घरघरमा आउन लागेको प्रतिनिधि र प्रदेशसभामा उठेका उम्मेदवारका पोस्टर टाँसिएको छ। कतिपयले उम्मेदवारका चुनाव चिन्ह अंकित पम्प्लेट घरमा सुरक्षित राखेका छन्। तर, दशकौंदेखिको मर्चवारवासीको समस्या ज्युँका त्युँ छन्। चाई भन्छिन्, ‘भोट माग्न र पोस्टर टाँस्न मात्र आउँछन्। त्यसपछि अनुहारै देखाउँदैनन्।’

प्रधानमन्त्री, प्रधानन्यायाधीश, गभर्नर जन्माएको मर्चवार बत्तीमुनिको अँध्यारो जस्तो छ। नेताहरूले मर्चवारलाई दशकौंदेखि भोट बैंकका रूपमा प्रयोग गरिरहेका छन्। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, पूर्वगभर्नर हरिशंकर त्रिपाठी मर्चवारमै जन्मिएका हुन्। ‘अहिले जागरुकता विस्तारै बढेको छ,’ पूर्वप्रधानन्यायाधीश मिश्र भन्छन्, ‘शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने जरुरी छ।’ 

सधैं भोट बैंक मात्र

‘सोच इमान्दार, काम दमदार’ लगायतका नारा लेखिएका उम्मेदवारका पोस्टर भित्तामा टाँसिएको छ। सत्ता गठबन्धन, नेपाल जनता पार्टी, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारको पोस्टर बढी देखिन्छ। यहाँका रैथाने थारु, शुक्ल, यादव, लोध, कुर्मी, कलावर, गुप्ता, बनिया, मुसलमान लगायतका जातजातिमा कसलाई भोट हाल्ने छलफल चलिरहेको छ। निर्वाचन– ४ मा मतदाताको संख्या १ लाख ५ हजारभन्दा बढी छ।

चुनावको बेला उम्मेदवारले मर्चवारमा घरदैलो गर्न छुटाउँदैनन्। विकासका ठुल्ठूला सपना देखाउँछन्। तर, निर्वाचन लगत्तै उम्मेदवारहरू व्यवहारमा परिवर्तन आउने गरेको स्थानीय बासिन्दाको गुनासो छ। कोटहीमाई गाउँपालिका–४ का रामअवतार कहारले नेताहरूबाट आसै गर्न छोडिसके। ‘नेताहरूको काम त भन्ने हो। गर्ने होइन।’ उनी असन्तुष्ट देखिए।

सोही गाउँको चन्द्रिका पासवानले हरेक चुनावमा मत परिवर्तन गर्छन्। तर, जुनसुकै नेताले जिते पनि परिवर्तन ल्याउन नसकेको उनको गुनासो छ। ‘जो नेताले जिते पनि सबै आफ्नो पेट भर्ने हुन्। गरिबलाई कसैले केही गर्दैन। हामीले त पसिना बगाउने मात्र हो,’ पासवान भन्छन्, ‘वडा तहको तालिममा पनि विभेद गर्छन्। नेताले आआफ्ना मान्छे पठाउँछन्।’ पासवानको ६ जनाको परिवार छ। परिवारमा ३ छोरा १ छोरी छन्। ५ कट्ठा जग्गा छ। ८ बोरा धान आउँछ। ‘खडेरी परेको छ। यस वर्ष खेतमा उब्जनी भएको धानले खानै पुग्दैन। मजदुरी गर्ने हो। सिँचाइ भएको भए ३० बोरा हुन्थ्यो,’ उनले भने। 

रूपन्देही जिल्लाको विकट क्षेत्रमा पर्छ मर्चवार गाउँ। जब चुनाव आउँछ, यहाँ उम्मेदवार र नेताको चहलपहल बढ्छ। विकास र परिवर्तनका सपना बाँड्न उम्मेदवारलाई भ्याइनभ्याइ हुन्छ। स्थानीय कोइली चाई भन्छिन्, ‘नेताहरू आश्वासन बाँड्न मात्रै पाँच वर्षमा आउँछन्। जितेपछि हराउँछन्। हामी भोट बैंक मात्रै भयौं।’ 

मर्चवारमा सिँचाइको समस्या छ। खेतीपाती गर्ने बेला मल पाइँदैन। ‘मल अभाव हुँदा सीमापारि भारतबाट लुकिछिपी मल ल्याउनुपर्छ,’ ५० वर्षीय कहार भन्छन्, ‘भारतीय पुलिसले देख्यो भने डन्डा हान्छ।’ उब्जनीले नपुगेपछि बजारमा मजदुरी गर्न जानुपर्छ। मजदुरी गर्दा पनि मालिकले बार्गेनिङ गर्छन्। कम मूल्यमा काम लगाउँछन्। ‘घरमा कोही बिरामी भए तनाब थपिन्छ,’ उनले भने।

चुनावमा बेलाबखत मत फेर्ने मर्चवारवासी घरदैलोमा आएका सबै उम्मेदवारलाई राम्रै व्यवहार गर्छन्। ‘दैलोमा आएको उम्मेदवारलाई राम्रो व्यवहार गर्नु हाम्रो संस्कार हो नि,’ चाई भन्छिन्, ‘मनमा छलकपट राखेर दैलोमा आएको थाहै हुँदैन। तै पनि हामी चिनी पानी पिलाएर स्वागत गर्छौं।’ उम्मेदवारलाई गुलियो पानी खुवाउने मतदाताले दशकौंदेखि स्वच्छ खानेपानी, सिँचाइ र मलको समस्या भोगिरहेका छन्। 

सिँचाइको सकस 

३९ वर्षीया पाना पासवान चिन्तित देखिन्छिन्। मर्चवारमै जन्मिएकी पासवान स्मरण गर्दै भन्छिन्, ‘भैरहवा ठूलो सहर भइसक्यो। मर्चवारको जस्ताको त्यस्तै छ।’ अन्नपूर्ण पोस्ट्को टिम खेतमा पुग्दा स्थानीय बासिन्दा साउनमा रोपेको धान भिœयाउँदै थिए। तर, मुहारमा खुसी थिएनन्। सिँचाइको अभाव छ। आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ। पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत लुम्बिनी खण्डको भैरहवाका स्थानीय वृद्ध मतदाता ।  तस्बिर : अशोक दुलाल 

खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावले उत्पादनमा कमी आएको स्थानीय बासिन्दाहरू बताउँछन्। मर्चवारको मुख्य आयस्रोत कृषि हो। समथर खालको भू–बनोट छ। समतल भू–भाग र उर्बर मलिलो माटो छ। मर्चवार लिफ्ट सिँचाइ सुविधा पर्याप्त छैन। कृषि उत्पादनमा ह्रास आउँदा स्थानीयलाई वर्षभरि खान पुग्दैन। मजदुरी गरेर परिवार पाल्नुपर्ने बाध्यता छ। यस क्षेत्रबाट निर्वाचनमा जितेका नेताहरूले कृषकहरूका लागि कुनै प्रभावकारी कार्यक्रम ल्याएका छैनन्। भए÷आएका केही कार्यक्रम पनि नेताहरूले आफ्नो कार्यकर्ताको पोल्टा हाल्छन्। सिँचाइ सुविधा नहुँदा यही वर्ष परेको खडेरीका कारण यहाँ धान उत्पादनमा कमी आएको छ। 

उम्मेदवारहरू शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारमा विकासको लहर ल्याउने प्रत्येक चुनावमा प्रतिबद्धता जनाउँछन्। मतदाताहरू पनि त्यही नेताहरूको विश्वासमा परेर मतदान गरी विजयी बनाउँछन्। विजयी हुनेबित्तिकै पाँच वर्ष हराउँछन्। पूर्वशिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ल आफ्नो निर्वाचन क्षेत्रमा विकास नभएको स्वीकार गर्छन्। ‘जनतामा साह्रै निराशा छ,’ शुक्ल भन्छन्, ‘गत निर्वाचनमा उम्मेदवारबाट जनाइएका प्रतिबद्धता पूरा भएको छैन।’

बत्तीमुनिको अँध्यारो 

पाँच वर्षीय रूपन्दर कहार पढ्न जाँदैनन्। पढ्ने उमेरमै उनी घरमै हजुरआमा इसरावती कहारसँग घरमै बस्छन्। खेल्छन्। मर्चवारका कहारलाई अभिभावकले नै विद्यालय पठाउँदैनन्। ‘स्कुलनजिकै छ। पढ्न पठाएका छैनौं,’ इसरावती भन्छिन्, ‘पढ्न पठाउँदा डर लाग्छ। गाडीले किच्छ कि भनेर आँखाबाट टाढा हुन दिँदैनौं।’ 

स्थानीय श्री कृषक आधारभूत विद्यालयका प्रधानाध्यापक विवेकानन्द त्रिपाठी विद्यार्थी भर्ना वृद्धि गर्न वैशखामा घरदैलोमै पुगे। ‘यस क्षेत्रमा गरिबी व्याप्त छ। चेतनाको अभाव छ। ‘छोरीलाई पढ्न पठाउँदैनन्,’ प्रधानाध्यापक त्रिपाठी भन्छन्, ‘यो सबैको जड गरिबी हो। त्यसमाथि शैक्षिक चेतना छैन।’ उच्च शिक्षा हासिल गर्न २०÷२५ किलोमिटरको दूरी पार गर्नुपर्ने बाध्यता छ। 

उच्च एवं गुणस्तरीय शिक्षा हासिल गर्न साइकलमा चढेर भैरहवा जान बाध्य छन्। मर्चवारले पटक–पटक मन्त्री पाइसकेको छ। दशकौंसम्म मर्चवारको बागडोर सम्हालेका र शिक्षामन्त्रीसमेत भइसकेका सर्वेन्द्रनाथ शुक्ल यही विकट मानिने मर्चवार क्षेत्रका बासिन्दा हुन्। उनी केन्द्र स्तरमा पहुँच राख्छन्। मर्चवारको बोगडीका किराना पसल सञ्चालक राजु बनियाँ भन्छन्, ‘उम्मेदवारहरू अहिले त खुट्टा ढोक्दै मत मागिरहेका छन्। विजयी भएपछि उनीहरूलाई खोज्न हामी भौतारिन पर्छ।’

मर्चवारमा कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिका मदरसासहित कुल १ सय २६ वटा विद्यालय छन्। कोटहीमाई गाउँपालिकामा सरकारी र निजी गरी ३९ वटा विद्यालय छन्। जसमध्ये सामुदायिक विद्यालय १४ (माध्यमिक विद्यालय ७, निम्न माध्यमिक विद्यालय ३, प्राथमिक विद्यालय ४) छन्। त्यस्तै संस्थागत (निजी) तर्फ १६, मदरसा ८, संस्कृति विद्यालय एकमात्र छ। 

त्यस्तै मर्चवारी गाउँपालिकामा ३७ वटा विद्यालय छन्। जसमध्ये सामुदायिक विद्यालय १५ (मावि ५, प्रावि ५ निमावि ५) छन्। संस्थागत १४ र मदरसा ८ वटा छन्। यस्तै सम्मरीमाई गाउँपालिकामा सामुदायिक १६ (मावि ५, निमावि ८, प्रावि ३) छन्। त्यस्तै मदरसा २०, संस्थागत १४ वटा विद्यालय छन्। कोटहीमाई गाउँपालिकाको शिक्षा प्रमुख अमृता बुढाथोकी सापकोटाका अनुसार, विद्यालय भए पनि विद्यार्थी भर्नादर न्यून छ। ‘छोराछोरीको शिक्षालाई लिएर अभिभावकहरू नै गम्भीर छैनन्,’ बुढाथोकी भन्छिन्, ‘योजना बनाएर अघि बढ्दै छौं। आगामी पाँच वर्षमा केही सकारात्मक परिवर्तन देखिएला।’

सार्वजनिक सवारी साधनको समेत पर्याप्त सुविधा छैन। आपतकालीन अवस्थाका बिरामीहरूले अस्पताल नपुग्दै मृत्युवरण गर्नुपरेको अनेक घटना छन्। स्वास्थ्य चौकीहरू छन्। तर, सामान्य उपचारका लागि पनि क्षेत्र बाहिर जानुपर्ने बाध्यता छ। सवारी दुर्घटना, ठूलो चोटपटक, सर्पदंशलगायतका घटनाका उपचारका लागि यस क्षेत्रका बासिन्दाहरू दशकौंदेखि सदरमुकाम भैरहवा नै पुग्नुपर्छ। 

मर्चवार क्षेत्रमा मधेस केन्द्रित दलको दबदबा छ। २०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टी श्यामसुन्दर गुप्ता विजयी भएका थिए। गुप्ताले भैरहवास्थित घर बेचिसकेका छन्। तत्कालीन रुपन्देही ५ बाट विजयी भएका गुप्तालाई अपहरण तथा शरीर बन्धक कसुरमा दोषी ठहर गर्दै उच्च अदालत पाटनले १० वर्ष कैद सजाएको फैसला सुनाएको थियो। अदालतले गुप्तालगायत अन्य ५ जनाविरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो। गुप्तामाथि २०६८ साल माघमा व्यापारी पवनकुमार संघाईको अपहरणको मुख्य योजनाकार रहेको आरोप छ। उनी मर्चवारमा देखा नपरेको दशकौं भइसकेको छ। 

मर्चवारको विकासमा उम्मेदवारका एजेन्डा

२०५१ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला विजयी भए। २०५६ सालमा नेपाल सद्भावना पार्टीबाट यज्ञजित शाह निर्वाचित भए। २०६४ सालको संविधानसभाको चुनावमा तत्कालीन क्षेत्र नम्बर ६ बाट मधेसी जनाधिकार फोरमका ओमप्रकाश यादव विजयी भए। २०७० मा दोस्रो संविधानसभाको चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भए। 

२०७४ सालमा मतदाताले मन बदले। शुक्ललाई नेपाली कांग्रेसका प्रमोद यादवले पराजित गरे। दुवै प्रदेशसभा पनि कांग्रेसले विजयी हासिल गरेको थियो। शुक्ल ०५३ सालमा आफूले २४ वटा गाविसमा विद्युत् लाइन पुर्‍याउन सफल भएको उनले बताए। ‘१५ वटा गाउँमा पहिलो सतह सिँचाइ योजना लागू गराएको छु,’ उनले भने, ‘मर्चवारमा पहिलो मर्चवार आर्दश बहुमुखी क्याम्पस मान्यता मैले नै दिलाएको हु। कम्प्युटर सहयोग गरेको छुँ।’

लोकतान्त्रिक समाजवादी पार्टीबाट शुक्ल चुनावी मैदानमा छन्। ‘०७४ सालमा मैले जस्तो छोडेको थिए त्योभन्दा दयनीय अवस्थामा पुगेको छ। विकासका कार्य केही भएको छैन,’ उनले भने, ‘चुनाव जितेपछि विकास योजना अघि बढाउँछु। पूर्वाधार विकासमा ध्यान दिन्छु। प्राविधिक शिक्षालय बनाउने छुँ। ५० बेडको अस्पताल बनाउनुपर्छ।’ मर्चवार रुपन्देहीकी केवला सहनी । तस्बिर : अशोक दुलाल

०७४ सालमा राजनीतिमा पाइला टेकेर ०७४ मै रुपन्देही ४ बाट निर्वाचित भएका प्रमोदकुमार यादव सत्ता गठबन्धनबाट पुनः सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन्। लोसपाका उम्मेदवार शुक्लले ०७४ सालमा निर्वाचित सांसद यादवले ५ वर्षमा केही नगरेको आरोप लगाएका छन्। तर, यादव आफूले पाँच वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा धेरै विकास गरेको दाबी गर्छन्। 

‘धेरै वर्षसम्म उहाँ (शुक्ल) मर्चवारबाट निर्वाचित हुँदै आउनु भयो, आफूले त केही गर्नु भएन, मैले गरेको पनि देख्नु भएको छैन,’ यादवले भने, ‘बनगाई सेमराको चार लेनको सडक निर्माण तीव्र रूपमै भइरहेको छ। उहाँ (शुक्लकै)घर जाने सडक निर्माणको काम सुरु हुन लागेको छ। उहाँलाई विकास देखिएकै छैन भने के भनांै ?’ 

मर्चवारको अधिकांश सडकखण्डको निर्माण सुरु हुन लागेको अवस्थामा रहेको उनले जानकारी दिए। आफ्नो ५ वर्षे कार्यकालमा सडक निर्माण, पक्की पुल, झोलुंगे पुलहरूको निर्माण गरेको बताए। सिँचाइका लागि डिपबोरिङ गाडीसकेको र १५ शय्याको अस्पताल शिलान्यास गरिएको उनले जानकारी दिए। आँखा अस्पताल निर्माण अन्तिम चरणमा छ। 

खेती किसानीको बेला मलको समस्या हुने गरेको उल्लेख गर्दै यादवले रुपन्देहीको धकधईमा मल उद्योग सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए। ‘दशकौंसम्म उहाँ (शुक्ल) ले नगरेको काम मैले विगत पाँच वर्षे कार्यकालमा मर्चवारमा गरेको छुँ,’ यादवले भने, ‘अब निर्वाचित भएपछि थुप्रै योजनाहरू सञ्चालन गर्ने एजेन्डासहित चुनावी प्रचार–प्रसारमा लागिरहेको छु।’  

मर्चवारमै जन्मिएको हुँ। अहिले जागरुकता बिस्तारै बढेको छ। शिक्षाको गुणस्तर बढाउनुपर्छ।
– ओमप्रकाश मिश्र, पूर्व प्रधानन्यायाधीश

दैलोमा आउँदा उम्मेदवारलाई पानी दिन्छौं। त्यो हाम्रो संस्कार हो। तर, जितेपछि नाकमुख देखाउँदैनन्। 
– पाना पासवान, गृहिणी

दशकौंदेखिको मर्चवारबासीको समस्या ज्युँका त्युँ छन्।  भोट माग्न र पोस्टर टाँस्न मात्र आउँछन् । त्यसपछि अनुहारै देखाउँदैनन्। 
– कोइली चाई, गृहिणी 

कान सुन्दिन। उपचार गर्न सकेको छैन। भोट दिनुहोला भन्दै उम्मेदवारले दिएका कागज जतन गरेर राखेकी छु।  
– केवला साहनी, ज्येष्ठ नागरिक  

शैक्षिक चेतना छैन। छोरी त झन् पढ्न पठाउँदैनन्।  
– विवेकानन्द त्रिपाठी, प्रधानाध्यापक 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.