म नरहे मुलुक डुब्न्या छ...!
तरकारीको थोक बजारमा काउली खोज्दै थिएँ। बेसिजनको भएर होला सायद कतै राम्रो काउली भेटाउन सकिनँ। पूरै बजार घुमें तर जहाँ पनि उही बिग्रेका अनि बिग्रन तयार भएका काउली थिए। कुहिएको भाग काटेर वा पातले छोपेर वा थुप्रोभरिबाट छानेर निस्केका एक दुई राम्रा भन्न मिल्ने काउली निकालेर बजारभरिकै अब्बल बताउँदै थिए। बाध्यता थियो काउली नै लिनुपर्ने अन्यथा छोरीको घाँटीबाट जाउली नछिर्ने ! विकल्पविहीन म तिनै सडेगलेकामध्येबाट छानेर काउली पोको पारें। त्यतिबेला मलाई आफू आसन्न निर्वाचनमा जनप्रतिनिधिको छनोटका लागि उभिएको अनुभूति भयो। सबै खराब विकल्पमध्ये एउटा विकल्प रोज्नैपर्ने बाध्यताको नजिक पुग्दै छौं नि त हामी !
अहिले राजनीतिको थोक बजारमा पनि हरेक दलले आफ्ना दुर्गन्धित नेताहरूलाई पनि त्यागी र विकासप्रेमीको ‘गंगाजल’ले चोख्याएर तिनलाई सर्वश्रेष्ठ र सर्वसक्षम उम्मेदवारका रूपमा प्रचारप्रसार गरिरहेका छन्। विगतमा उनीहरूले गरेका नतावाद–कृपावाद, भ्रष्टाचार–राष्ट्रघात या अपराधै भए पनि तिनलाई छोप्न आश्वासन र भावी योजनाका रंगीचंगी रफु भरेर उम्मेदवारलाई चुनावी मैदानमा उतार्दैछन्। तिनलाई जिताउन दलहरू साम, दाम, दण्ड, भेदको नीतिले लागिरहेका छन्। ती उम्मेदवार राजनीतिभन्दा बढी अभिनय कलामा निपुर्ण हुँदा रहेछन् ! आफूलाई मतदातासामु यसरी प्रस्तुत गरिरहेका छन्, मानौं उनीहरू नै तिनका सुखदुःखका साथी हुन्। अनि विकास–निर्माणका असली सारथि पनि।
अहिले नेपाली जनताको घरदैलोमा उनीहरूका असली हितैषी बन्दै पुगेका सबैजसो अनुहार उनै हुन्। जो उस्तै छन् मात्र चुनावसम्मका लागि दानवीर र समाजसेवी बनेको अभिनय गरिरहेका छन्। यिनैमध्येबाट कुनै एकलाई भाग्यनिर्माता छान्नुपर्ने हाम्रो दुर्नियति ! प्रत्येक चुनावी अनुष्ठानमा सात्विक प्रवृत्ति लिएर उनीहरू विगतका कमी कमजोरीका लागि क्षमा याचना गर्दै हामीसामु घुँडा टेक्छन्। ‘क्षमातुल्य तपोनास्ति...’ को आदर्शले पोषित हामी पनि उनीहरूलाई सहजै क्षमा गर्छौं। अनि अमूल्य मत दिएर विजयी बनाउँछौं। त्यसपछि.... ‘खोलो तर्यो लौरो बिस्र्यो’ भन्ने उखानको चरितार्थमा भाग्यसँग गुनासो गर्छौं। तीन दशकभन्दा बढी भइसकेको छ, यही क्रम दोहोरिइरहेको छ।
आखिर कतिञ्जेल...?
इतिहासका पाना पल्टाउँदा, भीमसेन थापा जसले शाहवंशका तीनपुस्ते राजाको मुख्तियारी सम्हालेका थिए। उनको वीरता, इमानदारी एवं देशभक्ति देखेर नै रणबहादुर शाहले ‘म नरहे देश डुब्न्या छैन तर भीमसेन नरहे देश डुब्न्या छ’ भनेको इतिहासमा पढ्न पाइन्छ। यथार्थमा यस्तै वीर पुर्खाहरूको त्याग र बलिदानले निर्मित अनि स्वाधीन यो राष्ट्रको झन्डामा अझैं पनि उनीहरूले बगाएको रगतको रङ चम्किरहेको छ। यहाँको माटोमा अझै पनि उनीहरूको पसिनाको सुगन्धफैलिइरहेको छ। आफ्ना लागि नभएर देश र जनताका लागि बाँच्नुपर्छ भन्ने हाम्रा ती वीर पुर्खाको आदर्शलाई पछिल्लो समय राजनीतिले भुसुक्कै बिर्सिएको छ। हाम्रा वीर पुर्खाहरूले आफ्नो त्याग र बलिदानको बदला कहिल्यै केही मागेनन्। अहिले हाम्रा नेताले प्रजातन्त्रको पुनस्र्थापनालगायत पटकपटक भएका राजनीतिक परिवर्तनमा आफूले गरेको त्यागको एक–एक मूल्य असुल गरिरहेका छन् ! गरिरहेछन् मात्र होइन गरिसकेका छन्।
तीन दशकदेखि यो देशमा स्वार्थको खेल कसले मच्चाइरहेछ ? किन यो देशको राजनीति सधैं धमिलोको धमिलै रहन्छ ? चार–पाँच पटक जनप्रतिनिधि बन्दा सिन्को भाँच्न नसक्नेले अब कति विकास गर्लान् ?
पटक–पटक, कैयौं पटक उनीहरू नै सत्तासीन भइरहे। दलका शीर्ष नेतालगायत अन्य माथिल्लो तहका नेताहरूले आफ्नो निर्वाचन क्षेत्रलाई पुख्र्यौली बिर्ताजस्तै आफ्नो नाममा दर्ता गरिसकेका छन्। ताकि उनीहरू आजीवन त्यहाँबाट विजयी भएर सत्ता उपभोग गर्न सकुन् ! एक पटक, दुई पटक, तीन पटक... अझैं कति पटक ? यदि निश्चित निर्वाचन क्षेत्रबाट सधैंभरि एउटै व्यक्तिको उम्मेदवारी हुने हो। निर्वाचनको सान्दर्भिकता के भन्ने प्रश्न उठिरहेको बेला हाल यिनै ‘तयारी’ नेताहरूलाई जिताउन र उनीहरूलाई आलोपालो सत्तामा राखिराख्न गरिएको चुनावी गठबन्धनले त जनमतको औचित्यमाथि नै प्रश्न चिह्न खडा गरेको छ। यस्तो अवस्थामा आर्थिक संकट झेल्दै गरेको मुलुकलाई थप व्ययबाट जोगाउन बरु ‘गठबन्धन’को टीकाटालो गरी नजिताई नहुने यस्ता महान् नेताहरूलाई विजयी घोषित गरिदिए भइहाल्यो नि ! किनकि आज हरेक दलका शीर्ष नेताको चुनावी भाषणको मूल आशय यही देखिन्छ कि ‘म नरहे मुलुक डुब्न्या छ...!’
त्यसैले सायद हाम्रो भाग्यनिर्माता यी महान् नेताहरू उभिँदा थर्थराउन थालेका भए पनि, बोल्दा लर्बराउन लागेका भए पनि, आँखा तिर्मिराउने र कान झिलमिलाउन थालेका भए पनि आफूमा युवा जोस भएको बेमौसमी राग अलाप्दै चुनावी मैदानमा उत्रेका देखिन्छन्। हरेक पेसा–व्यवसाय तथा क्षेत्रमा निश्चित अवधिपछि मानिस निवृत्त हुन्छ। यतिसम्म कि घरपरिवारमा पनि निश्चित उमेर–अवस्थामा मानिस घरव्यवहारबाट निवृत्त भएर पछिल्लो पुस्तालाई सो व्यवहार हस्तान्तरण गर्छ। राजनीतिमा मात्र किन कोही निवृत्त हुन चाहँदैन। बरु परम्परागत हिन्दू नारीले सौभाग्यसहित चितामा चढ्ने चाहना गरेजस्तै सत्तासँगै घाट जान चाहन्छन् ? छिमेकी मुलुकलगायत विश्वका अन्य मुलुकलाई हेर्दा त्यहाँ एक व्यक्ति निश्चित अवधिका लागि मात्र सत्ता–राजनीतिमा सक्रिय रहन्छ। त्यसपछि ऊ पुरानै जीवनशैलीमा फर्कन्छ। हामीकहाँ सत्ताबाट बाहिरिए पनि आजीवन सेवासुविधाको व्यवस्थाका विधेयकहरू सबैभन्दा पहिले पास गरिएका हुन्छन्।
राजनीतिक परिवर्तनका लागि आफूले गरेको योगदानको महिमागान गर्छन् नेता। आफूबाहेक अरूले देश र जनताको हित गर्नै नसक्ने भन्छन्। यसरी निरन्तर सत्तासीन हुन खोज्ने प्रवृत्तिका कारण पारिवारिक राजनीति स्थापित हुँदैछ। यसको ज्वलन्त उदाहरण हो, शीर्ष नेताहरूले श्रीमती, छोरा–छोरी, बुहारी, भाइभतिजा आदिलाई उत्तराधिकारीका रूपमा चुनावी मैदानमा उभ्याउनु। दलहरूभित्रका नयाँ पुस्ता ओझेलमा परिरहेका छन्। शीर्ष नेताहरूको जहानियाँ राजनीतिमा उनीहरूले पालो पाउने सम्भावना देखिँदैन। आफू (बाँचुन्जेल), त्यसपछि श्रीमती अनि छोरा–छोरी र पछि नाति–नातिनी... यो शृंखलाको कुनै अन्त्य छैन द्रौपदीको साडीजस्तै ! यसको पछाडिको आशय उही हो ‘म नरहे मुलुक डुब्न्या छ...!’
अब यो मुलुक कसको कारणबाट डुब्दैछ, त्यसको लेखाजोखा गर्ने बेला आएको छ ! र यो दायित्व हो, आम नेपालीको ! यसका लागि सबैले विवेकको ढोका खोलेर प्रश्न गर्न सक्नुपर्छ आफ्नै मनसँग ! तीन दशकदेखि यो देशमा स्वार्थको खेल कसले मच्चाइरहेछ ? किन यो देशको राजनीति सधैं धमिलोको धमिलै रहन्छ ? त्यो धमिलो पानीमा बडा–बडा माछा क–कसले समातिरहेछन् ? पाँच–छ पटक देशको प्रधानमन्त्री बनिसक्दा पनि केही गर्न नसक्नेले अब के गर्लान् ? चार–पाँच पटक जनप्रतिनिधि बन्दा सिन्को भाँच्न नसक्नेले अब कति विकास गर्लान् ? चुनाव जित्न र सत्तामा पुग्न जुनसुकै परिस्थितिमा पनि चुच्चो जोड्ने अनि सत्ताबाट बाहिरिँदा मात्र ङ्यार्रङुर्र गर्नेलाई अब कसरी विश्वास गर्ने ? देश र जनताको हितका सबालमा ब्रह्माको चतुर्मुख बन्ने अनि स्वार्थका लागि गठबन्धन कस्ने राजनीतिबाट यो मुलुकले काँचुली फेर्न कसरी सक्ला ?
प्रश्नहरू तमाम छन्। अब बेला आएको छ, तिनको सही जवाफ खोज्ने। भनिन्छ, चोरलाई दोष दिनुभन्दा आफ्नो थैलीको मुख बन्द गर्नु उत्तम हुन्छ। त्यसैले अब देशको भविष्यको निर्णय गर्ने बेला आएको छ र अधिकार हाम्रै हातमा छ। राजनीतिक दल र तिनका नेतालाई गन्हाए भन्दै गाली गर्ने तर मतदानमा उनैलाई जिताउने हाम्रै कमजोरीले बिग्रिएको हो हाम्रो राजनीति। त्यसैले सर्वप्रथम मतदाता नै यस कमजोरीबाट मुक्त हुनुपर्छ। सायद, ‘नो भोट’ को प्रावधानलाई पनि जनताको अधिकारका रूपमा संविधानले सुनिश्चित गरिदिएको भए उनै बिग्रेका अनुहारहरू मुखौटो फेरिफेरि भोट माग्न आउने प्रवृत्तिको अन्त्य हुने थियो। तर... त्यसैले त हामी सबै खराब विकल्पमध्ये एउटा विकल्प रोज्न बाध्य छौं। आशा गरौं, कतै अन्य विकल्प पनि छ कि ? जसले आफू सत्तामा नरहे मुलुकै डुब्ने भ्रम कहिल्यै पाल्दैन। प्रजातन्त्रको सुदृढीकरण पालो पद्धतिले होइन, जनचाहनाको परिपूर्तिले मात्र हुने विश्वास राख्छ !