सहरी क्षेत्रमै छैन मतदाता शिक्षा

सहरी क्षेत्रमै छैन मतदाता शिक्षा

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंका टोलका रामबहादुर विकको परिवारमा चार जना मतदाता छन्। चारै जनालाई मत कसरी हाल्ने ? कति मतपत्र हुन्छन् ? कुन पार्टीका को–को उम्मेदवार छन् भन्ने अहिलेसम्म कुनै जानकारी नै छैन।

‘मेरो घरमा भोट माग्न चारपटक नेता आए तर कसलाई दिने भनेर द्विविधामा मात्रै परे। आएका कसैले भोट कसरी हाल्ने, कति  जनालाई हाल्नुपर्छ, कति मतपत्र हुन्छन भनेर केही पनि सिकाएन’ विकले भने, ‘स्थानीय तहका बेला भारतमा भएकाले भोट हाल्न पाएन।’

सोही टोलका पुस्कर बोहराको घरमा पनि तीन जना मतादाता परिचय पत्र भएका व्यक्ति छन् तर उनलाई पनि मतपत्र र कति मत हाल्ने भन्ने कुराको जानकारी छैन। उनले यर्थाथता दर्शाए, ‘मतपत्र कस्तो हुन्छ। कति ठाउँमा मत हाल्ने हो थाहा छैन।’ उनलाई प्रत्यक्ष र समानुपातिक मतका बारेमा पनि जानकारी छैन। ‘त्यो भनेको के हो ?’, बोहराले अन्नपूर्णकर्मीसँगै प्रतिप्रश्न गरे। ‘हामी मजदुरी गरेर खाने मान्छे। क्या त्यो कुरा सिक्दै हिँड्ने ?’ निरासा देखाउँदै बोहराले भने।

धनगढी–१३ को श्रीलंका गाउँ मुक्त कमैयाको बस्ती हो। कमैया मुक्तिसँगै कैलाली र कञ्चनपुरका विभिन्न गाउँमा कमैया बसेका १४५ परिवारलाई त्यहाँ शिविर बनाएर बस्ती बसाइएको छ। प्रत्येक परिवारलाई पाँच/पाँच कट्ठाका दरले जग्गा दिइएको छ। त्यस गाउँमा ऐलानी जग्गा भएकाहरूबाट किनेर अरु पहाडी समुदायका मानिसहरूको पनि त्यहाँ बसोबास छ।

शिविरकी ५५ वर्षिया चिलांगीदेवी चौधरीलाई त आफ्नो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेका उमेदवारहरूको बारेमा समेत जानकारी छैन। गठबन्धन के हो, कांग्रेसको उमेदवार को छ ? एमालेको को छ, स्वतन्त्र र अरु दलका को छन् ? उनलाई यसबारेमा केही थाहा छैन। ‘थाहा छैन, छोराले बताउला नि ?, को–को चुनावमा लडेका छन् भनेर’ हाँस्दै उनले भनिन्।

श्रीलंका टोलमा झन्डै ८ सय मतदाता बस्छन। त्यहाँका थारुहरूले पूरानो र नयाँ श्रीलंका भनेर दुई गाउँ बनाएका छन। दुवै गाउँमा उनीहरूले फरक/फरक ब्यक्ति भलमन्सा पनि चुनेका छन्। भलमन्सा भनेको थारु परिवारभित्रको न्यायाधीश हो। थारुका अधिकांश मुद्दाहरू अदालत र प्रहरीमा जाँदैनन। भलमन्साको न्याय त्यो समुदायका लागि अन्तिम न्याय हो।

श्रीलंकाको नयाँ शिविरका भलमन्सा रुन्चे चौधरीलाई मत हाल्न पनि थाहा छ। कति मतपत्र हुन्छन भन्ने पनि थाहा छ। उनलाई कुल दलका उमेदवार को–को छन भन्ने पनि थाहा छ। उनी भन्छन, ‘मलाई थाहा भएर के गर्ने ? कसैले नमूना मतपत्र दिएनन्। कसरी टोलमा मतदाता शिक्षा दिने ?’ 

थारु समुदायमा भलमन्साले बोलाएको बेला भनेको स्थानमा उपस्थित हुनैपर्छ। भलमन्साले बोलाएको स्थानमा नआउनेलाई जरिवाना तोक्न सक्नेसम्मको अधिकार हुन्छ। ‘मसँग नमूना मतपत्र भएको भए साँझ बिहान गरेर सबैलाई मतदाता शिक्षाका बारेका जानकारी गराइहाल्थे, कसैले नमूना मतपत्र नै दिएनन्। भोट माग्न मात्र चार/पाँच उम्मेदवार आइसके। भोट हाल्न कसैले सिकाएनन्।’

धनगढी उपमहानगरपालिका–१९ का राकेश रानालाई पनि मतपत्रबारे जानकारी छैन। ‘मोबाइलमा चार वटा मतपत्र भन्ने सुनेको छु तर उम्मेदवार दुइटै छन्। बाँकी २ मतपत्र के का लागि रहेछन ?’, उनले जिज्ञासा राखे। उनले स्थानीय तहका बेला पनि कसैले मत हाल्ने तरिका नसिकाएको बताए। ‘मेरो घरमा भोट हाल्ने ६ जना छौं। अब कसैबाट सिक्नुपर्ला’, उनले प्रष्ट पारे। 

धनगढी उपमहानगरकै वडा नम्बर १२ देखि १९ सम्म ग्रामीण क्षेत्र पर्छ। त्यहाँ अधिकांश कम साक्षर मतदाताको बसोबास छ। मतदाता शिक्षाका लागि बढी जसो निर्वाचन आयोग र त्यसपछि राजनीतिक दलहरू जिम्मेवार हुन। मलाई भोट दिनुस् वा मेरो पार्टीलाई भोट दिनुस् भन्न जाने व्यक्ति वा उम्मेदवारले दुई मिनेट यसरी मत हाल्नुस् भनेर समय नदिनाले पनि यस्तो अवस्था आएको हो। स्थानीय तह निर्वाचन–२०७९ मा करिब ३० प्रतिशत मत बदर भएका थिए। गाउँमा मतादाता शिक्षामा कमी भएका कारण मत बदर भएका हुन् तर यसपाली पनि जनतामा मतदाता शिक्षाको अभाव देखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.