पाल्पा १ मा आचार्य कि गाहा ?

पाल्पा १ मा आचार्य कि गाहा ?

तानसेन : पाल्पाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा सबै उम्मेदवार नयाँ अनुहारका छन्। प्रतिनिधिसभा सदस्यका १० र प्रदेशका १० उम्मेदवार सबै नयाँ अनुहारका हुन्। जनताले परिवर्तन खोजेका र नयाँ अनुहार पनि चुनावी मैदानमा आएपछि ठूला भनिएका राजनीतिक दलका उम्मेदवार विगतको नतिजामा ढुक्क हुन सकेका छैनन्।

यो क्षेत्रमा ९६ हजार ६३ जना मतदाता छन्। नयाँ अनुहारका उम्मेदवार धेरै आए पनि यस क्षेत्रमा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ। नेकपा एमालेबाट नारायणप्रसाद आचार्य र नेपाली कांग्रेसबाट ज्ञानबहादुर गाहाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। 

२०४८ सालदेखि २०७४ सालसम्म भएका ६ वटा निर्वाचनमा नेकपा एमाले पाँच पटक विजयी भएको छ भने २०४८ मा मात्र पराजित भएको थियो। विगतका पाँच वटा निर्वाचनमा विजयी भएको एमालेलाई स्वतन्त्रका विपिन कँडेल, नारायण न्यौपाने, डोलराज तिमिल्सिना, राजु सुनारले चुनौती दिएका छन् भने अन्य राजनीतिक दलबाट मंगोल नेसनल अर्गनाइजेसन थमनबहादुर बुढामगर, राप्रपाबाट ज्ञानबहादुर सिञ्जाली, नेकपा राष्ट्रिय जनमुक्ति पार्टीका उजिरसिंह दर्लामी, जनता समाजवादी पार्टीका मेयरमान रानाको उम्मेदवारीले पनि मुख्य प्रतिस्पर्धी दलको मतलाई तलमाथि पार्ने देखिएको छ।

एमालेले पूर्वखोला र निस्दी गाउँपालिका स्थानीय निर्वाचन २०७९ मा सबै वडामा एकलौटी विजयी गरेको थियो भने, रामपुर नगरपालिकाको ३ वटा वडा र रम्भा गाउँपालिकाको ३ वटा र माथाँगढी गाउँपालिकाको ४ वटा वडामा विजय हासिल गरेको थियो। पाल्पा १ मा ३७ वटा वडामध्ये २४ वटा वडामा एमाले र १३ वटा वडामा कांग्रेस विजयी भएको थियो। गएको स्थानीय निर्वाचनको आधारमा एमालेले पाल्पा १ निर्वाचन क्षेत्रमा विजयी सुनिश्चित रहेको दाबी गर्दै आएको छ।

स्थानीय तह निर्वाचन २०७९ मा वडाको मतअनुसार नेकपा एमालेको ३४ हजार ७ सय ६१, नेपाली कांग्रेसको २७ हजार १ सय ५०, नेकपा माओवादी केन्द्रका १ हजार १ सय ६४ र जनमोर्चाको ४२ मत पाएका थिए। कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको मत जोड्दा गठबन्धनको मत २८ हजार ३ सय ५६ र एमालेको ३४ हजार ७ सय ६१ मत पाएका देखिन्छ।

स्थानीय निर्वाचन २०७९ मा गठबन्धनको भन्दा एमालेको मत ६ हजार ४ सय ५ मत बढी देखिन्छ। फरक मतको आधारमा पनि नेकपा एमालेका उम्मेदवारले जित सुनिश्चित रहेको दाबी गर्दै आएको छ। पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रमा विगतमा राम्रो काम भएकोले रामपुरलाई केन्द्र बिन्दु बनाएर यातायातका पूर्वाधारहरू निर्माण गरेकोले यस पटक पनि एमालेकोे जित सुनिश्चित रहेको नेकपा एमाले प्रतिनिधिसभा उम्मेदवार नारायणप्रसाद आचार्य दाबी गरेका छन्।

पाल्पा १ मा २०४८ सालमा नेपाली कांग्रेसले जित हासिल गरे पनि अन्य ५ वटा निर्वाचनमा पराजित हुँदै आएको छ। नेपाली कांग्रेसले यस पटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ लिएर इतिहास फर्काउने कोसिसमा लागेको छ। २८ वर्षसम्म एउटै पार्टीले पूर्वी पाल्पामा शासन गरे पनि जनताको अपेक्षा र आवश्यकताअनुसार विकास निर्माण नभएकोले यस पटक जनताले गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउने नेपाली कांग्रेसको दाबी रहेको छ। संविधानको रक्षा, स्थिर सरकार, पूर्वी पाल्पाको समग्र विकासको लागि आफ्नो जित सुनिश्चित रहेको नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार ज्ञानबहादुर गाहाले दाबी गरेका छन्।

पाल्पा १ (क) मा पनि एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ। मंगोल नेसनलबाट अर्गनाइजेसनबाट पूर्णबहादुर रुचाल, राप्रपाबाट डुलबहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट भीमसेन सुनारीको उम्मेदवारी दुवै ठूला दलको लागि चुनौती देखिएका छन्। २०७४ को निर्वाचनमा एमालेका युवराज खनाल विजयी भएका थिए। प्रदेशसभातर्फ क्षेत्र नंं १ को १ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ १९ वटा वडा रहेको प्रदेशसभा १ को १ मा स्थानीय तह निर्वाचन २०७९ मा एमालेले १२ वटा वडा र कांग्रेसले ७ वडामा जितेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.