जनतालाई गुनासो गर्ने ठाउँ दिन्न: भरतप्रसाद साह

जनतालाई गुनासो गर्ने ठाउँ दिन्न: भरतप्रसाद साह

मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह चुनावी अभियानमा छन् । उनी महोत्तरीको क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्य चयन हुन मतदाताको घरदैलोमा जुटेका उनी आगमी मुख्यमन्त्रीको दाबेदार पनि हुन् । 

साहले सरकारमा रहँदा गरेका काम र आगामी निर्वाचन लक्षित उनका योजनालगायतका विषयमा केन्द्रित रहेर अन्नपूर्ण पोस्टकर्मी गोविन्द महतोले गरेको कुराकानीको सम्पादित अंश :

चुनावी तयारी कस्तो चल्दैछ ? 

चुनावी अभियान तीव्र बनाएका छौँ । घरदैलो, भेटघाट, छलफल, पार्टीको आन्तरिक, बाह्य तथा चुनावी गठबन्धन दलसँगको सहकार्य जारी छ । गठबन्धनको संयन्त्र निर्माण भएर चुनाव परिचालनको काम जारी छ । हाम्रा योजना हामीले मतदातासमक्ष पुर्‍याइरहेका छौँ ।

मत माग्दा पहिले र अहिले के फरक पाउनुभयो ?
पहिलेभन्दा केही फरक छ । प्रचार शैली फेरिएको छ। उम्मेदवारको आकर्षण पर्चा पम्पलेट, पोष्टर, झण्डाभन्दा सामाजिक सञ्जालमा बढेको देखेको छु । रेडियो, टेलिभिजन, अनलाइन पत्रपत्रिकालगायतका माध्यमबाट धारणा राखिरहेका छन् । 

मतदाताले सबै उम्मेदवारलाई सम्मान गर्ने, सकारात्मक भाव राख्ने, स्वागत सत्कार गर्ने जस्ता परिपाटीको विकास भएको छ । यो पहिलेभन्दा फरक हो । पहिला एउटै घरका चार जना चार दलका, घरमै चार चुल्हो हुने गर्थ्यो । यो पटक जनतामा धेरै सचेतना आएको देखियो । 

जनताका अपेक्षा के रहेछन्?
जनताले प्रदेश वा प्रतिनिधि सभा सदस्यले कानून बनाउने, कार्यान्वयन गराउने, सरकार चलाउने, सुशासनको प्रत्याभुति गराउनेभन्दा पनि विकास निर्माणका काममा बढी अपेक्षा गरेको पाएँ। जितेर गएको नेता गाउँ फर्किँदैन भन्ने गुनासो धेरैको रहेछ । म मुख्य यी दुई कुराको सम्बोधन गर्नेछु । जनताका अपेक्षा त धेरै छन् । हुनु स्वभाविक पनि हो । तर सरकारको बजेट अनुसार हामीले जनअपेक्षा पूरा गर्छौँ भनेको छु ।

म मेरो कार्यकालमा जनताबाट टाढा नहुने प्रतिबद्धता जनाएको छु । अहिले भोट माग्न जस्तै सबैतिर जान त नसकिएला तर जनताको सम्पर्कमा हुनेछु । जनताको पहुँच नेतासँग हुनैपर्छ । त्यसको सहज वातावरण बनाउने प्रतिबद्धता जनाउँछु ।

तपाइँलाई जनताले भोट किन दिने ?
विगतमा मैले सुरु गरेका धेरै कामलाई पूर्णता दिनुछ। त्यसका लागि पनि जनताले मलाई जिताउनुपर्छ । अरु पाँच वर्षे योजना पनि मैले ल्याएको छु । जनताको जीविकासँग जोडिएका कुरा छँदैछन् । ती पूरा गर्न म लागि पर्नेछु । सँगै मैले भौतिक पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखेको छु ।

सबैभन्दा पहिलो योजना मधेस प्रदेशलाई जोड्न पूर्व पश्चिम राजमार्ग र हुलाकी राजमार्गको बीचबाट सप्तरीको भारदहबाट राजविरामको माथिल्लो भाग हुँदै सिराहाको बीच हुँदै धनुषा महेन्द्रनगरको प्रदेश सडक विस्तार हो । 

महोत्तरीको रामगोपालपुर गौशाला हुँदै, सर्लाहीको गैर हुँदै रौतहटको गरुडा, बाराको कलैयाँ हुदै परवानीपुर सिमराको बीच हुँदै ६ लेन सडक निर्माणको योजना छ । फास्ट्रयाकको अवधारणमा बस्ती विस्तार, उद्योग स्थापना, कृषि उपज दलहन, तेलहन पुर्‍याउन सहज हुने काम पहिलो प्राथमिकतामा राखेर गर्छौँ । कोशी टप्पु वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज जस्ता स्थानमा होमस्टेको अवधारणा अघि बढाउँछौं । स्वास्थ्य र शिक्षाको सम्पुर्ण जिम्मेवारी सरकारले लिनुपर्ने संविधान प्रद्धत अधिकार सुनिश्चितताको काम नै मेरा एजेण्डा हुन् । 
 
निर्मला लामा बहुप्राविधिक विद्यालयलाई थप विषयगत अध्ययन अध्यापनको सुरु गराउनुछ । त्यसलाई व्यवस्थति बनाउँदै लैजानेछु । हुलाकी मार्गबाट लक्ष्मीनिया भरतपुर, खैरमारा हुँदै चतरा हेटौडा जोड्ने सडक विस्तार गर्ने योजना छ । निगौल गाई गौशालालाई वन विश्वविद्यालयसँग सहकार्य गरेर रिसर्च सेन्टर, मिल्क पाउडरलगायतको कामहरु अघि बढाउने योजना छ । 

कृषिमा आधारित जनताको लागि मलखाद, सिंचाई, बिउँबिजनलगायतका सुविधा बहुउदेशीय सहकारीमार्फत जनतासमक्ष पुर्‍याइनेछ । 

उखु किसानलाई व्यवस्थित गर्न उखुको बिउँबिजनमा अनुदान, सहुलियतलागि नगद भुक्तानीलगायतका काम गर्नेछु । यी कामले जनताले मलाई जनादेश दिनुहुन्छ भन्नेमा ढुक्क छु ।

बिगतमा गरेका प्रतिवद्धता कति पूरा गर्नुभयो? पाँच वर्षमा तपाइँले के के गर्नुभयो ?
संविधान सभा सदस्यदेखि हालसम्मका योजना भन्दा भौतिक पूर्वाधारको क्षेत्रमा धेरै काम भएका छन् । भूमाफियाका हातमा गइसकेको गौशाला जिरोमाईलको ९२ नं. किता जमिन व्यवस्थापनसहित अत्याधुनिक बहुउदेशीय भवन निर्माण भएको छ । अहिले सबै काम त्यही भवनमा हुन्छ। 

खयरमारामा निर्माला लामा बहुप्राविधिक शिक्षालय छ । जहाँ १० वटा विषयको अध्ययनअध्यापन हुन्छ । अर्बभन्दा बढीको बजेटमा भवन निर्माण भैरहेको छ । खयरमाराको चुरौटे डाडामा जनयुद्ध शहीद पार्क निर्माण हुदैछ । पूर्वपश्चिम राजमार्गमा बाँके ग्रीन पार्क, कान्तिबजारमा आयुर्वेदिक क्याम्पस सञ्चालन, पाँच तल्ले भवन निर्माणाधीन अवस्थामा छ । यी लगायत धेरै काम छन् । 

सडक सञ्जालको क्षेत्रमा राजमार्गको शिवचोकबाट कान्तिबजार, राजमार्ग हुँदै रघुनाथपुरसम्म कालोपत्रे हुने क्रममा छ । मंगलवाबाट महेन्द्रनगरसम्म सडकमा कालोपत्रे हुँदैछ । खैरमारामा २० दलित बस्ति, फूलकाहामा ३५, बेलगाछी भोर्लैनीमा २० घर, रजखोर महलनीया पोखरीमा मुसहर बस्ति निर्माण भएको छ । महेन्द्रनारायण निधि आवास योजनामा खैरामारा, गौशालालगायतमा घर निर्माणाधीन अवस्थामा छ । 

मैले गृह तथा सञ्चार मन्त्रालय जिम्मेवारी बहन गर्दा पनि प्रहरी समायोजनको विषय, जनयुद्धका शहीदलाई सम्मान गर्न विभिन्न काम थालेको छु । जनयुद्ध र मधेस आन्दोलनका शहीद परिवारलाई भरणपोषण, बेपत्ता परिवारलाई सीपमुलक तालिम दिएर आर्यआर्जनमा लगाउने, दीर्घ रोगीलाई स्वास्थ्योपचारको व्यवस्था मिलाउने काम सुरु भएका छन् ।

नेपाल टेलिकमको सहकार्यमा गौशाला, खयरमारा टेलिफोन एक्सचेन्जको निर्माण भएको छ । एउटै तारबाट टेलिफोन, नेट, टेलिभिजन चल्ने भएको छ । धेरै अधुरा काम छन्, अब पूरा गर्नुछ।

अब तपाइँ मुख्यमन्त्रीको दावेदार पनि हो? 
देशभर पाँच दलीय गठबन्धन छ । गठबन्धनको दल हैसियतमा म मुख्यमन्त्री दाबेदार हुँ । जनताले मलाई जिताएर पठाएर गठबन्धन दलकौ हैसियमा मुख्य नेता भएकोले स्वभाविक मुख्यमन्त्री दाबेदार हुँ । पहिले यहाँको जनताले मलाई जिताएर पठाउनुपर्‍यो । महोत्तरी १ (ख)लाई समृद्ध बनाउन जनताले मलाई जिताउँछन् भन्नेमा चाहिँ म विश्वस्त छु । जनताले मलाई जिताए जनताले गुनासो गर्ने ठाउँ दिन्न ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.