पूर्वप्रहरीको राजनीति मोह, को कहाँबाट भिड्दैछन् ?
काठमाडौं: आगामी मंसिर ४ को चुनावी अभियान देशभर जारी छ । विभिन्न क्षेत्रमा काम गरेको अनुभव भएका धेरै व्यक्ति राजनीतिमा होमिएका छन् । लामो समयसम्म सुरक्षा संयन्त्रको नेतृत्वसम्म पुगेर काम गरेका प्रहरी अधिकारीहरू पनि अहिले निर्वाचनमा होमिएका छन् । सबैको लक्ष्य समृद्ध नेपाल निर्माणको छ ।
राजनीतिमा प्रवेश गर्नुको कारण सुनाउँदै पूर्व डीआइजी रमशे खरेलले भन्ने गरेका छन्, ‘संसदमा कानून मिच्नेहरू धेरै भएकाले आवश्यक कानून बनाउन राजनीतिमा जोडिएको हु।’ उनले राजनीतिमा दक्ष मानिस नभएको, भष्ट र खराव मानिसको मनोमानी बढ्दा राजनीति नै फोहोर भएको बताए ।
आइजीपीको दौडमा रहेका पूर्वडीआइजी नवराज सिलवाल सरकारले गरेको बढुवामा चित्त नबुझेपछि राजीनामा दिएर राजनीतिमा होमिए । राजनीतिमा प्रवेश गरेकै वर्ष उनी ललितपुर-१ बाट एमाले पार्टीको उम्मेदवार बने । कांग्रेस नेता उदय शमसेरलाई हराउँदै २०७४ सालको प्रतिनिधि सभा सांसद बने । राजनीतिमा प्रवेश गर्दा उनले भनेका थिए, ‘संसदमा गएर सुरक्षाका विषयलाई प्राथमिकता राख्नेछु । आवश्यक नीति निर्माणमा भूमिका खेल्छु ।’
पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि चुनावी मैदानमा होमिएका छन् । एआइजीबाट अवकाश पाएका गणेश राई नयाँशक्ति पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिएका थिए । पार्टीको सुरक्षा विभाग प्रमुख भएर काम गरेका उनले सुरक्षाका विषयलाई सडकदेखि सदनसम्म उठाउने प्रतिवद्धता जनाएका थिए । तर पार्टी राजनीतिमा आएको एक वर्षमै उनले पार्टी छाडे ।
खनाल, खरेल, सिलवाल, राईसँगै प्रहरी संगठनमा रहेर काम गरेका धेरैमा राजनीतिको मोह बढेको छ । प्रहरी संगठनमा रहेर काम गरेका धेरै पार्टीको सक्रिय राजनीतिमा संगठित भएर काम गरिरहेका छन् ।
पूर्वआइजीपी ध्रुवबहादुर प्रधान राप्रपाको उपाध्यक्ष हुन् । प्रहरी संगठनको प्रमुख भैसकेका उनी दल प्रवेश पछि पनि अहिलेसम्म सांसद बन्ने अवसरमा पुगेका छैनन् । त्यस्तै पूर्वआइजीपी मोतिलाल बोहोरा पनि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् । पूर्वआइजीपी रवीन्द्रप्रताप शाह सेवानिवृत भएलगत्तै माओवादी केन्द्रमा प्रवेश मात्र गरेनन् । समानुपातिक कोटाबाट प्रतिनधि सभाका सांसद पनि भए । पूर्वडिआइजी पार्वती थापा २०७५ सालमा तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेर राजनीतिमा आएकी थिइन् । पूर्वडीआइजी भक्तिनाथ माझी पनि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् ।
केन्द्रसँगै स्थानीय तहको राजनीतिमा पनि पूर्वप्रहरीकव सक्रियता उल्लेख्य छ । २०७९ को स्थानीय निर्वाचनमा पूर्वप्रहरीको सहभागिता राम्रै देखिएको थियो । स्थानीय निर्वाचनबाट केही पूर्वप्रहरीले जिते भने केहीले पराजय भोगे ।
मंसिर ४ को निर्वाचनलाई शान्तिपूर्ण बनाउन संगठनमा रहेका प्रहरी सक्रिय छन् भने उम्मेदवार बनेका पूर्वप्रहरी जितको दाउमा चुनावी अभियानमा छन् ।
राजनीतिमा पूर्वप्रहरीको आकर्षण कहिलेदेखि ?
देश सञ्चालनको नीति निर्माण गर्न राजनीतिमा होमिनेको संख्या बढ्दै गएको छ । दलका नेताले जनअपेक्षा अनुसार काम नगरेपछि अहिले स्वतन्त्र उम्मेदवार बन्नेको संख्या पनि बढेको छ । यसरी राजनीतिक क्षेत्रमा विभिन्न पेशा र क्षेत्रमा व्यक्तिको सक्रियता पनि बढ्दो छ ।
प्रहरी संगठनमा काम गरेर राजनीति गर्ने कामको सुरुवात पूर्वआइजीपी खड्गजित बरालले गरेको पाइन्छ । पञ्चायतकालमा उनले उम्मेदवारी दिएका थिए । ०४६ सालको राजनीतिक परिवर्तन पछि पूर्वप्रहरी सक्रिया राजनीतिमा आउनेक्रम बढेको पाइन्छ ।
०४६ सालको राजनीतिक परिवर्तन पछि कांग्रेसबाट प्रत्यक्ष उम्मेदवारी दिएर पूर्वआइजीपी डीबी लामाले चर्चा कमाएका थिए । उनको उम्मेदवारीले तत्कालीन राजनीतिमा ठुलै प्रभाव पारेको थियो । ०७० को दशकमा पूर्वआइजीपी धुव्रबहादुर प्रधान, रवीन्द्रप्रताप शाह राजनीतिमा होमिए । त्यसपछि पनि सर्वेन्द्र खनाल, रमेश खरेल, नवराज सिलवाल सक्रिय राजनीतिमा छन् ।
राजनीतिक मोह किन ?
अवकाश प्राप्त जीवन सक्रिय राजनीतिमा जाँदा व्यक्तिगत लाभ धेरै भए पनि संगठन, दलगत तथा राष्ट्रिय हितको पक्षमा केही काम नहुने बताउँछन् पूर्व आइजीपी सनद बस्नेत ।
'एक संगठनको नेतृत्वमा पुगेर जिम्मेवारी पूरा गरेको व्यक्ति राजनीतिमा आउनु खासै राम्रो होइन्,' उनले भने, 'आफ्नो विज्ञतालाई राष्ट्रिय हितका पक्षमा लगाउन सकिन्छ । राजनीतिक दलको झण्डा बोकेर हिँड्दा यसले संगठनलाई पनि राम्रो गर्दैन्।'
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल भने पूर्वप्रहरी अधिकारी राजनीतिमा आउनुलाई अस्वभाविक मान्न नहुने बताउँछन् । उनी भन्छन्, 'राजनीतिमा जो आए पनि भयो, तर मनसाय सही हुनपर्छ । समाजमा योगदान गर्छु भन्ने हुटहुटी नेतामा हुनुपर्छ ।'
प्रहरीमा हुँदा प्रत्यक्ष राजनीतिक हस्तक्षेप देखेका प्रहरी अधिकारी त्यही इगो साँध्ने गरी राजनीतिमा आउनु चाहिँ गलत हुने दाहालको भनाइ छ । राजनीतिबाट फाइदा लिने उद्देश्य भने घातक हुने उनको भनाइ छ ।
नेपाल प्रहरीका पूर्वआइजीपी अच्युतकृष्ण खरेल पूर्वप्रहरीको राजनीतिक यात्रा खासै प्रभावशाली भएको देख्दैनन् । उनी भन्छन्, 'संगठनमा हुँदा नै राजनीतिक आस्था राखेर काम गर्ने नेतृत्वबाट संगठनलाई नै हानी हुन्छ । सांसद वा मन्त्री हुने आसयले कुनै प्रहरी संगठनमा रहँदा पनि राजनीतिक साँठगाँठ गर्छ । त्यो गलत हो ।' वर्तमान अवस्थामा देशको निकासका लागि अवकाश प्राप्त जीवनलाई सक्रिय बनाउनु स्वागतयोग्य काम भएको उनको भनाइ छ।
'ऊ किन राजनीतिमा आयो भन्ने विषय अत्यन्तै महत्वपुर्ण हुन्छ,' खरेलले भने, 'आर्थिक उपार्जन नै मुख्य एजेण्डा हो? वा पद र पावरका लागि यो खुलस्त हुनुपर्छ । नत्र देशलाई नै घाटा हुन्छ ।'
अपवादबाहेक नेपालको राजनीति र राजनीतिकर्मी सम्मानित नभएको बताउदै खरेलले फोहोरी राजनीतिमा सही व्यक्तिले राम्रो काम गर्ने अवसर नपाउने बताए ।
आफू संगठनमा हुँदा गरेका कामले पाएको सम्मानलाई बचाउनकै लागि राजनीतिमा नआएको खरेलको भनाइ छ ।
पूर्वआइजीपी मोतिलाल बोहोरा प्रहरीमा हुदा आर्जन गरेको अनुभवलाई सदुपयोग गर्न राजनीतिमा आउँदा सबैलाई फाइदा हुने बताउँछन् ।
जे भए पनि अहिले जनताले राजनीतिमा रहेका नेताको विकल्प खोज्न थालेका छन् । राजनीतिक दलप्रति जनतामा भएको वितृष्णालाई एक संगठनमा बसेर आर्जन गरेको अनुभव र सीपलाई राष्ट्र निर्माणमा लगाउन सके जनताको साथ पाउने देखिन्छ । विगतमा संगठनबाट आएकाले के गरे त्यो परिस्थितिले जवाफ दिएको छ । अब नवप्रवेशीले के गर्लान् त्यो हेर्न बाँकी छ ।
आगामी निर्वाचनमा भिडेका पूर्वप्रहरी अधिकारी
पूर्वआइजीपी सर्वेन्द्र खनाल
पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यो पटकको प्रतिनिधि सभा सदस्यको चुनावी मेदानमा छन् । असोज ६ गते एमाले प्रवेश गरेका उनी काठमाडौं- ६बाट उम्मेदवार छन् । ०७४ चैतमा नेपाल प्रहरीको २६ औँ महानिरीक्षक भएर ०७६ माघमा अवकाश पाएका खनाल संगठनमा रहँदा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्थे ।
आगामी निर्वाचनमा खनालको प्रतिस्पर्धा सत्ता गठबन्धनका साझा उम्मेदवार भिमसेनदास प्रधानसँग छ।
पूर्वडीआइजी रमेश खरेल
पूर्वडीआइजी रमेश खरेलले अवकाश पश्चात सुशासन पार्टी नेपाल दर्ता गरेका छन् । आफैँ पार्टीको अध्यक्ष रहेका खरेल काठमाडौं- १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।
प्रहरीमा संगठनमा हुँदा जनताको स्याव्वासी पाएका खरेललाई निर्वाचनमा जनताको मत के हुने हेर्न बाँकी छ । उनी भष्टाचार विरोधी अभियानमा समेत सक्रिय छन् ।
राजनीतिक दल नै दर्ता गरेर राजनीतिमा होमिएका खरेललाई चुनाव जित्न त्यति सजिलो छैन । उनी आफ्नो क्षेत्रमा सत्ता गठबन्धनका नेता प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्रसँग लड्दैछन् । स्वतन्त्रबाट उम्मेदवार बनेका पुकार बम पनि खरेलका लागि चुनौती हुन् ।
पूर्वडीआइजी नवराज सिलवाल
अवकाश पछि एमाले प्रवेश गरेका पूर्वडीआइजी नवराज सिलवाल ललितपुरबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । उनी ०७४ सालको निर्वाचनमा ललितपुरबाटै सांसद बनेका थिए ।
खराब राजनीतिले जनताले दु:ख पाएपछि आफू राजनीतिमा होमिएको बताउने सिलवालको पहिलो कार्यकालबाट जनता धेरै खुसी भएकव देखिँदैन् । उनले चुनाव जित्ने दावी गरे पनि पुरानै प्रतिस्पर्धी सत्ता गठबन्धनका उदय शमसेरलाई पराजित गर्न सिलवाललाई चुनौती छ ।
पूर्वएसएसपी बिक्रमसिंह थापा
एसएसपीबाट सेवा निवृत्त भएका बिक्रमसिंह थापा नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा होमिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनी कपिलवस्तु क्षेत्र नं. २(क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार छन् ।
पूर्वएसएसपी गोविन्द साह
एसएसपीबाट अवकाश लिएर राजनीतिमा होमिएका छन् गोविन्द साह बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा धनुषाको विदेह नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
अवकासपछि कांग्रेसको राजनीति गर्ने योजनामा रहेका उनलाई कांग्रेसले टिकट दिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । तर साहले जनताको मन जित्न सकेनन् ।
पूर्वएआइजी रोहित थापा
सशस्त्र प्रहरी बल नेपालका पूर्वएआइजी रोहित थापाले यसपटक समानुपातिक तर्फका उम्मेदवार हुन् । नेश्नलिष्ट पिपल्प पाटीको तर्फबाट चुनावचिन्ह लाटोकोशेरोसहित उनी चुनावी मैदानमा छन् ।