धादिङ-१: दोहोरिने कसरतमा त्रिपाठी, कांग्रेस र माओवादी फकाउँदै राजेन्द्र पाण्डे

धादिङ-१: दोहोरिने कसरतमा त्रिपाठी, कांग्रेस र माओवादी फकाउँदै राजेन्द्र पाण्डे

धादिङ: अन्य जिल्लाजस्तै धादिङमा पनि चुनावी माहौल तातिएको छ । त्यसमा पनि धादिङ-१ को चुनावी सरगर्मीले धादिङ्गेको ध्यान खिचेको छ । 

यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डे र एमालेका नेता भूमी त्रिपाठी चुनावी मैदानमा छन् । समग्र राजनीतिक अवस्थालाई विश्लेषण गर्दा यी दुई उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

दुवै उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । यो निर्वाचन क्षेत्रमा १४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ७ जना स्वतन्त्र उम्मेदवार छन् ।

 
२०७४ सालको निर्वाचनमा १ लाख १८ हजार १५० मतदाता रहेको यस निर्वाचन क्षेत्रमा यो पटक १ लाख ३२ हजार ३५४ मतदाता छन् । यो पटक गत निर्वाचनको तुलनामा १४ हजार २०४ मतदाता थपिएका छन् । नयाँ मतदाता अधिकांश २० देखि ४५ वर्ष उमेर समूहका छन् ।
 
यो क्षेत्रमा ६६ वर्षीय पाण्डे, ५७ वर्षीय त्रिपाठीसहित जनता समाजवादी पार्टीका नोरमान तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका २५ वर्षीय हीमेश पन्तलगायतको प्रतिस्पर्धा हुने देखिन्छ । 

२०७४ सालको निर्वाचनमा एमालेका त्रिपाठी निर्वाचित थिए । उनले ४९ हजार १२१ मत ल्याएर विजयी भएका थिए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत ल्याएका थिए । यी दुईबीचको मतान्तर २७ हजार १५६ थियो । 

तेस्रो जनसमाजवादी पार्टी नेपालका राजन मगर भएका थिए । उनले २ हजार ६० मत ल्याएका थिए । यस्तै विवेकशील साझा पार्टीका दीपेश थापाले ३४७ मत ल्याएका थिए । गत प्रतिनिधि सभा निर्वाचनमा ७९ हजार ६३ मत खसेको थियो । 

केन्द्रमा प्रभाव पार्ने पाण्डेलगातार निर्वाचित हुने नेतामा पर्छन् । २०१३ जेठ २९ मा धादिङको गजुरीमा जन्मिएका पाण्डे विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय छन् । उनले ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन् । 

२०३२ सालमा जेल परेपछि पाण्डे राजनीतिमा सक्रिय भए । नेकपा (माले)को सहसचिव हुँदै पाण्डे २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० सालमा नेकपा (एमाले)को अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य बनेका थिए । धादिङबाट २०४८, २०५१, २०५६ र २०७० को प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । 

पाण्डेले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । चार पटक प्रतिनिधि सभा सदस्य भइसकेका उनी २०७४ को निर्वाचनमा भने मुख्यमन्त्री बन्ने उद्देश्यले प्रदेश सभामा फर्किएका थिए । उनी धादिङ १ ‘क’ बाट बागमती प्रदेश सभामा निर्वाचित भएका थिए ।

एमाले विभाजन भएपछि पाण्डेले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । सक्रिय राजनीतिमा आउनुअघि उनी शिक्षण पेशामा आबद्ध थिए । 

पाण्डेका प्रतिष्पर्धी त्रिपाठी धादिङमा युवा पुस्तामाझ परिचित छन् । धादिङको बेनिघाट गाउँपालिकामा जन्मेका त्रिपाठीले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । 

२०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । 

काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियुमै सक्रिय रहेका त्रिपाठीले नेपाल ल क्याम्पसको स्ववियु सचिव भएर काम गरेका थिए । २०५४ मा पार्टी विभाजन भएपछि त्रिपाठी धादिङ फर्केर सक्रिय राजनीतिमा लागेका थिए । 

२०५४ सालमा नेकपा एमालेको सदस्य भएका त्रिपाठी २०६० सालमा नेकपा एमाले धादिङको सचिव र उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष बनेका थिए । 

यस्तो छ अंकगणित 
यो निर्वाचन क्षेत्रमा सिद्धलेक, बेनीघाँट रोराङ, गल्छी, गजुरी, थार्के, धुनीवेशी गाउँपालिकाका सबै वडा (४५) पर्छन् । 

गत स्थानीय तहको निर्वाचनलाई नियाल्दा यो निर्वाचन क्षेत्रमा एमाले पहिलो राजनितिक दल हो ।

दोस्रो माओवादी केन्द्र र तेस्रो कांग्रेस हो भने चौथो दल नेकपा एकीकृत समाजवादी पार्टी हो ।

निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत विश्लेषण गर्दा एमालेले ३६ हजार ६८३ मत ल्याएको थियो । 
यस्तै, माओवादी केन्द्रले २४ हजार आठ सय ४८ मत ल्याएको थियो । कांग्रेसले १९ हजार चार सय ६ मत ल्याउँदा नेकपा एसले ८ हजार २८१ मत ल्याएको थियो । 

सिद्धलेक गाउँपालिकाको मेयरमा कांग्रेसका परशुराम खतिवडा ७ हजार ९५६ मत ल्याएर विजयी भएका थिए । खतिवडाका प्रतिद्वन्द्वी एमालेका प्रेमनाथ सिलवालले ६ हजार १७१ मत ल्याएका थिए । 

बेनीघाट रोराङ गाउँपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर थपलियाले ७ हजार ६८० मत ल्याएर विजयी भएका थिए । 

थपलियाका प्रतिद्वन्द्वी एमालेका देवप्रकाश त्रिपाठीले ५ हजार ७२ मत ल्याएका थिए । 

गजुरी गाउँपालिकाको मेयरमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ ६ हजार तीन सय ८ मत प्राप्त गरी विजयी हुँदा श्रेष्ठा प्रतिद्वन्द्वी एमालेका राजेन्द्रविक्रम बस्नेतले ४ हजार ५१ मत प्राप्त गरेका थिए ।

थार्के गाउँपालिकाको मेयरमा एमालेका रामकुमार आचार्य १० हजार ३५५ मत ल्याएर विजयी भएका थिए । आचार्यका प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद बिडारीले ८ हजार ११६ मत ल्याएका थिए ।
 
प्रतिनिधि सभा निर्वाचन २०७४ मा एमाले र तत्कालीन माओवादीबीच गठबन्धन हुँदा एमालेका त्रिपाठी दोब्बर मतसहित विजयी भएका थिए । तर, अहिले परिस्थीति फरक छ । एमाले एक्लै चुनावी मैदानमा होमिएको छ भने कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन छ । 

यो क्षेत्रमा नेकपा एकीकृत समाजवादी कमजोर देखिन्छ । समाजवादीका पाण्डेले माओवादी र कांग्रेसको मत तान्नुपर्ने देखिन्छ । कांग्रेस, माओवादी र समाजवादी गठबन्धनको मत जोड्दा ५२ हजार ५३५ छ भने एमाले एक्लैको ३६ हजार ६८३ मत छ । 

त्रिपाठीले पनि आफ्नो मत जोगाएर कांग्रेस र माओवादीको मत तान्नुपर्ने अवस्था छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.