कल सेन्टरमा प्रश्न : ‘चुनाव चिह्न केके छन् ?’
काठमाडौं : प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले कल सेन्टर सुरु गर्यो। मतदाता शिक्षा र निर्वाचनसँग सम्बन्धित गुनासो र प्रश्नलाई समाधान गर्न सुरु भएको कल सेन्टरमा अन्य विषयभन्दा ‘चुनाव चिह्न केके छन्’ भन्ने प्रश्न धेरै आउने गरेको आयोगका कर्मचारी बताउँछन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराई भन्छन्, ‘चुनाव चिह्न र मतदाता नामावलीका प्रश्न धेरै आएका छन्। यी प्रश्नलाई हेर्दा मतदाता शिक्षा अझै धेरै दिन आवश्यक छ भन्ने देखिन्छ। तर, यो कल सेन्टर धेरै प्रभावकारी भएको हाम्रो बुझाइ छ।’
निर्वाचन लक्षित प्रश्न र गुनासा सोध्न सर्वसाधारणले आयोगले निःशुल्क उपलब्ध गराएको कल सेन्टरमा फोन गर्न सक्छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता भट्टराईका अनुसार निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन कल सेन्टरको स्थापना गरिएको हो।
- बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म प्रत्यक्ष कुराकानी
- ‘जिज्ञासासँगै उजुरी र गुनासो पनि आउने गरेको छ’
निशुल्क टोल फ्रि नम्वर ११०२ मा फोन गरेर सर्वसाधारणले निर्वाचनसम्बन्धी सबै प्रश्न, गुनासा र जिज्ञासा राख्न सक्छन्। सर्वसाधारणको सजिलोका लागि आयोगले निःशुल्क टोल फ्रि नम्वरमा २४ सै घण्टा फोन गर्न सकिने व्यवस्था गरेको छ। यो फोनमा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्यक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिन्छन् भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था छ।
राति आएका कल भ्वाइस मेलको रूपमा रेकर्ड भएर बस्छ। प्रश्न र जिज्ञासा छन् भने अर्को दिन आयोगका कर्मचारीले कल व्याक गरेर जवाफ दिन्छन्। सहायक प्रवक्ता भट्टराई भन्छन्, ‘नागरिकलाई निःशुल्क सूचना पुर्याउनु राज्यको दायित्व सम्झेर कल सेन्टरको स्थापना गरिएको हो। यो हरेक निर्वाचनका बेला सञ्चालन गरिँदै आएको छ। कल सेन्टरमा फोन गरेर नागरिकले मतदानसम्बन्धी सम्पूर्ण जानकारी
लिन सक्नेछन्। आयोगको कल सेन्टरका सुपरभाइजर मधु पुडाशैनीले विभिन्न प्रश्न र जिज्ञासासहित दैनिक १५० देखि ३ सयवटा कल आउने बताए। ‘गत असोज २८ गते आयोगले निःशुल्क कल सेन्टरको स्थापना गरेको हो। यहाँ प्रायः उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको जानकारी धेरै आउने गर्छ’, पुडाशैनी भन्छन्, ‘मतदान कसरी गर्ने, मतदाता नामावली कसरी हेर्ने ? सरकारी कर्मचारीले चुनाव प्रचार गरेको, जनप्रतिनिधिले भोट माग्दै हिँडेको जस्ता उजुरीहरूसमेत आउँछन्।’
उनका अनुसार प्रश्नकर्ताले मतगणना स्थलमा प्रवेश गर्न पाइन्छ ? भन्दै प्रश्न गर्छन्। साथै, विभिन्न दलका उम्मेदवारले पनि मतदान स्थलमा प्रवेश गर्न पाइन्छ ? चुनाव प्रचार गर्ने समय कुन हो ? लगायतका प्रश्न गर्ने गरेको बताए। त्यसैगरी अपांगता भएका व्यक्ति र किरियापुत्रीलाई मतदान स्थलमा के सुविधा छ भन्दै जिज्ञासा आउने गरेको उनले बताए।