स्याङ्जामा गठबन्धनका साझा प्रतिवद्धता
स्याङ्जा : आसन्न निर्वाचन आउन ६ दिन बाँकी रहँदा स्याङ्जाका सत्ता गठबन्धनले साझा प्रतिवद्धता सार्वजनिक गरेका छन्।
आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक-वाम गठबन्धन स्याङ्जाका प्रमुखहरुले सामूहिक प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी स्याङ्जाका प्रमुखहरुसहितको बैठकले लोकतान्त्रिक-वाम गठबन्धनकातर्फ साझा र सामूहिक प्रतिबद्धता गरेका हुन्।
‘ग्रामीण क्षेत्रमा यातायातका पूर्वाधार गर्दै गुणस्तरीय पर्यटन ब्यावसाय विस्तार गर्ने, पर्यटनलाई समृद्धिको आधार बनाउने, कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरण गरी आत्मनिर्भर हुनुका साथै निर्यात गर्ने, जडिबुटीको ब्यवसायिक उत्पादन प्रशोधनमा जोड दिने, जनताको लगानी वृद्धि गरी ऊर्जा निर्यात गर्ने, शैक्षिक संस्थाहरको स्तरवृद्धि गरी बाहिरबाट समेत यहाँ उच्च शिक्षा हासिल गर्न आउने वातावरण निर्माण गर्ने, आधुनिक स्वास्थ्य सुविधा प्रत्येक पालिकामा पुर्याउने, खेलमैदान निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिने रहेका छन्।
त्यसैगरी सिद्धार्थ राजमार्गलाई दुई लेनमा स्तरोन्नतिका लागि पहल गर्ने, कालीगण्डकी, आँधीखोला, ज्याग्दीखोला, दरौंखोलामा आवश्यकताअनुसार हाइड्याम तथा करिडोरका लागि पहल गर्ने, स्याङ्जा-पोखरा सुरुङ मार्ग निर्माणका लागि पहल गर्ने, जिल्ला सदरमुकामबाट सबै पालिकाको केन्द्र जोड्ने सडकलाई बाह्रै महिना सञ्चालन हुनसक्ने गरी स्तरोन्नति गर्ने, पालिका केन्द्रलाई आर्थिक केन्द्रको रूपमा विकास गर्ने, गरिब तथा पिछडिएको वर्ग समुदायको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, महिला सशक्तिकरणका लागि महिला शिक्षा र रोजगारीमा जोड दिने प्रतिवद्धता छन्।
दलित तथा जनजातिहरूलाई विशेष अवसर प्रदान गरी मूल प्रवाहीकरण गर्ने, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका ब्यक्तिको जीवन सहज बनाउन विशेष ब्यवस्था गर्ने, बालबालिकाको चौतर्फी विकासमा जोड दिने, पिछडिएका स्थानहरूको विकासका लागि विशेष योजना कार्यान्वयनमा ल्याउने सामूहिक प्रण गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त मानव विकास सूचाङ्कमा स्याङ्जालाई नमूना जिल्लाको रूपमा विकास गर्ने सङ्कल्पसहित लोकतान्त्रिक-बाम गठबन्धन अगाडि बढेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
लोकतान्त्रिक-वाम गठबन्धन सत्ता प्राप्तिका लागि नभई संविधानको रक्षा, जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको समावेशी संघीय प्रजातान्त्रिक गणतनत्रको सुदृढीकरण, समावेशी, सहभागितात्मक तथा सन्तुलित विकास र गर्ने उल्लेख छ।
स्याङ्जामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि प्रस्तुत प्रत्यक्ष उम्मेदवारलाई पार्टी निर्णयअनुसार र समानुपातिकतर्फका उम्मेदवारलाई आ-आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न पनि सामूहिक आह्वान गरिएको छ।
नेपाली जनताको दशकौं लामो बलिदानीपूर्ण संघर्षबाट हासिल भएको उपलब्धीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उकास्न, मुलुकको समृद्धिको यात्रालाई द्रूतता प्रदान गर्न र नेपालको शीर अन्तर्राष्ट्रिय जगतमा उचो राख्नका लागि पाँच दलीय गठबन्धन भएको जारी विज्ञप्तिमा उल्लेख छ।’