महोत्तरी १ मा लक्ष्मीको उद्घोष- माओवादी किल्ला तोड्छौं

महोत्तरी १ मा लक्ष्मीको उद्घोष- माओवादी किल्ला तोड्छौं

बर्दिबास : महोत्तरी-१ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार लक्ष्मी महतो खरोरूपमा प्रस्तुत हुने एक परिवर्तनको सम्बाहकका रूपमा परिचित छन्। क्रान्तिकारी स्वभावका उनी यहीँ क्षेत्रबाट दोस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन्।

पूर्व प्रधानपञ्चसमेत रहेका महतोको उम्मेदवारीले लागातार तीनपटक चुनाव जितिसकेका माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई पाँच दलीय गठबन्धनको बिँडो थाम्न हम्मे परेको छ। उनै महतोको भित्रि कथा धेरैलाई थाहा छैन।

तत्कालीन निगौल गाविसमा ५८ वर्षीय महतो समान्य किसान परिवारमा जन्मिए। उनका बुबा रामचन्द्र महतो र आमा निर्सी देवी खेतीपाती गरेर गुजारा गर्थे। पाँच दाजुबहिनीमध्ये उनी साइला हुन्। उनलाई धेरैले ग्रामीण भेगमा मुखियाजी भनेर चिन्छन्।

क्रान्तिकारी स्वभाव र मुखियाजीबाट महतो चिनिनुका कारण भने रोचक छन्। निगौलस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ५ सम्म उनी प्रथम स्थान ल्याउँथे। तर उनलाई सुरुमा धेरैले हेप्थे। शोषण गर्थे। १० कक्षामा पुग्दासम्म त्यसै कारण पढाइप्रति उनको रुची घट्यो।

‘म कक्षामा पहिले आउँदा पनि पहिलो डेस्कमा बस्न दिँदैनथ्यो। शोषण गरिन्थ्यो। मेरो किताब पछाडि राखदिन्थ्यो। त्यसैका लागि झगडा पर्थ्यो, लडाइँ हुन्थ्यो। त्यहीँ लडाइँले मलाई क्रान्तिकारी बन्न मजबुर गर्‍यो,’ पुराना दिन सम्झिदै उनले भने।

८ कक्षामा पढ्दासम्म त राम्रो पढेर सरकारी जागिर खानुपर्ने सोच भए पनि विभेदले भने उनको त्यो सपना अधुरै रह्यो। उनले पढाई छोडेर खेतीपातीमै आमाबुबालाई सघाउन थाले। लडाकु स्वभाव हुनुका पछाडि महतोको अर्को कथा पनि छ। १२ वर्षकै उमेरमा उनी कुस्ती खेल्न सुरु गरेका थिए।

‘त्यहीँ बेला मैले आफूभन्दा १० गुणा बढी तागत भएका पहलवानसित कुस्ती खेलेँ। मेरो खेल्ने तरिका केही फरक थियो। टाउकोमा टाउको बजारेर उनीहरूलाई हराउँथे। त्यहीँबाट मेरो आत्मबल बढ्यो र लडाकु स्वभावको भए,’ उनले भने, ‘नेताजी सुवासचन्द्र बोसलाई म फलो गर्थे। टिभी च्यानलमा उनको विचार सिद्धान्त देखेर प्रभावित भएको थिएँ। ७ घण्टा साइकल चढेर भगत सिंह, सुकदेव सिंह, राजगुरुलगायतका क्रान्तिकारी नेताबारेमा बनेको फिल्म हेर्न सितामढी जान्थे।’

परिवारमा तीन छोरीको बिहेवारी र राम्रो पढाई लेखाई खेतीपातीले भविष्य राम्रो हुने सम्भावना देखेनन्। आर्थिकरूपले बलियो हुनुपर्छ भन्ने सोचका साथ अघि बढे। जनकपुरधामका मारवाडीबाट प्रभावित भएर व्यापार सुरु गरे। २०४९ सालमा आफ्नै गाउँ निगौलमा इट्टाभट्टा सञ्चालनमा ल्याए। त्यतिबेला पैसा नहुँदा पनि इमान्दारिता देखेर साथीभाइले आर्थिक सहयोग गरेका थिए। अढाई सय गरिब परिवारलाई रोजगारी उपलब्ध गराए।

सुरुवाती दिनमा व्यापारमा घाटा लाग्यो। जग्गा बेचेर घाटा व्यवस्थापन गरे। कक्षा १० मै पढ्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भएका उनी विस्तारै राजनीतिमा पनि सक्रिय भए। गाउँ गाउँमा भइरहेको दमन शोषण हेर्न नसकेर राजीतिमा सक्रिय भएको उनले सुनाए। २०४८ सालको प्रजातान्त्रिक आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह पनि गरे।

कांग्रेसमा सक्रिय हुँदाहुँदै २०५४ सालको स्थानीय निर्वाचनमा पनि टिकट पाएनन्। समर्थकले उनैलाई चुनाव लड्न दबाब दिए। ‘गाउँमा विकास चाहिएको थियो। सडक बाटोको सबैभन्दा ठूलो समस्या थियो। समाजमा अन्याय र अत्याचार पनि उत्कर्षमा थियो। त्यसैले क्रान्तिकारी व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्छ जनताको माग थियो,’ उनले भने, ‘बच्चैदेखि मेरो स्वभाव बुझेकाहरूले मलाई जबर्जस्ती उम्मेदवारी दिन लगाए। सबैले भन्थे सुधार लक्ष्मीबाट मात्र सम्भव छ। त्यो बेला गाउँका नेताहरूले झगडा लगाएर गाउँमा पञ्चायती गर्थे। गरिब र उत्पीडितलाई विभेद् गर्‍यो। प्रशासनले त्यतीबेला पैसा खान्थे दुबैतर्फबाट पीडित थिए।’

खरो र सत्य बोल्ने हुँदा कांग्रेसले टिकट नदिएको उनी सम्झिन्छन्। ‘यसले खरो र साँचो बोलदिन्छ। जो छलकपटक गर्छ उसैले मात्र राजनीति गर्न सक्छ नेताहरूको बुझाइ थियो। स्वतन्त्रबाट चुनाव लड्दा महतोले कांग्रेस, एमाले र राप्रपाका बलिया उम्मेदवारलाई हराए। बहुमत नहुँदा पनि गाविसमा उनले पाँच वर्षे कार्यकालमा ऐतिहासिक काम गरेको स्थानीयहरू बताउँछन्।

२०५६ सालमा जिल्ला विकास समितिले जिल्लाको ७६ गाविसमध्ये निगौल उत्कृष्ट पालिका चुनिए। महतोको त्यो बेला न्याय र किसानका लागि गरेको कामको चर्चा अझै हुने गरेको छ। उनले भारतको पञ्जाब राज्यमाजस्तै कृषि सडकमा जोड दिए। झण्डै २० वटा कृषि सडक बनाए। त्यतिबेला उनले गरेको न्यायका कारण पनि उनी चर्चित थिए। न कसैसँग डराउँथे, न झुक्थे न बदनामीकै डर हुन्थ्यो। सत्य र न्ययायको अनुयायी बताउने महतोलाई त्यसै कारण क्रूर पनि कतिपयले भन्थे।

‘त्यतिबेला गाविसमा शासन गर्दा राजाजस्तै मेरो नीति थियो। शान्ति सुरक्षा, न्याय र विकास प्राथमिकतामा थियो। न्याय गर्दा अलि क्रूर बन्नुपर्छ। आफ्नो, विरानो र ठूलोमान्छे ठानेर कसैलाई छुट दिइन्। त्यसैले केहीले मलाई तानाशाह पनि भन्न भ्याए,’ उनले थपे।

त्यतिबेला भ्रष्टाचार रोक्न पनि जुक्ति लगाएका थिए। अग्रिम विकास गरेर उनले भ्रष्टाचारमा हदसम्म नियन्त्रण गरेका थिए। ‘अग्रिम विकास निर्माणका काम गर्थे। पैसा नभएपछि बाँडफाडका लागि लडाइ हुने कुरै भएन। पहिल्यै उधारो काम गराउँथे बजेट आएपछि ती उधारो चुक्ता गर्थे। त्यसमै सबै पैसा खर्च हुन्थ्यो। अनि कसरी घुस खान्छ मान्छेले,’ महतोले थपे।

पछि हुँदाहुँदै उनी दानका लागि पनि चर्चामा आइरहे। जो पढ्न चाहन्थे, उपचारमा समस्या हुन्थ्यो उनीहरूमध्ये कयौंलाई उधार गरेर पढाई र उपचार गराइदिएको उदाहरण छ। दान र इमान्दार राजनीतिका कारण उनको आयस्रोत कम हुँदै गयो। २०५८ सालतीर बैंकले उनको जग्गा नै लिलाम गर्‍यो। पछि उनका छोराले व्यवसाय सम्हाल्न थाले। उनले गरिब विपन्न र समाजलाई परेको बेला आर्थिक सहयोग गर्नबाट कहिल्यै पछि परेनन्।

झण्डै डेढ दर्जन सार्वजनिक दलान, मन्दिर, विद्यालयलगायतका भौतिक संरचना निर्माणमा आर्थिक सहयोग गरेको विवरण रहेको उनका छोरा मनोजले सुनाए। हुँदाहुँदै २०७२ सालमा मधेसका एजेण्डासहित मधेस आन्दोलन भयो। उनी आन्दोलनमा दिनरात खटे। त्यसै क्रममा असई थमन विक हत्या प्रकरणमा उनको नाम पनि मुछियो। ती मुद्दा झुटो रहेको र राज्यले जबर्जस्ती फसाउन खोजेको महतोको दाबी छ।

त्यसअघि महतोले २०७० सालको चुनावमा यहीँ क्षेत्रबाट आफ्नी श्रीमती राजकुमारी देवीलाई तत्कालीन सदभावना पार्टीबाट चुनाव लड्न सहयोग गरे। तर उनी पराजित भइन्। ‘म जहिल्यै सत्यका लागि लडिरहन्छु। कहीँकतै मेरो हत्या भयो भने रामकुमारीले सत्यका लागि लड्नुपर्छ भनेर उनलाई चुनाव लडाए। झाँसीकी रानी सिरियल देखेपछि श्रीमतीलाई पनि राजनीतिमा आएर क्रान्ति गर्न मन लागेको थियो,’ उनले भने। त्यतिबेला पराजित भएकी राजकुमारी २०७४ सालको स्थानीय निर्वाचनमा गौशाला नगरपालिकाको उममेयरमा लडिन् तर दोस्रो पटक पराजय बेहोरिन्। गत स्थानीय तहको निर्वाचनमा भने उनका छोरा डा. दीपेन्द्र महतो नगरपालिकाको मेयरमा विजयी भए।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएपछि लक्ष्मी उम्मेदवारी दिने तरखरमा थिए। महतोको लोकप्रियताकै कारण नेकपा एमालेले उनलाई टिकट दिएर उम्मेदवार बनाउन तयार भयो। मधेस केन्द्रित दलहरू विचारको राजनीति छोडिसकेपछि आफू एमाले प्रवेश गरेर यहाँका उत्पीडित र गरिब जनताका लागि उम्मेदवारी दिएको उनको भनाइ छ। ‘गिरिराजमणि पोखरलेले १५ वर्ष यहाँबाट जितेर पटक-पटक मन्त्री भए तर गरिबका लागि केही गर्न सकेनन्। हरहिसाब पनि दिएनन्। त्यसैले यहाँका जनताका लागि काम गर्न पार्टीले मलाई उम्मेदवार बनाएको छ,’ उनले थपे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.