श्रीलंकाले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने
कोलम्बो : श्रीलंकाले विदेशी लगानी आकर्षित गर्न नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने जनाएको छ। श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिङ्घेले विदेशी लगानी आकर्षित गर्न श्रीलंकाका पश्चिमी र उत्तर पश्चिमी प्रान्तका साथै हम्बनटोटा र त्रिन्कोमाली जिल्लामा नयाँ आर्थिक क्षेत्र स्थापना गर्ने बताए।
उनले सन् २०२३ को बजेट संसद्मा प्रस्तुत गर्ने क्रममा प्रत्येक क्षेत्रका लागि कम्तीमा एक हजार ‘एकड’ जमिन छुट्याइने बताए। उनले लगानी र बाह्य व्यापार प्रवर्द्धनका लागि अनुकूल वातावरण सिर्जना गर्न नयाँ एजेन्सी स्थापना गरिने बताए।
आगामी १० वर्षमा वार्षिक तीन अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने श्रीलंकाको योजना रहेको उनले बताए। राष्ट्रपति विक्रमासिङ्घेले सरकारी राजस्व वृद्धिका लागि सार्वजनिक सेवा र करसम्बन्धी मूल्याङ्कन र सिफारिस गर्न राष्ट्रपति आयोग गठन गरिने बताए।
उनले परिमाणात्मक र गुणात्मक तथ्याङ्कका आधारमा उत्पादकत्वका विषयमा अनुसन्धान र अध्ययन गर्न राष्ट्रिय उत्पादकत्व आयोग गठन गर्न पनि प्रस्तावसमेत गरे। आयोगले व्यापार समायोजन कार्यक्रमका सम्बन्धमा सुझाव दिने र उद्योग, वाणिज्य र व्यापारसम्बन्धी लघु आर्थिक नीतिका सम्बन्धमा सरकारलाई सुझाव दिनेछ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रस्ताव गरेको सुधार आर्थिक स्थायित्वमा केन्द्रित भएकाले सरकारको आर्थिक सुधार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग भएको सम्झौतामा मात्र सीमित नहुने उनले बताए।
सरकारले सुधार र आधुनिकीकरणमार्फत् सातदेखि आठ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अपेक्षा गरेको विक्रमासिङ्घेले बताए। उनले आर्थिक रुपान्तरणका लागि आवश्यक विधायिकी संशोधन र नयाँ विधेयक छिट्टै संसद्मा पेस गरिने जानकारी दिए।