नुवाकोटको दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्र
नुवाकोट : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। क्षेत्रमा रहेका निर्वाचन अधिकृतहरूको कार्यालयमा मतदान सामग्रीहरू पठाउने कार्य सकिएको छ।
पहाडी संरचना रहेको नुवाकोटमा दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा रहेका छन्। यहाँ एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएको छ।
मतदान केन्द्रमा खटाइएका कर्मचारीहरूलाई निर्वाचनसँग सम्बन्धित सबै प्रशिक्षण पूरा भइसकेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।
नुवाकोटमा एक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सहयोगी कर्मचारीसमेत आठ जना कर्मचारी खटाइएको छ।
नुवाकोटमा दुईवटा मतदान केन्द्र महिलामैत्री बनाइएको छ। दुवै क्षेत्रमा एक/एक वटा मतदान केन्द्र छनौट गरी महिलामैत्री बनाइएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।
क्षेत्र नं. १ को पन्चकन्या गाउँपालिकाको इन्द्रायणी मावि 'क' तथा क्षेत्र नं. २ को नुवाकोट आदर्श बहुमुखी क्याम्पस 'ख' मतदान केन्द्र महिलामैत्री बनाइएको छ।
ती केन्द्रहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सहयोगी कर्मचारीसमेत आठै जना कर्मचारी तथा सुरक्षाकर्मीहरूसमेत महिला नै खटाइएको छ।
मतदानका लागि आवस्यक ५८ प्रकारका सामग्रीको प्याकिङ कार्य सम्पन्न भइसकेको छ।
क्षेत्र नं. १ को लागि खरानीटारस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्रीहरू पठाइएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले वताए।