अमूल्य मत पैसामा नसाटौं
निर्वाचनमा भोट हाल्दा विवेक पुर्याऔं। अहिले पनि विवेक गुमायौं भने फेरि पाँच वर्ष टाउकोमा हात राखेर बस्नु पर्छ। भोट दिँदा सही व्यक्ति छनोट गर्न सके नीतिनिर्माण तहमा राम्रो मान्छे पुग्छ। होइन भने फेरि यस्तै हो। नेताले भोटका लागि विभिन्न प्रलोभन देखाइरहेका छन्। कतिले पैसा बाँडेका छन्। पैसासँग भोट नसाटौं। असल व्यक्तिलाई भोट हालौं।
निर्वाचन जितेर गाउँ नफर्कने भन्दा गाउँमै बस्नेलाई भोट हालौं। जोे सुखदुःखमा साथ दिन्छ, त्यस्ता व्यक्ति छानौंै। हिजो कोरोनाकोे महामारीमा नेताहरूले हैसियत देखाएका छन्। कोरानाले जनता अक्सिजन नपाएर छटपटिँदा पनि नेता भने आरामसँग राजधानीमा बसेका थिए। त्यस्ता गैरजिम्मेवार नेता फेरि जितायौं भने हालत त्यही हो। भोट माग्न आउने नेताले प्रष्टसँग भन्न सकेको छैन, मैले जितें भने यो गर्छु। गर्न योजना भए पो ? भन्नु संसद्मा गएर भत्ता पकाउनेबाहेक सांसदले केही गरेनन्।
निर्वाचन भनेकै जनताको समय हो। निर्वाचन जितेको भोलिपल्ट जनता नचिन्ने नेतालाई भोट नहालौंै, हाल्दै नहालौं चाहे ऊ जुनसुकै दलको किन नहोस् ? भोटसँग नोट नसाटौं प्रलोभनमा फसेर गलत व्यक्तिलाई भोेट नहालौं। मेरो तेरो होइन असल व्यक्ति छानौं। पाँच वर्ष सांसद भएर के गर्नुहुन्छ भनेर प्रश्न सोध्ने आँट राखौं। अहिले नबोले कहिले बोल्ने ? ३३ वर्ष भयो यिनलाई भोेट हालेर पठाएको खोइ कसले के गरे ? ३३ वर्षमा अहिलेसम्म पा“च वर्ष कुनै दलले सरकार चलाउन सकेनन्। फेरि भन्छन्, हामीलाई जिताऊ। किन जिताउने ? जनताको आवश्यकता के हो ? जसलाई कुनै मतलव छैन।
देशको आर्थिक अवस्था के भइरहेको छ ? मतलव छैन। मात्र निर्वाचन जित्न परेको छ। अहिलेको निर्वाचनमा स्वतन्त्र उम्मेदवार धेरै देसिएका छन्। दलको विकल्पमा स्वतन्त्र हो। स्वतन्त्रको उद्देश्य एक हो भने मिलेर गए भएन ? पार्टीले टिकट नदिएर स्वतन्त्र भएकाले के गर्लान् ? पार्टीले त विश्वास गरेन भने जनताले के भनेर विश्वास गर्ने ? वर्षायाममा च्याउ उम्रेसरी नेता उम्रेका छन्। एउटा असल नेता बन्न के के चाहिन्छ, कसैलाई मतलव छैन।
सबैभन्दा सजिलो व्यवसाय नै राजनीति भएको छ। हरेक क्षेत्रमा जान योग्यता चाहिन्छ। नेता बन्न कुनै योग्यता चाहिँदैन। कस्तोे सजिलो पेसा होला। नेता बन्न यो प्रक्रिया पूरा गर्नुपर्छ भन्ने हो भने सही र असल व्यक्ति नेता बन्थ्योे होला। नेताले नै नेताको मूल्य घटाए। अरूले तपाईं भनोस् या नभनोस्, आफैं मपाइँ भन्न थाले। यसरी कसरी विकास होला ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं