भारीभन्दा बोझिला नेता

भारीभन्दा बोझिला नेता

काठमाडौं‍ : अग्ला घर। ढुंगा बिछ्याइएका बाटो। जुन गल्लीमा पुगे पनि उस्तै लाग्ने। नयाँलाई हराउँछु कि भन्ने चिन्ता, पुरानालाई सामान्य लाग्ने ठाउँ। ठूला भारी बोकेर वरपर हिँड्नेलाई सारै साँगुरो लाग्ने यहीँ गल्लीमा भेटिन्छन् अजंगको भारी बोकेर दैनिक जीविकोपार्जन गर्ने मजदुरहरू।

नुनदेखि सुनसम्म पाइने बजारका रूपमा परिचित यहाँ गाडी नछिर्ने धेरै बाटो भएकाले सयांैले भारी बोक्ने काम पाएका छन्। मुलुकका विभिन्न जिल्लाबाट मजदुरी गर्न यहाँ पुग्नेको संख्या धेरै छ। दैनिक मजदुरीमा ध्यान दिने उनीहरूलाई अहिले भने मंसिर ४ गतेले झकझक्याइरहेको छ। मतदान गर्ने स्थानले सम्झाएको छ। कुन दिन जाने समय मिलाउने तरखरमा देखिन्छन् उनीहरू।

असनको महाबौद्ध, इन्द्रचोक, बटु, बन्जाहिटा, भेडासिंहलगायत ठाउँमा भेटिन्छन् भारी बोक्ने मजदुरहरू (भरिया)। असनका गल्ली–गल्लीमा निस्किन्छन्, सामानका पोक्काहरू पिठ्युँमा बोक्छन् र गन्तव्यतिर लाग्छन्। एकछिन फुर्सद हुँदा आजकल उनीहरू पनि निर्वाचनको चर्चा गर्छन्। आफ्नो क्षेत्रका उम्मेदवारको बाचा सम्झन्छन्। गोदाममा भारी थन्काउँदै गरेका दोलखाका रमेश बस्नेत अर्का साथीसँग भन्दै थिए– ‘अँ, चुनाव त आउनै लाग्यो। भोट हाल्न कहिले जाने घर ?’ उनको प्रश्नमा एक भरियाले भने, ‘आफू त मंसिर १ गते जाने हो।’ अर्कोले थपेँ, ‘मेरो त घरनजिकै छ। म त मंसिर ३ गते गाउँ जाने हो।’ नेताहरूले भोट लिएर आफूहरूलाई दीर्घकालीन रोजगारी नदिएकोमा कोही खिन्न पनि देखिन्थेँ। 

झिसमिसे बिहानदेखि अबेर रातिसम्म भारी बोक्छन् यहाँका भरियाहरू। अरूबेला राजनीतिसँग खासै मतलब राख्दैनन्। तर, अहिले काठमाडौंको व्यस्त धार्मिक तथा व्यापारिक असन गल्लीका भरियालाई चुनावी माहोलले मज्जाले छोएको छ। प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न गाउँगाउँ जाने तरखरमा देखिन्छन् उनीहरू। चुनावले आफूजस्ता मजदुरको दैनिकी फेरिने आशा उनीहरूमा पनि छ। भन्छन्, ‘धेरैपटक मत हालियो। परिवर्तन त केही भएको छैन। तर, पनि केही होलाकी भन्ने आशाले मत त हाल्नै पर्‍यो नि !’

रोजाइमा युवा नेता

दोलखा कालिञ्चोकका ४३ वर्षीय रमेश बस्नेत असन गल्लीमा बिहानै भारी बोक्ने काम खोज्दै पुग्छन्। अढाई वर्ष भयो बाघबजारको डेराबाट महाबौद्धमा पुगेर काम खोज्ने गरेको। तर, उनी अबको केही दिन काठमाडौंमा हुँदैनन्। भन्छन्, ‘चुनाव आयो। अब भोट खसाल्न मंसिर २ गते गाउँ जाने हो। मलाई त युवा नेता नै मन पर्न थालेको छ। उनीहरूको जोस र विचार पनि राम्रो छ।’ २०५४ सालदेखि भोट खसाल्दै आएको उनी बताउँछन्।  २०७४ साल अघि नेतालाई दिएको भोटको खासै काम लगेन उनका लागि। उनको बुझाईमा ती चुनावले गाउँमा विकास नै ल्याएन। जब गाउँमा स्थानीय सरकार आयो, त्यसपछि विकासको अनुभूति गर्न पाएको बताउँछन्। गाउँमै नेता भेट्न पाएको उनी सुनाउँछन्। भन्छन्, ‘पाँच वर्षअघि हालेको भोटले गाउँमा विकास ल्यायो। हाम्रोतिर गाउँमा नै सरकार पुगेदेखि धेरै विकास भयो। त्यसैले अब पनि मत हाल्ने हो।’ 

पहिलाका नेता चुनावमा उठ्थेँ, उनलाई पात्तै हुँदैनथ्यो। गाउँ सरकार भएदेखि उनले नेता चिन्न थालेका छन्। ‘अब नेताहरू चुनावभन्दा पछि पनि आउँछन्। अहिले आफ्नो गाउँ पालिकाको मान्छे चुनावमा उठेको छ। त्यसलाई जिताउने अभियानमा छौं हामी’, उनले भने। उनका चारजना छोराछोरी छन् अनि बूढाबूढी। आफू असन गल्लीमा भारी बोक्छन्। उनकी श्रीमती गाउँमा खेतीपाती गर्छिन्। छोराछोरी पढ्छन्। 

आफूले नपढेर भारी बोक्नु परेको दुःख सुनाउँछन् रमेश। तीन कक्षा पढ्दै गर्दा उनले किताब छोड्नु पर्‍यो। बुवाआमा र दुई दाजुभाइ मात्रै थिए। घरमा काम गर्ने नभएपछि स्कुल छोडेर कुटोकोदालोमै व्यस्त भए। तीन पाथी मकै फल्ने उनीसँग १६ रोपनी पाखोबारी छ। खेतीपाती गर्न गाउँ आउजाउ गरिरहन्छ। भारी बोक्न त साह्रै दुःख हुन्छ नि ! कोही बेला पाँच केजी नै बोक्नुपर्छ, कोही बेला त्योभन्दा धेरै नै हुन्छ। १० तल्लासम्म भारी लिएर चढ्नुपर्छ। ‘नपढ्दा दुःख पाइयो। अब बालबालिकाहरूले म जस्तै भरिया बन्नुनपरोस्। त्यसैले उनीहरूलाई पढाउन दिनभरि भारी बोक्छु’, उनले भने, ‘सरकारले गरिबका छोराछोरीलाई पढाइ फ्रिमा भन्छ। तर, के हुनु ? पैसा नदिए स्कुलमा पस्न पाइँदैन। अब यसमा नेताहरूले सुधार गर्नुपर्छ।’ युवा नेताहरूले यस्तो परिवर्तन ल्याउन सक्ने उनको आशा छ। 

काभ्रेका कारमान पहरी पनि चुनावमा गाउँ जाने तयारीमा छन्। ४० वर्ष पुगेका कारमान असनको गल्लीमा १० वर्षदेखि भारी बोक्दै आएका छन्। भन्छन्, ‘बोकेको भारीले छोड्छ। तर, जीवनमा दुःखले कहिले छाडेन,’ भन्छन्, ‘पहिला गाउँतिरै हलोकोदालो गरियो। केही पैसा कमाउन सकिन्छ कि भनेर महाबौद्धमा छिरेँ। भारीलाई ढुकेर बस्ने हो। पाउँदा बोक्ने हो।’ 

मंसिर ४ गतेलाई सम्झँदै उनी भन्छन्, ‘तपाईंलाई थाहा छैन। गाउँमा सबैतिर चुनाव लागिसक्यो। अब त भोट खसाल्न जानुपर्छ। गाउँमा जनप्रतिनिधिहरूले भोट हाल्न बोलाउनुभएको छ।’ २०५० सालपछि लगातार उनले भोट हाल्दै आएको अनुभव सुनाए। यतिका समय भोट हाल्नुभयो के पाउनुभयो भन्ने प्रश्नमा भन्छन्, ‘त्यो त केन्द्रीय नेताहरूलाई थाहा होला। चुनाव आयो। गाउँमा जाने हो। हाम्रो काम भोट हालिदिने हो।’ 

  •     असन क्षेत्रका सयौं मजदुर मत हाल्न गाउँ जाने तयारीमा छन्। तर, मतको सदुपयोग नहोला कि भन्ने चिन्ता भने छ। 
  •     यसअघिका निर्वाचनमा पनि मत हालेका उनीहरू अब भने युवा नेताले परिवर्तन गर्न सक्ने विचार राख्छन्।
  •     उम्मेदवारका मात्रै नभई मतदाताको पनि जीवन परिवर्तन हुनुपर्ने मजदुरको माग छ।

उनी उम्मेदवारका कुरा सम्झदै भन्छन्, ‘मोटर ल्याउँछौं। खानेपानी ल्याउँछौं। त्यसका लागि बजेट चाहिन्छ। भोट दिनुस्। काम गर्छौं। राम्रो स्कुल भवन बनाउँछौं भनेर नेताहरू भन्छन्। त्यसैका लागि भोट हाल्न जाने तयारीमा छु।’ असनमा भेटिने मजदुर भन्छन्, ‘भारी बोकेर जिन्दगीमा केही परिवर्तन भएन।’ यस्तै कुरा सम्झिएर काभ्रे कोसीपारिका ३६ वर्षीय शम्भू पहरी चिन्तित छन्। तर, उनीले चुनावमा भोट हालेर भरियाको जीवानमा पनि केही परिवर्तन आउने आशा भने गरेका छन्। भन्छन्, ‘नेताहरू भोट माग्न घरघरमा आइरहनुभएको छ। अब भोट त हाल्नु परिहाल्यो। भोटले जीवनमा त केही भएन। अब नेताहरूले गाउँमा विकास गर्छु भन्नुभएको छ। गर्नुहोला नि !’ 

कालिन्चोकका ध्रुवप्रसाद शिवाकोटीलाई गाउँमा केही उद्यम गर्ने मन थियो। तर, हातमा पुँजी भएन। गाउँबाट असनको गल्ली छिरे। ५० रुपैयाँमा नाम्लो किने। अनि भारीको भर परे। उनलै भरियाको काम गर्न थालेको २०औं वर्ष भयो। उनी अब एक दुुई दिनभित्र घर फर्किंदै छन् मतदान गर्न। भन्छन्, ‘खै यहाँ रोजगारी नै राम्रो छैन। सबै विदेश जान्छन्। शिक्षा व्यावहारिक छैन। नपढेको त भारी बोक्ने नै भए। पढेरका पनि युवा बेकामे भएका छन्।’

दोलखाका डिल्लीप्रसाद शिवाकोटीलाई यहाँ भारी बोकेको कति वर्ष भयो थाहा छैन। ६३ वर्षको उमेरमा पनि भारी बोक्दै छन्। अझै कहिलेसम्म यस्तै जीवन बिताउनुपर्ने हो ठेगान छैन। ‘दुःखै रानी पिना खान्छे, सुःखै रानी पिना खान्छे। ग्राहो त हुन्छ नि ! भारी न बोके मुखमा माड लाग्दैन। यो काम गर्नु बाहेक अर्को उपाय छैन’, उनले भने।

रोजगारी पाइयोस् भन्ने चाहना

असन गल्लीमा नै भेटिए २५ वर्षीय उमेश ढुंगाना। उनी यस क्षेत्रका नयाँ भरिया हुन्। घर सिन्धुपालचोक हो। तिहारदेखि उनले भारी बोक्न थालेका हुन्। तिहारदेखि बुवा हरिप्रसादसँग उनी भारी बोक्न काठमाडौं छिरेका हुन्। बुबा २०४७ सालदेखि निरन्तर असन गल्लीका भरिया हुन्। ‘भोट हालेर नेताहरूले केही नगर्दा युवा पुस्ता नै भरिया बन्न बाध्य छन्। अहिलेसम्म त भोट हालेर खासै उपलब्धि देखिएन। तै पनि हेर्दैछौं। विचार गर्दैछौं,’ उनी भन्छन्। 

युवाहरूहरूलाई सरकारले रोजगारीको प्रवन्ध मिलाउनुपर्ने उनले बताए। ‘रोजगारी पाइएन भने सधैं भोट हालेर पनि काम भएन नि ! योपालि चाहिँ विचार गरेरै नेताहरूलाई भोट हालिन्छ’, उनले भने। 
काभ्रेका अर्का भरिया यज्ञप्रसाद सापकोटाले देश भ्रष्टाचारको दलदलमा फसेको बताए। भने, ‘ठूलोबडाको काम तुरुन्त हुने। हाम्रो चाहिँ नहुने। जहाँ पनि घुस खुवाउनु पर्ने। घुस खुवाउने काम फटाफट हुने। अरूको नगर्ने। लखेटिदिने। भोलि आउ, पर्सि आउ भन्दै खेददिने। अनि चुनाव आउँदा पनि मत हाल्न मन लाग्दैन।’

‘नागरिकताको आधारमा मत हाल्न पाए हुन्थ्यो’

मेरो नाम कुमार नेपाली हो। घर, काभ्रे। महाबौद्धमा भारी बोक्न थालेको २ वर्ष भयो। सेन्टरजेल नजिकैको बोटेवालमा बस्छु। बिहान ५ बजे भारी बोक्न आउँछु। बेलुका ८ बजेपछि कोठा फर्किन्छु। केही काम आयो भने राति १० बज्छ।

भारी पाइयो भने २ हजारदेखि २५ सयसम्म हुन्छ। कहिले काम भएन भने बोहनी पनि हुँदैन। जग्गा जमिन बाँझै छ। भोट हाल्न ३० गते जाँदै छु। अढाई, तीन सय भाडा लाग्छ। आफ्नो सोचेर भोट हाल्छु। नागरिकता छ तर, भोटलिस्टमा नाम छैन। अस्ति नै बनाउनु पर्ने हो। तर, गल्ती भयो। नागरिकताको हिसाबले भोट दिनुपर्छ। किन भने नेपालमा बस्ने नागरिकताको प्रमाणपत्र छ भने दिनुपर्छ नि ! मतदाता परिचयपत्रमा नाम लेखाउनुपर्छ भनेर थाहै भएन।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.