ललितपुर-३ मा कांग्रेसको साथ पाए पम्फालाई सहज, चुनौती बन्दै डा.तोसिमा

ललितपुर-३ मा कांग्रेसको साथ पाए पम्फालाई सहज, चुनौती बन्दै डा.तोसिमा

काठमाडौं: प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । यो निर्वाचन क्षेत्रमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

भुसाल यसअघिको प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएकी थिइन् । यो निर्वाचन क्षेत्रमा २० जनाको उम्मेदवारी परेको छ । जसमध्ये ७  जना स्वतन्त्र उम्मेदवार छन् ।

०७४ सालको निर्वाचनमा ८६ हजार ४३९ मतदाता रहेकोमा २०७९ मा ९४ हजार ११६ मतदाता छन् । यो पटक गत निर्वाचनको तुलनामा ७ हजार ६७७ मतदाता थपिएका छन् । थपिएका मतदाता मध्ये अधिकांश २५ देखि ४० वर्ष उमेर समूहका छन् ।  यो क्षेत्रमा महिला मतदाताको संख्या ४८ हजार ८१० र पुरुष मतदाताको संख्या ४५ हजार ३०६ छ ।

६० वर्षीय भुसाल, ४९ वर्षीय खड्का, ३३ वर्षीय कार्कीसहित राप्रपाका निरञ्जन थापा, नेपाल मजदुर किसान पार्टीका नीरज लवजु, लोकतान्त्रिक समाजवादी पार्टीका किरण शाहीलगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रकी भुसालले २४ हजार ३६ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता मदनबहादुर अमात्याले २२ हजार ३२८ मत ल्याएका थिए । तेस्रो बनेका विवेकशील साझा पार्टीका उत्तमकृष्ण श्रेष्ठले ७ हजार ६२८ मत ल्याएका थिए । यस्तै, मालेका रामप्रसाद भट्टले २ हजार १ सय २१ मत ल्याएका थिए ।

एमालेका तर्फबाट यो क्षेत्रमा २०५१ र २०५६ सालमा रघुजी पन्तले चुनाब जितेका थिए । माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी भुसालले २०६४ सालको चुनाबमा एमालेका रघुजी पन्तलाई पराजित गरेकी थिईन ।

यसअघि  बामठबन्धनबाट चुनाव जितेकी भुसाल यो पटक कांग्रेससहितको गठबन्धनकी उम्मेदवार हुन् । झलनाथ खनाल नेतृत्वको सरकारमा भुसालले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरिन् । यस्तै केही समय माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेकी भुसालले प्रचण्ड र मोहन वैद्य विभाजन हुँदा बैद्यलाई रोजेकी थिइन् । पछि रामबहादुर थापा ‘बादल’ सहित पुनः माओवादीमा फर्किइन । भुसालसँगै फर्किएका रामबहादुर अहिले एमालेमा छन् । नेतृ भुसाल माओवादीभित्र अवसर पाउने नेतृको सूचीमा पर्छिन् ।

एमालेका खड्का ०५४ सालमा तत्कालीन सैँबु गाविस अध्यक्ष भएका थिए । केही समय व्यापार व्यवसाय र समाजसेवामा बिताएका खड्काको प्रतिनिधि सभामा यो पहिलो उम्मेदवार अनुभव हो । उनी युवा माझ लोकप्रिय छन् । एमालेको राम्रै पकड भएकाले उनलाई एमालेको मतसहित अन्य दलको मतसमेत तान्नुपर्ने चुनौती छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्की पेशाले चिकित्सक हुन् । नेपाल मेडिकल काउन्सिलको सदस्यमा निर्वाचित केसी सामाजिक अभियन्ताका रुपमा पनि सक्रिय छन् । चिकित्सा शिक्षाका अभियता डा.गोबिन्द केसीको आन्दोलनमा कार्की सक्रिय थिइन् । 

मेडिकल काउन्सिलको सदस्य भएर लाभको पदमा बसेको भन्दै तोसिमाको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । त्यसपछि कार्की पुनः उम्मेदवारी कायमको माग गर्दै सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चले उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेश दिएपछि अहिले उनी चुनावी प्रचारमा आक्रामक तरिकाले लागेकी छन् ।

यस्तो छ अंकगणित
यो निर्वाचन क्षेत्रमा ललितपुर महानगरको १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ नम्बर वडा, गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडा पर्छन् । यहाँको धेरै भुभाग शहरी क्षेत्रमा पर्छ भने थोरै भुभाग ग्रामीण छ।

गत स्थानीय तह निर्वाचनको मत परिणाम नियाल्दा ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनले ४२ हजार ७२२ मत ल्याएर निर्वाचित भएका थिए । महर्जनका प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५६० मत ल्याएका थिए । यो भन्दा अघि २०७४ को स्थानीय निर्वाचनमा पनि चिरिबाबुनै मेयरमा निर्वाचित भएका थिए ।

यस्तै उपमेयरमा एमालेका मञ्जली शाक्य बज्राचार्य २५ हजार ८४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी माओवादी केन्द्रका बाबुराम बज्राचार्यले १८ हजार ७५२ मत ल्याएका थिए ।

गत वैशाखमा सम्पन्न वडाध्यक्षले प्राप्त गरेको मत विश्लेषण गर्दा यो निर्वाचन क्षेत्रको पहिलो पार्टी कांग्रेस हो । कांग्रेसले १८ हजार ५४५ मत ल्याउँदा एमालेको १७ हजार ७६९ मत छ । एमालेभन्दा कांग्रेस ७७६ मतले अघि देखिन्छ । यस्तै माओवादी केन्द्रको ६ हजार ९५४, नेकपा एकीकृत समाजवादीको ६ हजार १०७, राप्रपाको ४ हजार ७४२ मत छ ।

ललितपुरको ४, १०,१४,२० र  २८, गोदावरीको १२ र १४ नम्बर वडामा कांग्रेस विजयी भएको थियो । यस्तै, ५,१५,१८,२२,२३,२४,२५ र २९ नम्बर वडामा एमाले विजयी हुँदा वडा २ र ३ मा नेकपा एकीकृत समाजवादी निर्वाचित भएको थियो ।

यस्तै, ललितपुरको २१, २६ र २७ नम्बर वडामा माओवादी केन्द्र विजयी भएको थियो भने वडा १ र १३ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

यो चुनावमा सत्ता गठबन्धनले माओवादीलाई उठाएका कारण माओवादी केन्द्र यो निर्वाचन क्षेत्रमा कमजोर देखिन्छ । माओवादीले जित हाँसिल गर्न कांग्रेस र नेकपा एकीकृत समाजवादीको मत तान्नुपर्ने हुन्छ । 

एमालेलाई कमजोर आँकलन गर्न सकिदैंन ।  एमालेले आफ्नो भोट प्राप्त गरी समाजवादी र कांग्रेसको मत तान्नुपर्ने देखिन्छ । राजनीतिक दलका पाका नेताप्रति जनतामा वितृष्णा जारी रहेका बेला कार्कीको उपस्थितिलाई केही बलियो मानिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.