महेश बस्नेतको छेउमा गठबन्धन फिक्का : ओली
भक्तपुर : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महेश बस्नेतको अगाडि गठबन्धन फिक्का हुने बताएका छन्।
युवा नेता तथा पोलिटब्युरो सदस्य महेश बस्नेत राष्ट्र बचाउने र मुलुक बनाउने नेता भएकाले उनले जित्ने दावी गर्दै ओलीले सो कुरा बताएका हुन्।
महेश बस्नेतको विरुद्धमा उम्मेदवारी दिने गठबन्धनका नेताहरू बाध्यताले मैदानमा उत्रिएको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले महेशसँग किन लड्ने भन्ने अवस्थामा पुगेको दावी गरे।
नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ 'क' प्रदेशसभा निर्वाचन परिचालन कमिटीले आज बालकोटमा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा नेता तथा पूर्वमन्त्री बस्नेत मुलुक संकट परेको समयमा जस्तोसुकै असहज परिस्थितीलाई समेत सहज रूपमा समाधान गर्न सक्ने एक डायनामिक लिडर भएको बताए।
भक्तपुरका लागि मात्र नभई मुलुकको नै नेतृत्व युवा नेता बस्नेतले गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले मुलुकले खोजेको भक्तपुर क्षेत्र नं. २ का जनताले रोजेको नेता भएको बताए।
महेशसँग हार्ने निश्चित भएपनि पार्टीका कारणले चुनावी मैदान छाड्न नमिलेको उनले उल्लेख गरे।
'महेश बस्नेत सानै उमेरमा सफल मन्त्रीको रूपमा स्थापित नेता हुन्। भक्तपुरका लागि मात्र नभई मुलुककै लागि आवश्यक युवा नेताको पहिलो नम्बरमा महेश बस्नेतको नाम आउँछ, उनले थपे।
भक्तपुर क्षेत्र नं. २ मा ७५ देखी ८० प्रतिशत जनताले महेश बस्नेतका लागि सूर्य चिह्नमा मतदान गर्नेमा विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले नेता बस्नेतले भक्तपुरमा भएको विकास र आगामी दिनको योजनाबाट आम नेपाली जनता नै हर्षित भएको दावी गरे।
उनले भने, '२०-२५ प्रतिशत त बहुदलीय व्यवस्था हो, अरूलाई जानुपर्छ। स्वतन्त्र उम्मेदवारले समेत महेश बस्नेत र एमालेलाई समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएका छन्।'
उनले गठबन्धनको सरकार बनेसँगै देशमा महंगीले जनतालाई ढाड सेकेको बताए। स्वार्थको बाँसुरी बजाएर गठबन्धन सरकार बसिरहेको उल्लेख गर्दै उनले जालझेलको राजनीतिलाई आगामी निर्वाचनबाट जाली फटाहालाई जनताले भोटमा लोप्पा खुवाई दिने बताए।