आधिकारिक उम्मेदवारबारे देउवा र प्रचण्डले मुख खोलेनन्
परासी : आधिकारिक उम्मेदवारबारे गठबन्धनका शीर्ष नेताहरूले मुख नखोलेपछि नवलपरासीका दुई पार्टीका नेता तथा कार्यकर्ताहरू अन्यौलमा परेका छन्।
नवलपरासीको क्षेत्र नं. १ मा आयोजना गरेको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एंव शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बर्दघाटको चौपाता पुगेका थिए।
केन्द्रीय गठबन्धनअनुसार क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेस र ‘ख’ मा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउने सहमति भएको थियो।
माओवादी केन्द्रले पाएको क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाएपछि दुई पार्टीबीच जिल्ला स्तरमा खटपट छ। खटपटकै कारण शीर्ष नेताहरू सहभागी कार्यक्रममा प्रदेशसभा ‘ख’ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रामानन्द यादव र कांग्रेसबाट उम्मेदवारी दिएका देवकरण कलवार उपस्थित नभएका हुन्।
चुनावी सभामा प्रदेशसभा ‘क’बाट उम्मेदवारी दिएका कांग्रेसका विश्वप्रेम पाठक भने सहभागी थिए। शीर्ष नेताहरूले यी दुई मध्ये कुनै एक उम्मेदवार कायम रहेको घोषणा गर्नेमा दुई दलका जिल्लास्तरका नेता र कार्यकर्ताहरू विश्वस्त थिए।
चुनावी सभामा माओवादी अध्यक्ष प्रचण्डले यस क्षेत्रमा गठबन्धनमा केही समस्या रहेकाले गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताए। तर प्रधानमन्त्री देउवाले भने उम्मेदवारी बारे मुखै खोलेनन्।
उनले त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट उठेका उद्योगपति विनोध चौधरीलाई जिताउन आग्रह गरे। सभामा उपस्थित नभएका माओवादी केन्द्रका उम्मेदवार यादवले पार्टी चुनावी सभामा कार्यकर्ता पठाउनु परेकाले आफू गाउँमै रहेको बताए।
माओवादी केन्द्रबाट यादवले उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका कलवारले पनि ‘रुख’ चिह्नबाटै उम्मेदवारी दिए पश्चात खटपट सुरु भएको हो।
सहमतिविपरीत उम्मेदवारी दिएको भन्दै माओवादीले उम्मेदवारी निष्क्रिय पारेर समर्थन गरेको घोषणा गर्न कांग्रेसलाई पटक पटक अनुरोध गरेपनि कलवारको उम्मेदवारी यथावत छ। दुवै जना आ-आफ्नो प्रचारमा जुटेका छन्।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएको कार्यक्रममा कुनै एक उम्मेदवार सहभागी भए एक अर्का दलले बिरोध गर्नेभएपछि दुबै जना उम्मेदवार नआएको बताइएको छ।
माओवादीका जिल्ला स्तरका नेताले कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवार आए कार्यक्रम बहिष्कार गर्ने र माओवादी केन्द्रका उम्मेदवार आए कांग्रेसका एक पक्षका नेता कार्यकर्ताले मञ्चमै विरोध जनाउने भएपछि दुवै जना उम्मेदवार नआएको स्रोतले बताएको छ।
कांग्रेसको एक पक्षका नेता कार्यकर्ता सहमतिअनुसार गठबन्धन घटककै माओवादी उम्मेदवार कायम हुनुपर्ने अडानमा छ।
जिल्ला स्तरका कांग्रेससहितको गठबन्धनका नेताहरूको बैठकले कलवारको उम्मेदवारीलाई बागीको संज्ञा दिएको छ।
उता कांग्रेसबाट उम्मेदवारी दिएका कलवारले आफू बिरामी परेर सभामा नगएको बताएका छन्।
गठबन्धनको खटपट र कांग्रेसभित्रको असन्तुष्टीले त्यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका विनोद चौधरी अप्ठ्यारोमा परेका छन्। चौधरीले टिकट पाएपछि कांग्रेसका एकपक्षका नेता तथा कार्यकर्ता असन्तुष्ट छन्।
त्यस क्षेत्रबाट चौधरीसँग जनता प्रगतिशिल पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठी एमालेसँगको तालमेलमा चुनावी प्रतिस्पर्धामा छन्। त्रिपाठीलाई जसपाले पनि समर्थन गरेको छ।
कांग्रेसको असन्तुष्ट पक्षले सहयोग नगर्ने र गठबन्धन घटक माओवादीले समर्थन नगरे उद्योगपति चौधरीलाई चुनावी प्रतिस्पर्धा कठिन देखिएको छ।
स्थानीय तह निर्वाचनको मत परिणामअनुसार एमाले, जसपा र जप्रपाको मत जोड्दा त्रिपाठीको पक्षमा ३४ हजार ९९९ रहेको छ। माओवादी केन्द्रबाहेक नेपाली कांग्रेससहितको गठबन्धनको मत जोड्दा चौधरीको पक्षमा ३१ हजार ७४१ रहेको छ।
माओवादीको मत चौधरीको पक्षमा नआए त्रिपाठी ३ हजार २५८ मतले अघि छन्। त्यस क्षेत्रमा माओवादीको मत ५ हजार ३४९ छ।