'भक्तपुर २ जित्ने पालो यो पटक कांग्रेसको'
भक्तपुर : सता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका दुर्लभ थापाले यो पटक यो क्षेत्रमा जित्ने पालो नेपाली कांग्रेसको रहेको बताएका छन्।
मंगलबार यहाँ भएको पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र नं २ मा पहिलादेखि नै निरन्तर कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पालैपालो जित्दै आएकोमा यो पटक कांग्रेसको पालो परेको बताए।
प्रजातन्त्र पुनर्स्थापनापछि यो निर्वाचन क्षेत्रमा २०४८ सालमा नेपाली कांग्रेसले जितेको थियो। त्यसपछि २०५१ को मध्यावधिमा नेमकिपाले जित निकाल्यो।
यसपछि २०५६ सालमा फेरि नेपाली कांग्रेस विजयी भयो। यसपछि २०६४ मा फेरि नेमकिपाले जित हासिल निकाल्यो। यसपछि फेरि २०७० मा नेपाली कांग्रेसले विजयी हासिल गरयो।
यसरी यो क्षेत्रमा नेपाली कांग्रेसले तीन पटक र नेमकिपाले दुई पटक जित निकाल्यो। २०७४ सालमा भने नेकपा एमालेले विजयी हासिल गरेको थियो। यस हिसावले यस पटक २०७९ मा पुनः कांग्रेसको पालो भएको थापाको भनाइ थियो।
उनले आफूहरु ६ हजार पाँच सय मतले अगाडि रहेको दावी पनि गरे।
पछिल्ल्लो स्थानीय निकायको निर्वाचण परिणामलाई आधार मान्ने हो भने दुई तीन हजारले अगाडि रहेको र अबको निर्वाचनमा कांग्रेस एक्लै नभई माओवादी र नेकपा एससहितको गठबन्धनको पनि भोट थपिने भएकाले झण्डै सात हजारको मत अन्तरले आफ्नो विजयी निश्चित भएको उनको तर्क थियो।