राजनीतिमा उमेर कि योग्यता ?
समय परिवर्तनशील छ। समयसँगै मानिसका विचार र व्यवहारहरू पनि परिवर्तनशील छन्। उमेर र जीवनका भोगाइ बढ्दै जाँदा हरेक विषयप्रतिको मानिसको दृष्टि र दर्शन अझ माझिँदै, खारिँदै स्पष्ट र सपाट बन्दै जान्छन्। विचारमा परिपक्वता र परिष्कृति उमेरले मात्रै ल्याउन सक्छ भन्ने अवश्य होइन। तर यसको ठूलो प्रभाव भने नकार्न सकिँदैन।
केही वर्षदेखि नेपाली राजनीतिमा नेतृत्व पुस्तान्तरणको निकै ठूलो बहस चलिरहेको छ। विशेष गरेर ठूला राजनीतिक दलहरूमा जोडतोडका साथ उठेको यो विषय आगामी मंसिर ४ गते हुन लागिरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै झनै बुलन्द भएको छ। सामाजिक सञ्जालका भित्तादेखि चिया पसल अनि अखबारका पृष्ठदेखि टेलिभिजनका पर्दासम्म उमेरको यो बहसले तातेका छन्। ‘बूढा नेताहरूले केही गर्न सकेनन्। यिनीहरूको कारण देश नै डुब्ने भयो। आउँदो निर्वाचनबाट यी नेताहरूलाई फालेर युवालाई नजिताएसम्म देश बन्न सक्दैन।’ भन्नेजस्ता भाष्य आज हरेक युवाका साझा एजेन्डा बनेको छ। तर के देश नबन्नुको मुख्य कारण नेतृत्वमा युवा नभएरै हो त ? राजनीतिमा उमेरको मात्र कुरा गरिरहँदा कतै हामीले योग्यतालाई चाहिँ नजरअन्दाज त गरिरहेका छैनौं ?
आफ्ना नेताले जिते व्यक्तिगत रूपमा केही फाइदा लिन सकिन्छ कि भन्ने सोचभन्दा माथि कार्यकर्ताहरू कहिले उठ्लान् ?
मानिसको समग्र जीवनलाई उमेरको आधारमा विभाजन गरेर हेर्ने हो भने विश्वभर यसमा फरकफरक अवधारणा रहेको पाइन्छ। छिमेकी मुलुक भारतले १५ देखि २९ वर्षबीचको उमेरसमूहलाई युवाको परिधिभित्र राखेको छ। संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्षसम्मको वर्गलाई युवा भनेको छ। हाम्रो देशमा भने राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षसम्मको जनसंख्यालाई युवा भनेर परिभाषित गरेको छ। तर यो मापदण्डले मात्रै युवाको परिभाषालाई पूर्ण गर्न भने सक्दैन। यसबाहेक युवा विचार हो, जोस, ऊर्जा र उत्साह हो। जस्तोसुकै कार्य पनि गर्न सक्छु भन्ने उच्च आत्मविश्वासले भरिएको अदम्य साहस हो युवा। हरेक कार्यलाई रचनात्मक र सिर्जनात्मक ढंगले गर्न सक्नु नै युवा हुनु हो। परेको बखत राष्ट्रका लागि बलिदानी गर्नसमेत पछि नहट्ने हिम्मत हो युवा। युवा अग्रगमन हो जो सकारात्मक परिवर्तनका लागि सदैव तयार रहन सक्छ। यी गुणहरू नै युवाको परिचय हो। नेतृत्वमा युवा चाहिन्छ भन्दै आफूलाई उभ्याउने नेताहरू स्वयं चाहिँ युवाको यो परिभाषा भित्र पर्छन् त ?
हाम्रा प्रमुख राजनीतिक दलभित्रका आफूलाई युवा भन्ने दोस्रो तथा तेस्रो पुस्ताका नेताहरू स्वयं पनि पुराना पुस्ताभन्दा प्रतिस्पर्धी, उत्कृष्ट र योग्य देखिन सकेका छैनन्। युवा हुनु नै राजनीतिका लागि योग्य हुनु हो भन्ने बुझाइ यो पुस्ताका नेताहरूमा देखिन्छ। यी नेताहरू केही आफ्नो दलका महत्वपूर्ण पदहरूमा बसिसकेका छन् भने केही त संघीय मन्त्रीसमेत भइसकेका छन्। तर त्यो बखत उनीहरूले देखाएको कार्यशैली र व्यवहारले जनतामा आशाको नयाँ किरण छर्न सकेन। जनताले युवा भनेर यो पुस्ता माथि गरेको विश्वासलाई उनीहरूले कायम राख्न सकेनन्। उनीहरूले न कुनै नयाँ सोच नै अघि सार्न सके न त विद्यमान विकृत राजनीतिलाई सुधार्ने कोसिस नै गरे।
तर के देश नबन्नुको मुख्य कारण नेतृत्वमा युवा नभएरै हो त ? राजनीतिमा उमेरको मात्र कुरा गरिरहँदा कतै हामीले योग्यतालाई चाहिँ नजरअन्दाज त गरिरहेका छैनौं ?
निर्वाचन नजिकिँदै गरेको यो परिप्रेक्ष्यमा सबैजसो राजनीतिक दलका युवा कार्यकर्तालाई पनि हेरौं। आफ्नो दल र दलका नेतालाई जिताउनेभन्दा दोस्रो उद्देश्य अधिकांश कार्यकर्तासँग केही पनि छैन। आफ्नो नेताको विचार र सिद्धान्त ठिक छ कि छैन ? राष्ट्र र जनताका लागि उनीहरूले काम गरेका छन् कि छैनन् ? इमान र निष्ठाको सवालमा उनीहरू कस्ता छन् ? राजनीतिलाई सही दिशानिर्देश गर्न उनीहरू सक्षम छन् कि छैनन् ? भन्नेजस्ता यावत् प्रश्नहरूलाई विचार नै नगरी युवा कार्यकर्ता नेताको पछि कुदेका देखिन्छन्। आफ्ना नेताले जिते व्यक्तिगत रूपमा केही फाइदा लिन सकिन्छ कि भन्ने सोचभन्दा माथि कार्यकर्ताहरू कहिले उठ्लान् ? नेताहरूले जतिसुकै गलत कार्य गरेता पनि खबरदारी गर्न नसक्ने, बरु उल्टै उनीहरूप्रति नै नतमस्तक भइदिने प्रवृत्तिबाट युवा कार्यकर्ता आज पनि मुक्त रहन सकेका छैनन्। अनि आजका यिनै युवा कार्यकर्ता नै भोलिका नेता होइनन् र ? अनि यस्ता युवाबाट देशले के नै आशा गर्न सक्छ र ?
भनिन्छ, उमेरले योग्यता निर्धारण गर्न सक्दैन। आफ्नो जीवनको उत्तरार्धमा पनि सक्रिय र अर्थपूर्ण जिन्दगी बाँच्नेहरू यहाँ कम छैनन्। उमेर ९९औं वसन्तमा हिडिँरहँदा हाम्रा राष्ट्रकवि माधवप्रसाद घिमिरे भने ऋतम्भरा महाकाव्य लेखिरहेका थिए। १०२ वर्षको उमेरमा पनि शताब्दी पुरुष सत्यमोहन जोशी विभिन्न पुस्तकको समीक्षा र भूमिका लेख्न व्यस्त थिएँ। ७९ वर्षको उमेरमा जो बाइडेन संयुक्त राज्य अमेरिकाजस्तो शक्तिशाली मुलुकको प्रमुख र संवेदनशील राष्ट्रपतिको पदमा सक्रिय छन्। नयाँ महाशक्तिको रूपमा उदाउँदै गरेको भारतलाई ७२ वर्षका नरेन्द्र मोदीले नेतृत्व गरिरहेका छन्। अर्को शक्तिशाली मुलुक रसियालाई ७० वर्षे भ्लादिमिर पुटिनले हाँकिरहेका छन्। ६९ वर्षका सी जिन पिङले महाशक्ति चीनलाई आफ्नो नेतृत्वमा हिँडाइरहेका छन्। महŒवपूर्ण कुरा त यो छ कि यी चारै विश्व राजनीतिमा असाधारण प्रभाव राख्न सक्ने देशहरू हुन्। यिनीहरूले गरेको निर्णयले विश्व एकपटक तरंगित बन्न पुग्छ।
राजनीतिमा उमेर कि योग्यता भनिरहँदा मानिसमा हुने इमोसनल इन्टेलिजेन्स अर्थात् भावनात्मक बुद्धिलाई बेवास्ता गर्न सकिन्न। राजनीतिक नेतृत्वका लागि त झन् यो महŒवपूर्ण र विचारणीय विषय हो। भावनात्मक बुद्धि भन्नाले आफूले आफैंभित्र नियालेर आफ्नो भावनालाई राम्रोसँग बुझी त्यसको सही प्रयोग र व्यवस्थापन गर्नु हो। आफ्नो भावनालाई नियन्त्रण गरी अन्य व्यक्तिसँगको सम्बन्ध सुमधुर बनाउँदै स्वयं अनि वरपरको वातावरणलाई समेत उत्प्रेरित बनाइराख्नु नै भावनात्मक बुद्धि हो। एउटा मानिस आफ्नो दैनिकीमा आउने तनावलाई कसरी व्यवस्थापन गर्छ ? अरूसँग कसरी कुरा गर्छ ? आफ्नो काममा ऊ कस्तो छ भन्नेबाट उसमा भावनात्मक बुद्धि कति छ ? भन्ने कुरा थाहा हुन्छ।
तर के देश नबन्नुको मुख्य कारण नेतृत्वमा युवा नभएरै हो त ? राजनीतिमा उमेरको मात्र कुरा गरिरहँदा कतै हामीले योग्यतालाई चाहिँ नजरअन्दाज त गरिरहेका छैनौं ?
पछिल्ला केही अध्ययनले मानिसमा उमेर बढेसँगै भावनात्मक बुद्धिमा पनि वृद्धि हुने कुरा देखाएको छ। यसको ठिक विपरीत प्रारम्भिक चरणका युवामा भने भावनात्मक बुद्धिको तह कम हुने र यसले गर्दा उनीहरू आफ्नो भावनालाई नियन्त्रण गर्न नसकी सानोसानो कुरामा पनि आक्रामक भइहाल्ने हुन्छन्। जुनसुकै विषयमा पनि सोचविचार नगरी तुरुन्त प्रतिक्रिया दिइहाल्नुपर्ने यस्ता युवाहरू आफ्नो कुरा अरूले नसुने वा नमाने तत्काल रिसाइहाल्ने गर्छन्। प्रायः उनीहरू ‘रिजेक्सन’ सुन्न नसक्ने किसिमका हुन्छन्। मनोविज्ञानको दृष्टिबाट हेर्दा भावनात्मक बुद्धि कम हुनाकै कारण प्रारम्भिक उमेरका युवाहरू राजनीतिका लागि तुलनात्मक रूपमा त्यति उपयुक्त देखिँदैनन्।
विगत केही वर्षदेखि प्रतिदिन झन्झन् बिग्रिँदै गएको नेपाली राजनीतिक नेतृत्वले खोजेको उमेर होइन योग्यता हो। विचार र दृष्टिकोण हो। अनेक सम्भावना भएर पनि नेपाल सधैं पछि परिरहनु, गरिब नै भइरहनु, नेतृत्वमा युवा नभएर होइन, योग्य नभएर हो। २००७ सालको प्रजातन्त्र बहालीदेखि आजसम्मका प्रधानमन्त्रीहरूमा केही अपवादबाहेक सबै अयोग्य नै रहे। उनीहरूले देश विकास र जनहितका लागि स्पष्ट खाका दिन सकेनन्। यीमध्ये केही त आफ्नो अधबैंसे उमेरमै देशको प्रधानमन्त्री भएका थिएँ। तर पनि उनीहरूले आफ्नो उमेरको प्रभाव राजनीतिमा देखाउन सकेनन्। दिनानुदिन देश कमजोर हुँदै जाने तर आफू र आफ्ना सधैं बलियो भइरहने गलत राजनीतिक संस्कार उनीहरूको रह्यो।
कुनै बेला यस्तो पनि थियो जतिबेलाको नेतृत्व शारीरिक रूपमै बलिष्ठ र बहादुर हुन आवश्यक हुन्थ्यो। बाह्य आक्रमण वा युद्धको समयमा राष्ट्र प्रमुख आफैं तरबार बोकेर उक्त युद्धको नेतृत्व गर्नुपथ्र्यो। युनान सम्राट् सिकन्दर महानले यही गरे। हाम्रो राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले पनि यही गरे। तर आज युग फेरिएको छ। हिजोको त्यो अवस्था र आजबीच धेरै नै भिन्नता आइसकेको छ। आजको नेतृत्व विचारवान् हुन आवश्यक छ। दिनप्रतिदिन जटिल र संवेदनशील हुँदै गएको विश्व व्यवस्थामा आफ्नो राष्ट्रका मूल्य र मान्यतालाई अक्षुष्ण राख्न सक्ने योग्यता हुन जरुरी छ। पदीय मर्यादा र ओजलाई भलिभाँती बुझेको विवेकी नेतृत्व आजको माग हो। यी गुणहरू भएमा कानुनले तोकेको उमेर पूरा गरेको जुनसुकै उमेरसमूहका मानिसले पनि राजनीतिको नेतृत्व गर्न सक्नेमा दुई मत छैन।
लोकतन्त्रमा देशको राजनीतिक नेतृत्व कस्तो बनाउने भन्नेमा सबैभन्दा महत्वपूर्ण भूमिका हामी जनताकै हुने गर्छ। त्यसैले आउँदै गरेको निर्वाचनमा विवेक प्रयोग गरी, कुनै आग्रह वा पूर्वाग्रहबिना उम्मेदवारको उमेर होइन, योग्यता हेरेर आफ्नो अमूल्य मतदान गरौं।