पोल्याण्डमा खसेको मिसाइल युक्रेनले प्रहार गरेको अमेरिकी अधिकारीको दावी
वासिङटन : एसोसिएटेड प्रेस एजेन्सीको एक रिपोर्टले तीन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार पोल्याण्डमा खसेको रुसी मिसाइल युक्रेनले प्रहार गरेको जनाएको छ।
सार्वजनिक रूपमा बोल्ने अधिकार नभएकाले उनीहरुले आफ्नो नाम नछाप्ने सर्तमा उक्त जानकारी दिएका हुन्। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डमा खसेको क्षेप्यास्त्र रुसले प्रक्षेपण गरेको सम्भावना नरहेको बताएका थिए ।
मंगलबार दिउँसो पोल्याण्डको भूभागमा ‘रुसी क्षेप्यास्त्र’ खसेको थियो, जसका कारण सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको थियो । उक्त गाउँ युक्रेन र पोल्याण्डको सिमानामा र लिभ सहरको उत्तरमा छ।
पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गरेको हो भन्ने बारे कुनै 'निर्णायक प्रमाण' नभएको बताएको छ। यो क्षेप्यास्त्र रुसी भए पनि दुबै पक्षले युद्धमा रुसी युद्ध सामग्री प्रयोग गरेका छन् ।
पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता लुकाज जसिनाले पोल्याण्डका लागि रुसी राजदूतलाई घटनाको 'तत्काल विस्तृत स्पष्टीकरण' दिन बोलाइएको बताए।
रुसले भने आक्रमणको खण्डन गरेको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, 'रुसले युक्रेनी-पोलिश राज्य सीमा नजिकका कुनै पनि स्थानमा आक्रमण गरेको छैन।' बीबीसी