कर्मचारी चुनावमा खटेपछि नागरिकता वितरण बन्द
नुवाकोट: आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कर्मचारी खटिएपछि रसुवाका विभिन्न कार्यालयमा कर्मचारी अभाव भएको छ ।
कर्मचारी अभाव भएका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरणलगायतका कार्यस्थगन गरेको छ ।
प्रशासनले सार्वजनिक सूचनामार्फत् नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता तथा नवीकरणलगायतका सबै सेवा मंगलबारदेखि आगामी मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव हुँदा निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको रसुवा प्रशासनले जनाएको छ ।
निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गर्न स्थानीय प्रशासन क्रियाशील रहेको र निर्वाचन कार्य सम्पन्न नभएसम्म जिल्लाभर मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । उनका अनुसार रसुवाको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुका साथै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन सफल बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं नेपाली सेना विष्णु दल गणले गस्ती गरिरहेको छ। लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ विष्णुदल गणले निकुञ्ज क्षेत्रमा गर्नुपर्ने आफ्नो जिम्मेवारीका साथसाथै स्थानीय प्रशासनको आदेशमा विविध सुरक्षा सेवासमेत प्रदान गर्दै आएको छ ।
आसन्न निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ । पाँच गाउँपालिका रहेको हिमाली रसुवामा ५२ मतदान केन्द्र छन् ।