सीमामा नेपाल र भारत सुरक्षाकर्मीको संयुक्त गस्ती
बैतडी : भारतसँग सिमाना जोडिएको बैतडीमा निर्वाचन सुरक्षामा कडाइ गरिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार २५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछन् । यसैगरी सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती बढाएको छ । जिल्लाको पञ्चेश्वर र शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाको महाकाली किनारमा सशस्त्र प्रहरीले गस्ती बढाएको हो ।
मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै नियमित गस्ती भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ५१ गुल्म बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक, गंगादत्त पन्तले जानकारी दिए ।
बैतडीमा रहेको तीनवटै बीओपीबाट नियमित गस्ती भइरहेको उनले बताए । भारतीय पक्षसँग पनि समुन्वय गरेर संयुक्त गस्ती पनि भइरहेको उनले बताए ।
बैतडीको झुलाघाटसहितका नाकाहरु मंसिर १ गते राति १२ बजेपछि बन्द रहनेछन् । बैतडीको झुलाघाट र नेपाल–भारत ओहोरदोहोर गरिने पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा रहेका घाटहरु पनि बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्वाचनलाई स्वक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सिमानाका सिल गरिनुका साथै आवश्यक सतर्कता अपनाइएको हो ।