धनुषा-३: जित्नेमा जुली ढुक्क, अनिललाई विमलेन्द्रको भर

धनुषा-३: जित्नेमा जुली ढुक्क, अनिललाई विमलेन्द्रको भर

काठमाडौंः प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ को चुनावी माहौल रोचक बन्ने देखिएको  छ। यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका जुलीकुमारी महतो(महासेठ), लोकतान्त्रिक समाजवादी पार्टीका अनीलकुमार झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

झा गठबन्धनका साझा उम्मेदवार हुन् । यो निर्वाचन क्षेत्रमा ३१ जनाको उम्मेदवारी परेको छ । जसमध्ये २१ जना स्वतन्त्र उम्मेदवार छन् ।

२०७४ सालको निर्वाचनमा ९७ हजार ५०२ मतदाता रहेकोमा २०७९ मा १ लाख १४ हजार ९ मतदाता छन् । यो पटक गत निर्वाचनको तुलनामा १६ हजार ५०७ मतदाता थपिएका छन् । थपिएका मतदाता मध्ये अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन् ।  यो निर्वाचन क्षेत्रमा पुरुष मतदाता ६२ हजार ८७ र महिला मतदाता ५१ हजार ९१९ छन् ।

४६ वर्षीय महतो, ५५ वर्षीय झा सहित राप्रपाका रामपदारथ मण्डल, जनमत पार्टीका शम्भुनाथ साह लगायतको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतोले ३० हजार ७५० मत प्राप्त गर्दै यो क्षेत्रबाट निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता बिमलेन्द्र निधिले २७ हजार ८४७ मत ल्याएका थिए । जसपा फुटेपछि महतो हाल लोसपामा छन् ।  तेस्रो माओवादी केन्द्रका रामसिंह यादव भएका थिए । उनले २ हजार ३४६ मत ल्याएका थिए । 

यो पटक महतो सर्लाही क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा भिडेका छन् भने निधि समानुपातिकको बन्दसूचीमा छन् । 

विसं २०७४ को निर्वाचनमा झा रौतहट-१ बाट निर्वाचित भएका थिए । यसपटक सो क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनका साझा उम्मेदवार बनेपछि झा धनुषा–३ मा चुनाव लड्न आएका हुन् । झासँग प्रतिस्पर्धा गरिरहेकी जुली यसअघि पनि सो क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् । उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन् ।
 
जुलीकुमारी अनेरास्ववियुमा आबद्ध भएर राजनीति सुरु गरेकी नेतृ हुन् । २०५७ सालमा एमाले जिल्ला कमिटि सदस्य भएकी जुलीकुमारी २०७४ मा केन्द्रीय सदस्य बनेकी थिइन् । संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्य भएकी थिइन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पुनः एमालेकै तर्फबाट समानुपातिक सदस्य भएकी जुली २०७८ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनिन् । 

स्वर्गीय नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा लागेका अनिल वि.सं. ०५६ मा सद्भावना पार्टीको सहमहासचिव बनेका थिए । उनी क्रमशःनेपाल सद्भावना पार्टी, संघीय सद्भावना पार्टीको अध्यक्ष, राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य हुँदै अहिले लोसपाका कार्यकारणी सदस्य छन् । 

मधेसमा २०७२ को मधेस आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । संविधान सभा सदस्यको हैसियतले संविधान लेखन कार्यमा पनि सरिक भएका थिए । झा नेपाल आयल निगमको कार्यकारी निर्देशक, उद्योगमन्त्री, संविधानसभा सदस्य पनि भए । २०७४ को निर्वाचनमा अनिल रौतहट क्षेत्र न १ बाट प्रतितिनधिसभा सदस्यमा निर्वाचित भएका थिए । झाको पैतृक गाउँ रौतहटको मत्सरी हो । 

मधेस र मधेसीको मुद्दालाई केन्द्रमा राखेर झा राजनीतिमा उदाएका नेता हुन् झा । २०४१ सालामा एसएलसी गरेका झाले वीएससी सम्मको उच्च शिक्षा हासिल गरेका छन् । 

यस्तो छ अंकगणित
यो निर्वाचन क्षेत्रमा जनकपुर उपमहानगर १, २, ३, ४, ५, ६, ७, ८, १०, ११, १२, १५, १६, २०, २३, २४ र २५ नम्बर वडा पर्छ । यस्तै, विदेह नगरपालिकाको ९, नगराईन नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका पर्छ । 

स्थानीय तहमा वडाध्यक्षले प्राप्त गरेको मत नियाल्दा यो निर्वाचन क्षेत्रको पहिलो राजनीतिक दल कांग्रेस हो । कांग्रेसले धोका नदिए लोसपालाई जितको सम्भावना रहेको राजनीतिक विश्लेषक बताउँछन् ।

कांग्रेसले २१ हजार ६४७ मत प्राप्त गरेको थियो भने एमालेले १६ हजार १८३ मत ल्याएको थियो । यस्तै, लोसपाले ८ हजार ६७३ र जसपाले ८ हजार ५९ मत प्राप्त गरेको थियो । नेकपा एकीकृत समाजवादीले तीन हजार ५०२, जनमत पार्टीले २ हजार ३६८ र माओवादी केन्द्रले ५२७ मत ल्याएको थियो । 

यहाँ एमाले एक्लै भिँड्दैछ भने सत्ता गठबन्धनमा  कांग्रेस, लोसपा, नेकपा एस र माओवादी केन्द्र छन् । एमाले एक्लैको १६ हजार १८३ मत ल्याएको थियो भने गठबन्धनको जोड्दा ३० हजार ८४७ मत हुन्छ । 

गत स्थानीय तह निर्वाचनको मत परिणाम नियाल्दा जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह १३ हजार ४६५ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका शिवसंकर साहले ९ हजार ५३२ मत ल्याएका थिए ।
 
यस्तै, धनौजी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजकुमार साहले २ हजार २६२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी लोसपाका जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएका थिए ।

नगराईन नगरपालिकाको मेयरमा कांग्रेसका विनयकुमार यादवले ५ हजार ५५६ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मत ल्याएका थिए ।

यस्तै, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपाका जयकुमार यादवले ५ हजार ४१० मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी कांग्रेसका रामबाबु यादवले २ हजार ४५५ मत ल्याएका थिए ।

यो चुनावमा सत्ता गठबन्धनले लोसपालाई उठाएका कारण लोसपा यो निर्वाचन क्षेत्रमा कमजोर देखिन्छ । लोसपाले जित हाँसिल गर्न कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको मत तान्नुपर्ने हुन्छ । एमालेलाई कमजोर आँकलन गर्न सकिँदैन ।  एमालेले आफ्नो भोट प्राप्त गरी समाजवादी र कांग्रेसको मत तान्नुपर्ने अवस्था छ । 

रौतहटबाट धनुषा आएर उम्मेदवारी दर्ता गराएका झाका लागि जुलीलाई पराजित गर्न सहज हुने देखिँदैन । यसका साथै धनुषा ३ का मतदाताको विश्वास जित्नु पनि उनका लागि चुनौती छ । गठबन्धन मध्ये कांग्रेसको लागि यो आधार क्षेत्र हो । गठबन्धनको मत र कांग्रेस नेता निधिको भूमिकाले झाका पक्षमा कति मत भन्ने निर्क्यौल हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.