रूपन्देहीको सिमानामा किन खटिए जेनी र जुजु ?
भैरहवा : आगामी मंसिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै रूपन्देही प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ।
शान्त वातावरणमा निर्वाचन सम्पन्न गराउन जिल्लाभर सुरक्षाकर्मी परिचालन गरिएको छ।
त्यस्तै सीमानाकाबाट हुने सक्ने अपराध नियन्त्रणका लागि प्रहरीले 'डग स्नाइपिङ' गराउन सुरु गरेको छ।
अन्तराष्ट्रिय विमानस्थलबाट निमियत सेवा नभएको अवस्थामा विमानस्थलमा खटिएका कुकुरलाई सीमा क्षेत्रमा 'स्नाइपिङ' गराउन थालिएको छ।
'जेनी' हातहतियार, विष्फोटक पदार्थ लगायत वस्तु पत्ता लगाउन तालिम प्राप्त कुकुर हो भने 'जुजु' लागूऔषध जस्ता वस्तु पत्ता लगाउनमा सक्षम रहेको रूपन्देही प्रहरीले जनाएको छ।
'आगामी निर्वाचनलाई शान्त र भयरहित ढंगले सम्पन्न गराउने योजना अनुसार प्रहरीहरू तैनाथ गरेका छौँ' रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले भने, 'खुल्ला सीमा भएकाले सीमाबाट हुन सक्ने सम्भावित अपराध नहुन दिनका लागि पनि सजगता अपनाएका छौँ।'
निर्वाचनलाई मध्यनजर गर्दै मंसिर १ गते मध्यरातदेखि मंसिर ४ गते मध्यरात १२ बजेसम्म रूपन्देहीको सिमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ।