बर्दियामा गठबन्धनलाई पछ्याउँदै एमाले
गुलरिया : बर्दियामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
बर्दिया क्षेत्र नं. १ मा कांग्रेसका सञ्जय गौतम, एमालेका लक्ष्मणराज ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालका रेशमबहादुर खत्री, नेपाल मजदुर किसान पार्टीका हरिलाल न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसाल, जनमत पार्टीका सोहराव पठान, नेश्नलिष्ट पिपल्स पार्टीका रामरतन थारु, नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारु र स्वतन्त्र देवीप्रसाद तिवारी उम्मेदवार छन्। सत्ता गठबन्धनको साथ पाएर गौतम अरूभन्दा बलियो छन्।
गुलरिया, बाँसगढी, बढैयाताल र बारबर्दियाको ८ वटा वडा रहेको बर्दिया क्षेत्र नं. १ मा वाम–लोकतान्त्रिक गठबन्धनका दलले स्थानीय तहमा वडाध्यक्षमा ५९ हजार १३० मत ल्याएका छन्। जबकी एमालेका वडाध्यक्षले ल्याएको मत ३६ हजार ९१८ मात्र छ। गठबन्धन र एमालेबीच २२ हजार २१२ मतान्तर छ। बाँकी मत अन्य दल तथा स्वतन्त्रले प्राप्त गरेका छन्। कांग्रेसका गौतम सुखी र समृद्ध नेपाल बनाउने, हाम्रो बर्दियालाई राम्रो बर्दिया बनाउने मेरो अभियानलाई पूर्णता गर्न पनि मलाई भोट दिनुपर्छ। एमालेका उम्मेदवार ज्ञवाली बर्दियाका विकास निर्माणका समस्या समाधान गर्दै बबई नदीको जब्दीघाटमा पुल र नदीमा तटबन्धन गर्नका लागि आफूलाई जिताउनुपर्छ भनिरहेका छन्।
स्थानीय तहमा ल्याएको मतका आधारमा बर्दिया क्षेत्र नं. २ मा पनि गठबन्धन नै बलियो देखिएको छ। प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका सुरेश पन्थ, एमालेका पंकजसिंह राठौर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय रावल, नेपाल मजदुर किसान पार्टीका धर्मराज जैसी आचार्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अनिरुध्या आर्य, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश बसौला, स्वतन्त्र रामप्रसाद आचार्य र लालवीर चौधरी उम्मेदवार छन्। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पन्त र एमालेका राठौरबीच नै मुख्य प्रतिस्पर्धा छ।
ठाकुरबाबा, मधुवन, राजापुर, गेरुवा र बारबर्दियाको तीन वटा वडा रहेको बर्दिया क्षेत्र नं. १ मा वाम–लोकतान्त्रिक गठबन्धनका दलले स्थानीय तह निर्वाचनमा मत वडाध्यक्षको ६८ हजार ८३७ र एमालेको २३ हजार ३२० रहेको छ। ४५ हजार ५१७ मतको फरक छ। माओवादी केन्द्रका उम्मेदवार पन्थ बर्दिया जिल्ला कृषिको उर्वरा जमिन भएको र कृषिमा आधुनिकीकरण आवश्यक रहेको र इच्छाले होइन शिक्षाले खेती गर्ने उत्पादन मुलक कृषिका लागि पहल र प्रतिबद्धता जाहेर गरेकाले जित्ने दाबी गर्छन्। एमाले उम्मेदवार पंकज सिंह राठौर जनताहरू कृषिमा आश्रित भएकाले सिँचाइ, मल, बीउका समस्या समाधान गर्ने मेरो एजेन्डा भएकाले आफूलाई जिताउन आवश्यक रहेको बताउँछन्। यी दुवै उम्मेदवारलाई कांग्रेस पृष्ठभूमिका राप्रपाका युवा नेता विनय रावलले टक्कर दिइरहेका छन्। रावल भन्छन्, ‘विकासका लागि सडक पूर्वाधार, पर्यटन, युवा स्वरोजगार, नदी नियन्त्रण लगायतका एजेन्डा लिएर म निर्वाचनमा आएकाले आफू जित्नेमा ढुक्क छु।’
बर्दियाका ८ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ५ वटामा (गुलरिया, ठाकुरबाबा, बारबर्दिया, मधुवन ४ नगरपालिका र गेरुवा गाउँपालिका)मा जितेको छ। नेकपा (माओवादी केन्द्र) २ स्थानीय तह (राजापुर नगरपालिका र बढैयाताल गाउँपालिका) जितेको छ। नेकप एमालेले बाँसगढी नगरपालिकामा नगर प्रमुख, उपप्रमुखका साथै ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकामा उपाध्यक्ष जितेको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमा ३ लाख १५ हजार २८४ मतदाता छन्। स्थानीय तहको मतमा पाँच दलीय सत्ता गठबन्धन बलियो छ भने दुबै निर्वाचन क्षेत्रमा एमालेले गठबन्धनलाई पछ्याइरहेको छ।