झापा-३: अंकगणितले लिङ्देन अगाडि, विपक्षीको मत तान्ने सिटौलाको दाउ

झापा-३: अंकगणितले लिङ्देन अगाडि, विपक्षीको मत तान्ने सिटौलाको दाउ

झापा: मतदानको मिति आउन अब तीन दिन बाँकी छ । चुनावी प्रचारमा रहेका राजनीतिक दल र उम्मेदवारको प्रचारको आज अन्तिम दिन हो । प्रचारको महत्वपूर्ण दिनलाई सदूपयोग गर्दै उम्मेदवारले सकेसम्म धेरै मतदातालाई आफ्नो पक्षमा पार्ने कोशिस गरिरहेका छन् ।

निर्वाचन प्रचार तथा उम्मेदवारको तीव्र प्रतिस्पर्धाले झापा-३ को चर्चा देशभर छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् ।

लिङ्देन र सिटौलाबाहेकका अन्य दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको चर्चा धेरै नभएको स्थानीय बताउँछन् । चुनावी अभियानदेखि अन्य गतिविधिमा एक धार लिङ्देन र अर्को धार सिटौला जस्तो देखिएको स्थानीयको भनाइ छ । 

 
एमालेसँग चुनावी तालमेल गरी राप्रपाका अध्यक्ष लिङ्गदेन अघि बढिरहेको अवस्थामा सत्तारुढ गठबन्धन (नेकपा माओवादी र एकीकृत समाजवादी)को साथ लिएर कांग्रेस नेता सिटौला चुनावी मैदानमा होमिएका छन् ।
 
दुवै शीर्ष नेताको जित्ने दावी छ । एक अर्कोलाई हराउने गरी दुवै नेता खुलेर प्रचारमा जुटेका छन्। सिटौला २०७४ सालको हारको बदला लिने योजनामा छन् भने लिङ्गदेन विजयी यात्रालाई दोहोर्‍याउने रणनीतिका साथ चुनावी मैदानमा छन् । केन्द्रीय राजनीतिमा अहिलेको उपस्थितिलाई मजबुद बनाउन लिङदेन र सिटौला दुवैलाई जित्नै पर्ने दबाब छ । 

यो दबाबले चुनावी सभासम्मेलन पनि एकले अर्कोलाई चुनौती दिने गरी सञ्चालन भइरहेका छन् । चलायमान मतलाई कसरी आफ्नो पक्षमा ल्याउने, विपक्षीको मत आफ्नो पक्षमा कसरी तान्ने भन्ने रणनीतिमा दुवै नेताले आफ्ना कार्यकर्तालाई परिचालन गरेका छन् । 

यस्तो छ चुनावी अंकगणित 
झापा-३ को चुनावी नतिजाको अनुमान अहिले चोकचोकमा भइरहेको छ । सिटौला र लिङदेन दुवैका पक्षमा समान सम्भावना र चुनौतीको बहस हुने गरेको छ । 

जनताले दुई नेता बारे गरेको टिप्पणीलाई आधारमान्दा पूर्वानुमान त्यति सजिलो छैन । त्यो मतदाताको मनस्थितिमा भर पर्ने कुरा हो । तर, चुनावी पूर्वानुमानलाई गत बैशाख ३० गते सम्पन्न स्थानीय तह  निर्वाचनको मत परिणामलाई आधार मान्दा संगठनको सबै मत उही ठाउँमा आए लिङ्देनलाई केही सहज देखिन्छ । 
झापा– ३ मा कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका र बाह्रदशी गाउँपालिकाका सबै वडा, भद्रपुर नगरपालिकाको १ देखि ८ नम्बर वडा र बिर्तामोड नगरपालिकाको १० नम्बर वडा पर्छन् । यो निर्वाचन क्षेत्रमा २८ वटा वडा छ । निर्वाचन आयोगको अद्यावधिक तथ्यांक अनुसार यो क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता छन् । 

स्थानीय तहको मत परिणाम अनुसार राप्रपा र एमाले गठबन्धन अगाडि छ ।
 
वडा अध्यक्षमा निर्वाचित भएको मत परिणाम अनुसार २८ वडामध्ये १६ वडामा कांग्रेस विजयी भएको छ, भने माओवादी दुई वडामा निर्वाचित भएको छ । वडा अध्यक्षतर्फ सत्तारुढ गठबन्धन १८ र बाँकी १० मा मात्र एमाले र राप्रपाले वडामा जितेको हो । त्यसैलाई आधार मान्ने हो भने सत्तारुढ गठबन्धन पनि बलियो स्थितिमा देखिन्छ । 

स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनले भद्रपुर, बाह्रदशी र बिर्तामोडमा चुनावी तालमेल गरेका थिए । हल्दिबारी र कचनकवलका वडाहरिमा भने छुट्टाछुट्टै चुनाव लडेका थिए । २८ वडामा पाएका वडा अध्यक्षहरूको मत जोडा एमाले २१ हजार ८५, काँग्रेस २५ हजार ९४९, राप्रपा २१ हजार १५९ मत र माओवादी केन्द्र ६ हजार ५८५ मत पाएका थिए । 

एमाले र राप्रपासँग ४२ हजार २४४ मत छ, भने सत्तारुढ गठबन्धन कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग ३२ हजार ६३४ मत छ । दुवै मतको तुलना गर्दा एमाले र राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका लिङ्देन ९ हजार ६१० मतले अगाडि छन् । 

२०७४ सालको निर्वाचन भन्दा यस पल्ट सिटौलाले यस क्षेत्रमा धेरै सुधार गरेकोले स्थानीय तहमा राम्रो नतिजा ल्याउन सफल भएको र त्यसको प्रभाव पर्ने सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
 
स्थानीय तहभन्दा आम निर्वाचनमा मत अर्को पार्टीका उम्मेदवारलाई जानु (मत  ट्रान्सफर) हुन सक्ने अनुमान गरिएको छ ।
 
अहिले सिटौलाले एमालेको मत आफ्नो पक्षमा तान्ने रणनीति बनाएर  काम गरिरहेका छन् । 

यता लिङदेन असन्तुष्ट बनेका एमाले कार्यकर्तालाई फकाउँदै आफ्नो विपक्षमा रहेकाको मत तान्ने रणनीतिसहितको चुनावी प्रचार गरिरहेका छन् । 

२०७४ सालको निर्वाचनभन्दा २०७९ निर्वाचनमा धेरै सुधार आएकोमा सिटौला उत्साहित छन् । उनले भने, ‘आफ्नो पक्षमा मतदान गर्ने मतदाता बढेको छ, त्यसैले मेरो जित निश्चित जस्तै छ।’ 

लिङ्देन पनि आफ्नो जित निश्चित रहेको दावी गर्छन्। उनले भने, 'अंकगणितको आधारमा यस पटक पनि मेरो जित निश्चित जस्तै छ । कति मतान्तर बढाउन सक्छु भनेर लागेको छु ।'

दुवैले असन्तुष्टलाई फकाउँदै
नेकपा (एमाले)ले झापा जिल्लामा राप्रपासँग चुनावी तालमेल गरेसँगै एमालेभित्र असन्तुष्ट बढेको छ । विशेष गरी झापा ३ मा त्यसको प्रभाव बढी छ । 

स्थानीय तह निर्वाचनमा तालमेल गर्ने एमाले र राप्रपा आम निर्वाचनमा तालमेल गरेपछि यस क्षेत्रमा एमालेभित्रै विद्रोह भएको थियो । 

विद्रोह गर्दै एमालेका जिल्ला सदस्य हल्दिबारी निवासी डम्बर गिरीले स्वतन्त्र उम्मेदवारी दिए । एमालेबाट हल्दिबारी गाउँपालिकाको अध्यक्षमा उठेका गिरी राप्रपासँग पराजित भएका थिए । 
गाउँपालिकाका उपाध्यक्ष रहेका बेला गिरी राप्रपा जनप्रतिनिधिसँग मनमुटाबका बीच आफ्नो ५ बर्षीय कार्यकालमा पूरा गर्दै दुरी बढाएका थिए । त्यही कारणले राप्रपाका अध्यक्ष लिङ्देनलाई कुनै पनि हालतमा सघाउन नसकिने भन्दै उनी स्वतन्त्र उम्मेदवार बने । 

हाल उनलाई एमाले कारबाही गर्दै निलम्बन गरिसकेको छ । तर, उनीसँग रहेको एमाले पक्षको मत कहाँ खस्ने भन्ने अहिले व्यापक चर्चा छ । मंगलबार मात्र यस क्षेत्रका २०३ एमाले कार्यकर्ताले विज्ञप्ति निकाल्दै सामूहिक राजीनामा दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘राप्रपामा कुनै पनि हालतमा साथ दिन नसक्ने भन्दै हामीले पार्टी परित्याग गर्न बाध्य भयौँ।’

एमालेको मत घट्दा लिङ्देनलाई आफ्नो पक्षमा परिणाम निकाल्न जोखिम छ । तर, एमालेबाट यस क्षेत्रमा प्रदेशसभा सदस्यमा वसन्तकुमार बानियाँ र छविलाल चुँडाल उम्मेदवार छन् । एमाले दुवै उम्मेदवारलाई जित्न पनि राप्रपाको मत आवश्यक पर्छ । 

उता बाह्रदसी गाउँपालिकामा सत्तारुढ गठबन्धनप्रति असन्तुष्ट जनाउँदै माओवादी केन्द्रका प्रदेश सदस्यसहित १३४ जनाले सामूहिक राजीनामा दिएका छन् । माओवादीले पार्टी छाडेपछि कांग्रेस उम्मेदवार सिटौलालाई पनि चुनौती छ । 

सिटौला एमाले नेता तथा कार्यकर्तालाई रिझाउने कसरतमा जुटेका छन् । बुधबार मात्रै सिटौलाले एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई भेटेका थिए । पछिल्लो समय प्रसाईंको झापा ३ मा बढी प्रभाव मानिन्छ ।

त्यसैले अब झापा-३ को निर्वाचन परिणाम एमाले र माओवादी केन्द्रको असन्तुष्ट पक्षले गर्ने मतदानले फरक पार्न सक्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.