रसुवागढी नाका बिहीबार मध्यरातदेखि बन्द
काठमाडौं : रसुवागढी नाका बिहीबार मध्यरातदेखि बन्द हुने भएको छ। यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गर्न लागिएको हो।
मतदान हुनुभन्दा ७२ घण्टाअगाडि नै नाका बन्द गर्नुपर्ने व्यवस्था छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बिहीबार मध्यरात १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्मका लागि नाका सिल गरिने छ।
कोभिड-१९ सुरु भएयता रसुवागढी र तातोपानी नाका 'वान वे' सञ्चालन हुँदै आएको छ। दुई वर्षदेखि नाका पूर्णरूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित हुँदै आएको छ।
कोरोना महामारीका कारण २०७६ माघ २५ देखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका बन्द भएको थियो। त्यसयता नाका सञ्चालनमा आए पनि न्यून मात्र सामग्रीको आयात हुँदै आएको छ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ताचप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात हुने गरेको छ। यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ।