निर्वाचनमा ७१ प्रतिशत मत खस्छ : निर्वाचन आयुक्त तुलाधर
नुवाकोट : निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा देशभर ७१ प्रतिशत मत खस्ने अनुमान गरिएको बताएकी छन्।
उनले यस निर्वाचनमा बढीभन्दा बढी मतदाताले आफ्नो मताधिकार उपभोग गर्नेसमेत बताइन्।
सर्वसाधारणको मताधिकारको सम्मान गरेर बढीभन्दा बढी मत खस्ने वातावरण सिर्जना गर्न उनले मतदानमा खटिएका अधिकारीहरूलाई निर्देशन दिइन्।
उनले मतदानमा खसेको मत बदर नहोस् भन्ने आयोगको लक्ष्य रहेको उल्लेख गर्दै सञ्चारजगतले निर्वाचनलाई सफल बनाउन भूमिका खेलेकोसमेत बताइन्। बदर मत घटाउने कार्यमा सघाउन समुदायस्तरमा मतदातालाई उचित सूचना दिन उनले आग्रह गरिन्।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउन आयोग लागिरहेको बताउँदै डा. तुलाधरले निर्वाचन आचारसंहिताको अनुगमन र पालनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन्।
सञ्चारकर्मीप्रति निर्वाचन आयोगको ठूलो विश्वास रहेकाले आयोगले आचारसंहिताको अनुगमन लगायतका संरचनामा सञ्चार क्षेत्रको प्रतिनिधित्वलाई अभिन्न अंगका रूपमा व्यवस्था गरेको बताइन्।
पत्रकारहरूले जिल्ला प्रशासनको समन्वयमा मतदानको दिनमा स्वतन्त्र र निष्पक्ष रूपमा समाचार संकलन र रिर्पोर्टिङ गर्ने व्यवस्था मिलाइएको समेत बताइन्।
कारागारमा रहेका कैदीबन्दीलाई पनि मतदान गर्न पाउने प्रबन्ध मिलाइएको उनको भनाइ छ। स्थायी मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलगायत कानुनले निर्दिष्ट गरेका व्यक्तिहरूलाई अस्थायी मतदाता कायम गरिएको आयुक्त तुलाधरले बताइन्।
यस निर्वाचन विशेष पर्व र उत्सवका रूपमा मनाउन सबै नागरिकले मताधिकार प्रयोगगर्न तुलाधरले अनुरोध गरेकी छिन्। उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र रेखदेखका लागि संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग कटिबद्ध रहेको र आचारसंहिता नियमनको व्यवस्था गरिएको बताइन्।
सडकमार्ग हुँदै स्थलगत रूपमा निर्वाचनसँग सम्बन्धित विषयको अनुगमन गर्न नुवाकोट आइपुगेकी आयुक्त डा. तुलाधरले शुक्रबारै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाललगायतको सुरक्षा टोलीलाई निर्वाचन शान्त, सुरक्षित, सभ्य, भयरहित र स्वतन्त्र पूर्वक सम्पन्न गर्न निर्देशन दिइन्।
उनले निर्वाचनमार्फत जनप्रतिनिधि चुन्न पाउने मतदाताको अधिकार सदैब सम्मानित रहेको र यसको सफल सम्पन्नताका लागि आयोगले सबै कार्य पूरा गरेकोसमेत बताइन्।