‘निर्वाचन गराउन सक्षम छौं’
बैतडी : बैतडीको दशरथचन्द नगरपालिका—८ स्थित त्रिपुरासुन्दरी स्वास्थ्यचौकीको मतदान केन्द्रमा खटिने सबै अपांगता भएका कर्मचारी छन्। मतदान केन्द्रमा खटिने मतदान केन्द्र अधिकृत लोकेन्द्रबहादुर चन्द, सहायक मतदान अधिकृत लक्ष्मी विष्टसहित ८ जना कर्मचारी अपांगता भएका कर्मचारीहरू हुन्। यो जिल्लाकै एक मात्र अपांगता भएका कर्मचारी खटिएको केन्द्र हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपांगता भएका कर्मचारीहरूलाई लक्षित गर्दै उक्त मतदान केन्द्रको स्थापना गरेको हो। ‘स्थानीय तहको निर्वाचनमा अपांगता भएका कर्मचारीहरूलाई खटाइएको थिएन, सहायक मतदान अधिकृत विष्टले भनिन्, ‘आफूहरू पनि निर्वाचन सम्पन्न गर्नको लागि सक्षम रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आग्रह गर्यौं त्यसपछि हामीले नियुक्ति पायौं। अहिले काममा खटिएका छौँ,’ विष्टले भनिन्।
शुक्रबार सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको विष्टले जनाइन्। सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न निकायका प्रतिनिधिहरूसँगको बैठक सम्पन्न गरिएको र निर्वाचनलाई निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गर्नको लागि आवश्यक निर्णय गरिएको विष्टले बताइन्।
मतदानमा खटिने सबै कर्मचारीहरू अपांगता भएका कर्मचारीहरू भएकाले नयाँ ऊर्जाका साथ काम गर्ने मतदान अधिकृत लोकेन्द्र चन्दले बताए। ‘हामी आफ्नो भूमिका र जिम्मेवारीमा अडिग रहेर स्वच्छ तथा निष्पक्ष रूपमा मतदान सम्पन्न गर्नेछौँ,’ चन्दले भने।
अपांगता भएका कर्मचारीहरूको मागअनुसार नै उनीहरूलाई मतदान केन्द्रको जिम्मेवारी दिइएको सहायक मुख्य निर्वाचन अधिकृत तीर्थराज आचार्यले जानकारी दिए। उनीहरूको अवस्थालाई हेरेर सुरक्षा सतर्कता अपनाइएको र यसबारे कुनै समस्या आएको अवस्थामा जगेडा कर्मचारीहरू खटाइने उनले बताए।
‘यो नौलो अभ्यास हो। उनीहरूले यसअघि प्रस्ताव लिएर आएका थिए, उनीहरूको प्रस्तावलाई स्विकार गरेका हौं, केही त्यस्तो समस्या आएको अवस्थामा हामीसँग जगेडा कर्मचारीहरू छन्,’ आचार्यले भने। त्रिपुरा सुन्दरी स्वास्थ्यचौकी मतदान केन्द्रमा ८०सय ७ मतदाता रहेका छन्। १ लाख ५० हजार १ सय ५६ मतदाता रहेको बैतडीमा २ सय ११ मतदान केन्द्र छन्।