पौरख बाँचेका शताब्दी पुरुष!
– सत्यमोहन अर्थात् सगरमाथा!
– सत्यमोहन जोशी अर्थात् शताब्दी लामो समयको प्रतिबिम्ब।
– समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय।
समयले बनाएको र समयलाई बनाउने सत्यमोहनलाई हामीले कति चिन्यौं ? वा चिनेर पनि अबका दिनमा क्रमशः बिर्संदै जान्छौं कि ? यो पनि समयले नै मूल्यांकन गर्ला। जीवनको अधिकांश समय उनले प्रत्येक मिनेटको शक्तिलाई पहिचान गरे। हामी नेपाली सबैले के यसरी नै समयको सदुपयोग गर्न सकेका छौं ? सत्यमा अडिग बनेर समय चिन्दै सक्रिय हुनेहरूले नै हो आफूलाई ‘सगरमाथा’ बनाउने पनि।
– जसरी बग्छ पानी त्यसरी नै बगे ‘सत्यमोहन’ पनि सार्वभौम बनेर।
– असत्यको पर्दामा गुम्सिएनन्, सत्यको सत्मार्गमै दौडिरहे।
– शालीनता भन्नु सत्यमोहन, सम्मोहनको अर्को नाम सत्यमोहन।
– संस्कृतिको पर्याय सत्यमोहन, साहित्यको संसारमा पनि सत्यमोहन।
– संघर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई संघर्ष सिकाए।
बाधाहरू पन्छाए, परिस्थितिभन्दा माथि उठे र त जुरुक्क उठेको देखिए सत्यमोहन सबैका आँखामा। लाग्छ, उनले जिएका प्रत्येक मिनेट आनन्दका थिए, परिणाममुखी थिए। हामी सबैलाई थाहा छ कि हरेक दिनले २४ घण्टा समय लिएर आउँछ। तर, त्यो समयलाई कसरी सदुपयोग गर्छौं भन्ने नै सफलताको सूत्र हो। सत्यमोहनले समयको भरपूर सदुपयोग गरे र जीवन बदले।
विल्ली जोलीले लेखेका थिए, ‘एक मिनेट नै सपना साकार पार्ने सुरुआती विन्दु हो। एउटा महान् मिनेटबाटै एउटा महान् घण्टा बन्छ। एउटा महान् घण्टाबाट एउटा महान् दिन बन्छ। अनि एउटा महान् दिनबाट एउटा महान् हप्ता बन्छ। त्यसपछि क्रमशः महान् महिना र वर्ष बन्छ।’ पानी जसरी बग्नु, सत्मार्गमा दौडिनु, शालीन र सम्मोहन हुनु र संघर्षमय जीवन बाँच्नुले सत्यमोहनमा मिनेटहरूको मापन गर्न सकिन्छ।
– जोशीको जोस, काम भए ठोस : हरेक काममा राख्थे होस।
– न दुःखमा आत्तिए, न सुखमा मात्तिए।
– संघर्षभित्र पनि सधैं शान्तभाव, शान्तभावले सायद सधैं र सबैसँग सादगीपूर्ण व्यवहार।
– न अरूलाई तराजुमा जोखे, न जोखिए अरूको तराजुमा।
– सचेत र सारगर्भित जीवन हो, सत्यमोहन जोशी ः जोस र जाँगरको अर्को नाम पनि जोशी।
आत्तिने र मात्तिनै दुवै मानिसले प्रगति गर्न सक्दैन। मानिससँगको सम्बन्धले नै हो, व्यक्तिको जीवन अघि बढाउने। बाहिर भूकम्प जाओस्, मन शान्त पार्न सक्नुपर्छ। जसरी दिन र रातको निरन्तरता एकनासको छ, ठीक त्यसैगरी हो जीवनमा कर्तव्य निभाइरहने।
जोस छ, जाँगर छ तर मानिस सचेत छैन भने उसले जीवनमा छलाङ मार्न सक्दैन। यी सबैलाई आत्मसात् गर्ने स्वरूप हो, सत्यमोहन। हो, सत्यमोहन जसरी प्रेमको अनुभूति गर्न र जगाउन सक्नेले नै हो, जीवन सुन्दर बनाउने, प्रेमको सुन्दर बगैंचा सजाउने।
– सत्यमोहन : शून्य (नागार्जुनलाई दार्शनिक मान्ने र शून्यताको दर्शन अपनाउने)मा हराए, संसारमा
(नेपालका विकट क्षेत्र-जुन देश पुगे पनि) रमाए।
– युनेस्कोले भन्यो, ‘जिउँदो मानव सम्पदा’ सत्यमोहन : नुहिन्छ शिर, बढ्छ श्रद्घा।
– सरकारको सम्मान ‘वाङ्मय शताब्दी पुरुष’ सत्यमोहन जोशी ।
– महाविद्यावारिधि पाउने महामानव, सत्यमोहन।
– बखुम्बहालको कुटी, सत्यमोहनलाई महल : आत्मसन्तोषमा रमाए, सानो र सुखी संसार सजाए।
– भनिन्छ, सय वर्ष बाँचेपछि कुनै पनि मान्छे मान्छेमा सीमित रहँदैन अर्थात् देवता बन्छ। देवताको श्रेणीमा सत्यमोहन !
देवता पनि आफैंमा पूर्ण हुँदैन ? पनि भनिन्छ। यस अर्थमा सत्यमोहन पूर्ण नहुन सक्छन्, अर्को अर्थमा उनी देवता। जिउँदो मानव सम्पदा, महाविद्यावारिधि पाउने महामानव, वाङ्मय शताब्दी पुरुष र यस्तै पदवी र मानार्थ (अघोषित)ले भरिपूर्ण मानिस, जो शताब्दी पार गर्दासमेत कसैको (अपवादबाहेक) आँखामा बिझाएनन्, उनलाई उमेरसहितको अर्थमा देवता भन्न सकिने अवस्था बनेकै हो।
यस्ता मानिस संसारमै दुर्लभ हुन्छन्, नेपालमा पनि। खासमा धेरै मानिस अरूलाई परिवर्तन गर्न जीवन खर्चिन्छन्, तर सत्यमोहन आफू उदाहरणीय बने। अरूलाई परिवर्तन गर्ने राजमार्ग देखाए। यसको एउटा रहस्य हुन सक्छ, अरू भौतिक विकासमा रमाउन खोज्छन्, सत्यमोहन आत्मविकासमा रमाए।
– हक्की थिए, हठी थिएनन्।
– शरीर नै सवारीसाधन, न चस्मा न टाइसुट। शिरमा सादा टोपी सधैंको सम्पत्ति।
– न हिजोको चिन्ता गरे न भोलिको, चिन्तन गरे र चिनिए।
– शताब्दी–समयको तस्बिर खिचे उनले, उनको शताब्दी खिचेको छ समयले।
– शब्दहरूले बचाउने छन् शताब्दी पुरुषलाई शदियौं, सम्भवतः शब्द–संसारमै रमिरहने छन् सदा सदा।
बहुआयामिक सिर्जनशीलता बोकेका व्यक्ति शताब्दी पुरुष-महामानव-जिउँदो मानव सम्पदा सत्यमोहन जोशी अर्थात् ‘पोलिम्याथ’लाई शब्द–श्रद्धाञ्जलि !