‘गरिबका छोराछोरी खाडी नगएर के गर्छन् त ?’ (भिडियोसहित)

‘गरिबका छोराछोरी खाडी नगएर के गर्छन् त ?’ (भिडियोसहित)

काठमाडौं : देशमा चुनाव छ। मुलुक र जनताको भाग्य र भविष्य कोर्ने नेतृत्व चयन हुँदैछन्। पुराना पार्टी र नेताले ‘केही नगरेको’ भन्दै राजनीतिमा युवा नेतृत्व आउनुपर्ने आवाज पनि चर्को रूपमा उठेको छ। तर, एकथरी युवा चुनावको मुखमा पनि देशमा अडिन सकेका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धमाधम बाहिरिरहेका छन्। चुनावको मुखमा देश छोड्नु पर्दाको पीडा त उनीहरूसँग छ नै। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका थिए, सर्लाही गोरैताका उपेन्द्र महरा। उमेरले त्यस्तै ४५ वर्ष पुगेका उनी, चिसो भुइँमा बसेका थिए। छोरालाई बिदाइ गर्न उनी एयरपोर्ट पुगेका रहेछन्।

छोरालाई बिदाइ गरिसकेपछि पनि उनको मनले घर फर्किन मानेको थिएन। छोरा चढेको जहाज कतिखेर उड्छ भन्दै उनी घरी विदेश जान लागिरहेका युवाहरूको भीड नियाल्थें, त घरी आकाशतिर हेर्थे। छट्पटिँदै घरी यता, घरी उता गर्दै गरेको देखेपछि अन्नपूर्णकर्मी उनको छेउमा पुग्यौं। नाम र ठेगाना मात्रै के सोधेका थियौं– तर, उनी त रुन पो थाले।

भिडियो हेर्नुस्:

किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ उनले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

उपेन्द्र काठमाडौंका फुटपाथमा जुत्ता पालिस गर्ने र च्यात्तिएको चप्पल सिलाएर जीविकोपार्जन गर्दा रहेछन्। यतिले मात्रै जीवन नचल्ने भएपछि छोरालाई कमाउन मलेसिया पठाएका रहेछन्। ‘सरकारले हाम्रै देशका सुखसुविधा दिएको भए हाम्रो लैइरका (छोराहरू) विदेश जाँदैनथे,’ उनले पीडा पोखे, ‘सरकार हामी गरिबको दुःखै बुझ्दैन्। मजबुरीले ऋण लिएँ। तीन, चार लाख जति। त्यसपछि छोरालाई विदेश उडाउन पायौं।’ 

उनले सरकार (नेता र ठूलाबडा)का छोराछोरीहरू आफ्नै घरमा मस्ती गरिरहेको तर गरिबका छोराछोरीलाई भने दुःखैदुःख भएको बताए। ‘सरकारले गरिबका छोराछोरीलाई पढाइलेखाइको व्यवस्था गर्नु पथ्र्यो। फ्याक्ट्री (उद्योग) खोल्नुपथ्र्यो। यी काम भएको भए म जस्ताले छोरालाई विदेश पठाउनु पर्दैनथ्यो।’ 

सरकार फेरिए, व्यवस्था परिवर्तन भए। र, पनि गरिब तथा सुकुम्बासी बस्तीमा केही सुखसुविधा पुगेको छैन। उनले भने, ‘भूमिहीन छौं। अनि के गरौं ? मजबुरीवस छोराहरूलाई ऋणकर्जा लिएर विदेश पठाउनु परेको छ। गरिबी जीवन बाँचिरहेका छौं। न कमाए के खाने ?’ देशका नेताले आफ्ना लागि मात्रै सोच्ने गरेको उनले गुनासो पोखे।

‘सरकारमा भएकाहरू आफ्ना वेटा (छोरा) का लागि मर्छन्,’ उनले भने, ‘तर, गरिबका लागि कोही पनि मर्दैन। विदेशमा गरिबका छोराले महादुःख भोगिरहेका छन्।’ जनताको मत लिएर नेताहरूले चुनाव जित्ने र सरकार बनाउने गरेको उनको भनाइ छ। ‘भोट माग्ने बेला नमस्कार गर्छन्,’ उनले भने, ‘नेताहरूले भन्छन् म तपाईंहरूकै हुँ। जितेपछि धेरै सुखसुविधा दिन्छु। तर, जितेर गएपछि त्यो दिनदेखि मुख देखाउन पनि आउँदैनन्। उनीहरू आफ्नै लागि सबथोक गर्छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.