सोलुका मतदान स्थल अपांगमैत्री नहुँदा समस्या
सोलुखुम्बु: सोलुखुम्बुका मतदान स्थल तथा केन्द्र अपाङमैत्री नहुँदा समस्या हुने देखिएको छ ।
जिल्लाका अधिकांश मतदान स्थल तथा केन्द्रमा अपांगता भएका व्यक्तिलाई सहज रुपमा जान नसक्ने अवस्था रहेको अपांगता भएकाले बताएका छन् ।
यहाँ धेरैजसो मतदान केन्द्र विद्यालयमा छन् । विद्यालयमा रहेका केन्द्रहरुमा सहज रुपमा ह्विल चियर जान सक्ने अवस्था नरहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका निर्वाचन अधिकारी राम नारायण शाहले बताए ।
सामान्य अपांगता भएका तथा अशक्त भएका सहयोगीको भरमा जान सक्ने भएपनि पूर्ण रुपमा अशक्त भएकाहरु समस्यामा पर्ने निश्चित देखिएको छ ।
जिल्लामा १ सय २२ मतदान स्थल र एक अस्थायीसहित १ सय ३६ मतदान केन्द्र छन् । यहाँ ८१ हजार ५ सय २ जना मतदाता र प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी २० जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।