निर्वाचनमा १ लाख सुरक्षाकर्मी

निर्वाचनमा १ लाख सुरक्षाकर्मी

 नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरमा गत ३० कात्तिकमा प्रेसरकुकर बम बनाउँदै गर्दा विस्फोेटनमा परी विप्लवका दुई जना कार्यकर्ता घाइते भए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार विस्फोटनमा परी सल्यानको बागचौर नगरपालिका–२ घर भएका २७ वर्षीय डिल्लीबहादुर बीसी र कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका ३३ वर्षीय धर्मबहादुर सुनार घाइते भए।

दुवै जनाको अहिले पनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसीयूमा राखेर उपचार भइरहेको छ। सो घरबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले थप दुई वटा तयारी अवस्थाका प्रेसरकुकर बम निष्क्रिय पार्‍यो। बम विस्फोटको घटनाबाट नेपालगन्जवासी आतंकित भए तर कडा सुरक्षा व्यवस्थाका कारण थप घटना हुन पाएनन्। 

दार्चुलामा शुक्रबार प्रेसरकुकर राखेर आतंकित पारियो। बैतडी र दार्चुलाको सीमामा रहेको गोकुलेश्वर बजार नजिकैको पुलमा शुक्रबार राति प्रेसरकुकर फेला पर्‍यो। नेपाली सेनाको टोलीले शनिबार बिहान निष्क्रिय पार्दा प्रेसर बम नभएर प्रेसरकुकरमा माटो मात्र फेला पारेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई उद्दृत गर्दै अन्नपूर्ण सहकर्मी सुन्दरसिंह धामीले जनाएका छन्। पुलमा प्रेसरकुकर भेटिएपछि रातिदेखि सवारी आवागमन ठप्प भएको थियो। 

पश्चिम नेपालका ३१ जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र म्यादी प्रहरी गरी झन्डै एक लाख सुरक्षाकर्मी परिचालन गरिएको सम्बद्ध सुरक्षा निकायको हेडक्वाटरले जनाएका छन्। मतदान केन्द्र र मतदान स्थल र केन्द्रभित्र नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको छ। सशस्त्र प्रहरी बल र नेपाली सेनाले बाहिरको सुरक्षा दिने गरी मतदानको दिनका सुरक्षा व्यवस्था गरिएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार यी तीन प्रदेशमा २१ हजार २ सय ६४ नेपाल प्रहरी र ३९ हजार २ सय ४१ जना म्यादी प्रहरी परिचालन गरिएका छन्। नेपाल प्रहरी सबैभन्दा धेरै १० हजार २ सय ४६ लुम्बिनी प्रदेशमा परिचालन गरिएको छ। सुदूरपश्चिममा ६ हजार २ सय ४६ र कर्णाली प्रदेशमा ४ हजार ८ सय ७२ परिचालन गरिएको छ। म्यादी प्रहरी पनि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १८ हजार ६ सय ११ परिचालन भएका छन्। सुदूरपश्चिममा ११ हजार ५ सय ५२ र कर्णाली प्रदेशमा ८ हजार ७८ जना म्यादी प्रहरी खटाइएको छ।

प्रवक्ता राई तराईका जिल्लामा डीएसपीको कमान्डमा २५ जना र इन्सपेक्टरको नेतृत्वमा अर्को १५ जनाको टोली खटाइएको छ। ‘कुनै घटना हुनेबित्तिकै प्रहरी १० मिनेटभित्र पुग्नेछ। जिल्लामा कम्तीमा ५० जना प्रहरीलाई रिर्जबमा राखेर तत्काल खटाउने व्यवस्था गरिएको छ।’ 

हरेक मतदान केन्द्रमा कम्तीमा तीन प्रहरी र बढीमा ९ म्यादी प्रहरी खटाइएको छ। सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी र म्यादी प्रहरी खटाउने, आवश्यक पर्दा नेपाली सेना र सशस्त्र प्रहरी बलको तत्कालै सहयोग पाउने गरी सुरक्षा व्यवस्था गरिएको राईले प्रष्ट पारे। 

पश्चिम नेपालका ३१ जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र म्यादी प्रहरी गरी झन्डै एक लाख सुरक्षाकर्मी परिचालन

विगत चुनावका गतिविधि, भौगोलिक विकटता, सञ्चार तथा प्राविधिक समस्या, उम्मेदवारको पृष्ठभूमिजस्ता विषयलाई सरकारले सुरक्षा चुनौती ठान्दै निर्वाचन स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन खण्डमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाएको नेपाल प्रहरीका प्रवक्ता राईले बताए।

सशस्त्र प्रहरी बल मुख्यालयका सूचना शाखा प्रमुख÷सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार तीन प्रदेशमा ११ हजार ६ सय २० सशस्त्र प्रहरीलाई निर्वाचनमा खटाइएको छ। सबैभन्दा धेरै प्रदेश लुम्बिनी प्रदेशमा ५ हजार ३ सय ८०, सुदूरपश्चिममा ३ हजार ६ सय ९० र कर्णाली प्रदेशमा २ हजार ५ सय ५० सशस्त्र प्रहरी खटाइएको छ। सहायक प्रवक्ता डीएसपी थापाले भने, ‘निर्वाचनमा सशस्त्र प्रहरीको दोस्रो घेरा हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा, गस्ती, मतपत्र ढुवानीलगायतका काममा सशस्त्र प्रहरीको टोली खटेको छ।’ 

नेपाली सेना मुख्यालय भद्रकाली काठमाडौंका सूचना अधिकारी सहायकरथी नारायण सिलवालका अनुसार देशभरि ७५ हजार नेपाली सेनालाई परिचालन गरिएको छ। सहायकरथी सिलवालले यी तीन प्रदेशमा परिचालन गरिएका सैनिकको यकिन संख्या नबताए पनि देशभरमा परिचालन गरेका सेनालाई सात प्रदेश र उपत्यका गरी कम्तीमा ८ भागमा बाँडफाँड गर्दा एक प्रदेशमा औसत ९ हजारको हाराहारीमा परिचालन गरेको अनुमान गर्न सकिन्छ। ‘मुख्य निर्वाचन अधिकृत वा जिल्ला सुरक्षा समितिले नेपाली सेनाको सहयोग मागेको बेलामा कुनै पनि घटनास्थलमा ३० मिनेटभित्र पुग्न सक्ने गरी हाम्रो तैनाथी रहेको छ’, सूचना अधिकारी सिलवाल भन्छन्, ‘केन्द्रदेखि देशका ७७ वटै जिल्लामा रहेका पृतना, बाहिनी, गण, गुल्मबाट सैनिक निर्वाचनमा खटेका छन्।  

त्यसका अलावा निर्वाचन लक्षित अस्थायी ७ सय ७९ स्थानमा अप्रेसन बेस स्थापना गरेका छौं। नेपाली सेनाको हरेक टोलीसँग गरी ९ सय ३ वटा बम डिस्पोजल टोली पनि छ। पोखरा, सुर्खेत, इटहरी, बर्दिवास र काठमाडौंमा हेलिकोप्टरसहितको टोली तयारी अवस्थामा छ।’ पैदल, मोबाइल र हवाई सेवाको रूपमा आवश्यक परेको बेला पनि परिचालन गर्ने गरी सेना तयारी अवस्थामा रहेको उनले प्रष्ट पारे। 

लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार, सुदूरपश्चिममा १६ लाख ५८ हजार र कर्णाली प्रदेशमा १० लाख ८ हजार मतदाता छन्। यी तीन प्रदेशमा ३ हजार ७ सय ४४ मतदानस्थल र ७ हजार ४ सय ११ मतदान केन्द्र रहेका छन्। प्रदेशका ३१ जिल्लाका कुल ३ हजार ६ सय ४४ मतदान केन्द्रमध्ये १५  सय मतदान केन्द्र अति संवेदनशील छन्। विगतमा जस्तो सशस्त्र समूहको खतरा नभए पनि अन्तरपार्टी विवाद र पार्टीगत बाहुल्यलाई सुरक्षा चुनौती ठानेको छ। नेपाल प्रहरीका प्रवक्ता राई भन्छन्, ‘निर्वाचनमा खटेको सुरक्षाकर्मीलाई अत्यावश्यक परेको बेला गोली चलाउने अधिकार छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.