तनहुँमा ४० प्रतिशत मत खस्यो
तनहुँ: दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा दिउँसो ३:१५ बजेसम्म ४० प्रतिशत मत खसेको छ ।
यसपालीको निर्वाचनमा जिल्लाका हरेक मतदानदान केन्द्रमा मतदाताहरुको उपस्थिति उत्साहजन नदेखिएपनि हालसम्म ४० प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार तनहुँमा सौहादपुर्ण वातावरण मतदान भइरहेको छ ।
किरियापुत्री गरे मतदान
जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ स्थित शिला प्राथमिक विद्यालय मतदान केन्द्रमा किरिया बसेकाहरुले पनि मतदान गरेका छन् ।
दुई दिन अघि आमाको किरिया बसेका शिव पन्त, विष्णु पन्त, सुनिता पन्त र सिर्जना पन्तले मतदान गरेका हुन् । आफुहरुका कारण योग्य र सक्षम उम्मेदवारले नहारुन् भनेर आफुहरु पीडाको घडीमा पनि मतदान गर्न आएको सुनिता पन्तले बताइन् । यस अघि जितेका उम्मेदवारले जे जस्तो गरे पनि अहिले जित्ने उम्मेदवारलाई जनपक्षीय र राष्ट्रहितमा काम गर्न शिव पन्तले आग्रह गरे ।
जिल्लाका विभिन्न मतदान केन्द्रमा सहभागी ज्येष्ठ तथा अशक्त, अपाङ्गता भएका मतदाताहरुले पनि सहज रुपमा मतदान गरेको प्रतिक्रिया दिएका छन् ।
तनहुँमा २ लाख ४८ हजार २९५ जनाले मतदान गर्दैछन् । स्थानीय तह निर्वाचनपछि तनहुँमा ४ हजार १५५ मतदाता थपिएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ तर्फ १ लाख २३ हजार ९० र क्षेत्र नम्बर २ तर्फ १ लाख २५ हजार ५ मतदाता छन् । २०७४ सालको आम निर्वाचनमा जिल्लामा २ लाख ११ हजार ३९६ मतदाता थिए ।
तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा ६७ हजार एक सय ४४ र प्रदेश सभा (२) मा ५६ हजार तीन सय ४६ मतदाता छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (१) मा ६७ हजार ३२ र प्रदेश (२) मा ५७ हजार नौ सय ७३ मतदाता छन् ।
जिल्लामा १४२ मतदानस्थलका ३०५ मतदान केन्द्र छन् । तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ तर्फ ७३ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र छन् ।
क्षेत्र नम्बर १ प्रदेश (१) तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश (२) तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र कायम छन् । क्षेत्र नम्बर २ प्रदेश (१) तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश (२) तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् ।
तनहुँ १ मा प्रतिनिधिसभातर्फ १५ जना उम्मेदवार मैदानमा छन् । १‘क’ मा ११ जना र १ ‘ख’ मा ७ जना उम्मेदवार रहेका छन् । तनहुँ २ मा १० जनाले प्रतिष्पर्धा गर्दैछन् । २‘क’ मा ८ जना र २ ‘ख’ मा ६ जनालाई मतदाताले मतदान गर्नेछन् । २०७४ सालको निर्वाचनमा तनहुँ वाम गठबन्धनले क्लिन स्विप पारेको थियो । दुई प्रतिनिधिसभासँगै दुई प्रदेशसभा नेकपा एमालले र दुई प्रदेशसभा नेकपा माओवादी केन्द्रले जितेको थियो ।