बाजुरामै किन हुन्छ हिंसा ?

बाजुरामै किन हुन्छ हिंसा ?

बाजुरा : निर्वाचनका क्रममा आइतबार प्रहरीको गोली लागेर बाजुरामा १ जनाको मृत्यु भएको छ। बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाट््यश्वरी आधारभुत विद्यालय दम्था मतदान स्थलमा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा २५ वर्षीय सञ्जीव ऐडीको मृत्यु भएको हो।

प्रहरीको गोली लागेर  २ जना सर्वसाधारण र एक जना प्रहरी गरी ३ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याय र खडक अएडी छन्् भने प्रहरी हवल्दार कृष्ण कुँवर पनि घाइते भएका छन््। घाइते तीनै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सूर्य थापाले बताए।

एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडपमा परिणत भएको हो। त्यसपछि प्रहरीले हवाई फायर गरेको प्रहरी प्रमुख थापाले बताए। बूढीनन्दा नगरपालिका–५ मा निर्वाचन सुरु भएको १ घण्टामै नेपाली कांग्रेस, नेकपा एमालेको दाहोरो झडप भएपछि मतदान स्थगित भएको थियो। 

पुनः मतदान सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए। त्यसैगरी बूढीगंगा नगरपालिका–८ को मतदाता केन्द्रमा पनि कांग्रेस र एमालेका कार्यकर्ताबीच दोहोरो झडप हुँदा मतदान स्थगित भएको छ। बूढीगंगा–८ र बूढीनन्दा–५ को मतदान स्थगित भएकाबारे मतदान अधिकृतको प्रतिवेदन आएपछि निर्वाचन आयोगले निर्णय गर्ने भएकोले पुनः मतदान हुने गरी स्थगित नभएर अर्को निर्णय नहुन्जेलसम्मका लागि स्थगित भएको निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताए। 

जिल्लामा अन्य केही ठाउँमा सामान्य विवादपछि राजनीतिक दलको सर्वपक्षीय बैठक बसेर निर्वाचन सम्पन्न भएको छ। दुर्गम भौगोलिक विकटताका कारण तथ्यांक लिन समस्या भएकोले जिल्लाको एकिन तथ्यांक आइनसकेको अवस्थीले बताए।

जहिले पनि बाजुरामै किन हुन्छ झडप ?     

२०७४ सालको घटना हो, स्थानीय निर्वाचनमा मनोनयनकै क्रममा भएको झडपमा परी १ जनाको मृत्यु भएको थियो। कांग्रेसका कार्यकर्ताले कुटपिट गरेपछि खप्तड छेडेदह गाउँपालिका–५ दोगडीका हंशबहादुर रावतको मृत्यु भएको हो। 

कांग्रेस र त्यतिबेलाका नेकपाले बहुमत र पकड भएको क्षेत्रमा कब्जा गरे। धेरै स्थानमा बुथ कब्जा गरेर निर्वाचन भयो। स्थानीय निर्वाचन २०७४ को परिणामअनुसार ९ स्थानीय तहमध्ये कांग्रेसले ६ मा जित हासिल गर्‍यो भने नेकपाले ३ पालिका जित्यो। २०७४ कै प्रतिनिधि र प्रदेशसभामा खासै झडप भएन। त्यो निर्वाचनमा नेकपाले प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुवै स्थानमा जित निकाल्यो। एमालेका लालबहादुर थापा प्रतनिधिसभामा जिते भने उनले कांग्रेसका कविराज पण्डितलाई पराजित गरे। 

प्रदेश सभा  (१) मा नेकपा एमालेका बलदेव रेग्मी र (२) बाट एमालेका प्रकाशबहादुर शाहले जित निकाले। रेग्मीले कांग्रेसका जनकराज गिरिलाई पराजित गरे भने शाहले  कांग्रेसकै पदमबहादुर शाहीलाई पराजित गरे। हरेक निर्वाचनमा कांग्रेसले जित्दै आएको बाजुरामा नेकपाको कब्जा देखेपछि त्यहाँ प्रतिशोध बढेको देखिन्छ। तर, २०७९ को स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले पुनः पराजय भोग्नुपर्‍यो। ३ पालिकामा जितेको एमालेले ६ पालिका जित्यो भने कांग्रेस ३ पालिकामा झर्‍यो। स्थानीय तहमा पनि हार बेहोरेको कांग्रेस र बलियो देखिएको एमालेबीचमा त्यसतबेला पनि विभिन्न स्थानमा झडप भइरह्यो। 

स्थानीय निर्वाचनमा अधिकांश मतदान केन्द्रमा फर्जी मत परे। त्यसका बाबजुद पनि बाजुराका ८ वटा पालिकाको निर्वाचन सम्पन्न भयो। परिणाम पनि आयो तर बूढीगंगा नगरपालिकामा फेरि झडप भयो र मतदान रद्द भयो। त्यहाँ दोस्रोपटक निर्वाचन भएपछि एमालेले जित निकालेको छ। त्यहाँका वडा–२, ३, ५ र ९  मा एमालेले कब्जा गरेको आरोप कांग्रेसको थियो भने वडा–४ र ७ मा कांग्रेसले कब्जा गरेको आरोप एमालेको थियो।

तर, त्यहाँ विवाद भएपछि निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा आयो। अनुगमनपछि आयुक्त जबराको टोलीले निर्वाचन आयोगलाई मत गणना हुनुपर्ने भन्ने रिपोर्ट बुझायो। निर्वाचन आयोगले टोलीको प्रतिवेदनविपरीत असार २३ गते पुनः निर्वाचन घोषणा गरेपछि त्यहाँ पुनः मतदान भएको हो।

नेकपा एमालेका युवा नेता गोविन्द थापा भन्छन्, ‘कांग्रेसले बाजुरामा विकास र समृद्धि चाहेको छैन। जहिले पनि हिंसामा मात्र कांग्रेसले साथ दिएको छ।’  उनले स्थानीय निर्वाचनमा पनि सत्ताको दुरुपयोग भएको बताए। तर, कांग्रेसका प्रतिनिधि हर्क खडायतले भने बाजुरामा एमालेले बढी गुण्डागर्दी गरेको आरोप लगाए। ‘बाजुरामा एमालेले सकारात्मक राजनीति गरेको छैन। सबै कुरा नकारात्मक गरेको छ। अहिले बाजुराको राजनीति नकारात्मक छ। यसले न देशका विकास गर्छ न बाजुराको नै,’ खडायतले भने।

गैरसरकारी संस्था महासंघका अध्यक्ष कृष्ण अधिकारीले पनि बाजुरामा राजनीतिक संस्कार हराएको भन्दै चिन्ता व्यक्त गरे। ‘नागरिकहरूले आफ्नो मताधिकार प्रयोग गर्न पनि नपाउने अवस्था आएको छ। जनतालाई दलका उम्मेदवारहरूले दास सम्झेका छन्। यस्तो राजनीतिले जिल्लाको विकास हुँदैन,’ अधिकारीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.