स्याङ्जाको मतगणना अब सुरु हुँदै
स्याङ्जा: स्याङ्जा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतगणना सोमबार दिउसो १ बजेदेखि हुँदैछ ।
सोमबार बिहान बसेको सर्वदली एवं सर्वपक्षीय बैठकले १ बजेर १५ मिनेटपछि मतगणना सुरु गर्ने लगायतका मतगणनालाई सहज बनाउन र विवादरहीत बनाउने निर्णय गरेको हो ।
सोमबार बिहानसम्म मतपेटिका ल्याईसकेपछि बसेको सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुचार गर्न लागिएको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ को जिल्ला समन्वय हल र क्षेत्र नं. २ को वालिङ नगरपालिकाको हलमा मतगणना गर्नेगरी गणनास्थल निर्माण गरिएका छन्।
गणना स्थलमा सुरक्षासहित तार जाली, सीसीटीभी फुटेज, तार जालीको व्यवस्था गरिएको छ। मतगणना स्थलमा सुरक्षा, अल्टरनेटिभ लाईट, माईकिङ, तारबार, सीसीटीभी फुटेज, मिडिया सेन्टर सबैको ब्यवस्थापन गरिएको छ।
स्याङ्जामा ५८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।
जिल्लाभरका १ सय ९९ मतदान स्थल र एक अस्थायी केन्द्रसहित ३ सय २१ मतदान केन्द्रमा गरी ५७ दशमलव ८५ प्रतिशत मत खसेको हो।
कार्यालयका अनुसार क्षेत्र नं १ मा ५५ दशमलव ९३ प्रतिशत, क्षेत्र नं. २ मा ५९ दशमलव ९३ प्रतिशत मत खसेको छ।