२९ वर्षीय युवा योगेशको ऐतिहासिक जित
जोमसोम: कान्छा उम्मेदवार योगेश गौचन थकालीले मुस्ताङबाट ऐतिहासिक जित दर्ता गरेका छन् ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार बनेका योगेशले ३ हजार ९९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनले मुस्ताङबाट नेपाली कांगेसको तर्फबाट पहिलो खाता खोल्न सफल भए ।
योगेशले ३ हजार ९९२ मतको फराकिलो मतान्तरले विजयी हुँदा नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाए । उनीसंगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ८५ मत ल्याए भने राप्रपा नेपालका उम्मेदवार प्रवीण शेरचनले १३ मत ल्याए । प्रतिनिधि सभामा योगेश र प्रेमको मतान्तर ९१४ मतको फरक छ ।
कांग्रेसका योगेश र एमालेका प्रेमको घर थासाङ–३ लेतेमा पर्छ । दुबैको घरको दूरी १५ मिनेटको फरकमा छ । लेतेमा योगेशको कालोपानी होटल छ भने प्रेमको सियु लज छ ।
कांग्रेसबाट निर्वाचन जितेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, गण्डकी प्रदेशको कार्यसम्पादन समितिको सदस्य हुन् । उनी युवा उद्यमी पनि हुन् । भारतबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट पुरा गरेका योगेश पछिल्लो समय राजनीतिमा सक्रिय छन् ।
प्रतिनिधि सभामा विजयी भएपछि उनले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।