बागलुङ १ मा चित्रबहादुर केसीको अग्रता
बागलुङ : बागलुङ जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । बागलुङमा मंगलबार बिहानसम्म क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता लिएका छन् ।
कुल खसेको (अस्थायी मतदाता सहित) ५१ हजार ६ सय ६६ मतमध्ये बिहान ७ बजेसम्म ६ हजार ५ सय ६८ मत गणना गरिएको छ । जसअनुसार गठबन्धन तर्फबाट राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसीले एमालेका उम्मेदवार सुर्य पाठकलाई ३ सय २३ मतान्तरले अग्रता लिएका छन्।
केसीले २ हजार ५ सय १६ मत प्राप्त गरेका छन्भने पाठकले २ हजार १ सय ९३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले १ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र १ प्रदेशसभा (क) मा नेकपा एमालेका हिरा बहादुर केसीले अग्रता लिएका छन् । ७ हजार ८ सय २४ मत गणना गर्दा एमालेका केसीले ३ हजार ५ सय ३९ मत प्राप्त गरेका छन्भने नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापाले ३ हजार ७९ मत प्राप्त गरेका छन् ।
यस्तै क्षेत्र १ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका डिल्लीराम सुवेदीले अग्रता लिएका छन् । ७ हजार ४ सय २९ मत गणना हुँदा कांग्रेसका सुवेदीले ४ हजार ९२ मत प्राप्त गर्दा नेकपा एमालेका नवराज पौडेलले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन् ।