नुवाकोट - १ मा एमाले, २ मा गठबन्धन अगाडि
नुवाकोट : नुवाकोट क्षेत्र नं. १ मा नेकपा एमाले, क्षेत्र नं. २ मा सत्तारुढ दलको गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्। प्रदेश सभातर्फ माओवादी र एमालेका उम्मेदवारको अग्रता रहेको छ।
नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं. १ गणना भएको कूल ६ हजार पाँचसय ५९ मतमध्ये एमाले नुवाकोटका अध्यक्षसमेत रहेको उम्मेदवार बद्री मैनालीले २ हजार ६ सय ६० मत ल्याएर अग्रस्थानमा रहेका छन्। गठबन्धनतर्फ माओवादी केन्द्रका हितबहादुर तामाङले २ हजार ३ सय २२ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतले ७ सय ३३ मत पाएका छन्। राप्रपाका उम्मेदवारले एकसय २६ मत पाएका छन्।
नुवाकोट १ को प्रदेश सभा ख तर्फ नेकपा एमालेका पूर्णलाल श्रेष्ठले अग्रता लिएका छन्। श्रेष्ठले ९ सय ७९ मत पाएका छन् भने गठवन्धनका तर्फवाट कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले ८ सय ४ मत पाएका छन्।
सदरमुकाम विदुर समेटिएको नुवाकोटको २ मा गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसी दोब्बर मत बढीले अग्रता कायम गरेका छन्। उम्मेदवार केसीले २ हजार ७६ मत प्राप्त गर्दै दोब्बर मत बढीले अग्रता कायमै राखेका हुन।
नेता केसीलाई नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले ९ सय ५५ मतले पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनबिक्रम पाण्डेले ७ सय ७ मत पाएका छन्।
प्रतिनिधि सभा २ को प्रदेश सभा १ को मतगणनामा सत्ता गठवन्धनका माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुंगानाले अग्रता लिइरहेका छन्। उनले २ हजार २ सय ५६ मत पाएका छन्। ढुंगानालाई नेकपा एमालेका केशवप्रसाद पाण्डेले पछ्याइरहेकम छन्। उनले १ हजार ४३ मत पाएका छन्। कांग्रेकी गीता अमात्यले ४ सय २९ मत पाएकी छन्।
रसुवामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता
रसुवामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। रसुवामा कांग्रेसका मोहन आचार्यको अग्रता रहेको छ।
पछिल्लो मतपरिणाम अनुसार १० हजार १ सय मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका आचार्यले ६ हजार ९७ मत प्राप्त गरेका छन्। आचार्यलाई नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन्।
एमालेका छोवाङतेन्जिन तामाङले ३ हजार ५ सय ५१ मत प्राप्त गरेका छन्। आचार्य तामाङ भन्दा २ हजार ५ सय ४६ मतले अगाडि छन्।