जलवायुको असरले घट्यो स्याउ उत्पादन
जोमसोम : टुकुचेमा स्याउ उत्पादन गर्दै आएका दीपक हिराचन २० वर्ष अगाडि र अहिलेको उत्पादनमा धेरै अन्तर देख्छन्। उनका अनुसार पछिल्लो समय स्याउ उत्पादनमा जलवायु परिवर्तनको असर नराम्ररी परेको छ।
‘२० वर्षअगाडि पानी एकदमै कम पर्ने मुस्ताङमा अहिले धेरै पानी पर्छ। पुरानो बिरुवा जरा कुहिने रोग किराको प्रकोपले उत्पादन घटेको छ। तल्लो मुस्ताङमा स्वादिलो स्याउ फल्ने ठाउँमा पानी बढी पर्नु भनेकै स्याउ खेतीलाई असर गर्नु हो,’ हिराचनले भने।
मौसममा आएको परिवर्तनले स्याउको गुणस्तरसँगै उत्पादन घटेको छ। मुस्ताङमा स्याउखेती सुरु भएको आधा शताब्दी नाघिसकेको छ। यसअघि राम्रो उत्पादन हुने तल्लो मुस्ताङमा स्याउ फल्न छाडेको किसानको गुनासो छ।
तल्लो मुस्ताङ कुवाङका विकल शेरचन स्याउमा रोग किराको आक्रमणले दिक्क बनाएको बताउँछन्। उनको अनुभवमा राम्रो स्याउ फल्ने ठाउँमा अहिले कम फल्ने गरेको छ। ‘नफल्ने होइन तर रोग किराले सताएको छ। केही वर्षअगाडि रहर लाग्दा स्याउका दाना हुन्थे अहिले रोग लाग्न थाल्यो। औषधि पनि छैन। अर्को कुरा बजारको पनि समस्या छ। आफंैले बेच्न सकिँदैन। बिचौलियाले मूल्य कम दिन्छन्’, शेरचनले भने।
स्याउमा किराको प्रकोपसँगै हिउँको चिस्यानले पुग्ने कृषिजन्य अन्य बालीनाली राम्रो हुन नसक्नु जलवायु परिवर्तनको नै भएको विज्ञको दाबी छ। मुस्ताङमा जलवायु परिवर्तनको असर सम्बन्धमा एक सानो अध्ययनले उक्त कुरा देखाएको त्रिभुवन विश्वविद्यालयका वनस्पतिशास्त्र केन्द्र विभागका उपप्राध्यापक अच्युत तिवारीले बताए।
चिसो खोज्दै माथि सर्न थाल्यो स्याउ
स्याउ माथिल्लो भेगमा फस्टाउँदै र तल्लो भेगमा मासिँदै गएको कृषकको अनुभव छ। स्वादिलो स्याउ फल्ने लेते, ताक्लुङ, धम्पु, कोवाङलगायतका क्षेत्रमा बगैँचा मासेर वैकल्पिक खेती गर्न थालेको उपप्राध्यापक तिवारीले बताए।
यसअघि पानी नै नपर्ने मुस्ताडमा कहिले ठूलो पानी पर्ने र कहिले ठूलो खडेरी पर्ने हँुदा रोग किराको प्रकोप देखिन थालेको हो। जलवायु परिवर्तनका कारण भएको तापमान वृद्धिको असर हिमाली क्षेत्रमा तुलनात्मक रूपमा बढी परेको भनी विज्ञले औँल्याउँदै छन्।
त्रिविका उपप्राध्यापक तिवारीका अनुसार पहिले बढी हिउँ परेर स्याउका लागि अनुपयुक्त माथिल्लो मुस्ताङ अहिले बढी पानी परेको कारण घिलिङ, घमी, ध्ये खोल चराङलगायतका माथिल्लो भेगमा स्याउ खेती हुन थालेको हो।
तिवारी भन्छन्, ‘यस विषयमा अध्ययन गरेका छौं। मुस्ताङको स्याउमा प्रत्यक्ष यसको असर देख्न सकिन्छ। स्याउको पकेट क्षेत्र मानिने लेतेमा अहिले ४–५ वटा बोट पनि छैनन्। ‘स्याउका लागि थोरै तापक्रम चाहिने हो। तापक्रम बढ्दै छ। कारण स्याउ चिसो खोज्दै माथि सर्दै छ’, उनले भने, ‘स्याउलगायत अन्य बोटबिरुवा पनि माथि माथि सर्दै जाने गरेको अध्ययनले देखाएको छ।’ यस अनुकूलनका लागि आवश्यक नीतिबारे बहस नभएको उनी बताउँछन्।
कृषि तथा वातावरण विज्ञ डा. अनिल सुवेदी मुस्ताङको स्याउ उत्पादनमा जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको बताउँछन्। ‘मैले मुख्यगरी तीनवटा समस्या देखेको छु। एउटा स्याउ पाक्नु अगाडि चिसो आवश्यक पर्ने भएकोले तापक्रम बढ्दै गएकाले असर गरेको देखियो जसका कारण रोग किरा देखिन थाल्यो। दोस्रो कुरा पाक्ने बेलामा राम्रो दाना र जति रातो कलर आउनुपर्ने हो आउन सकेन। तेस्रो, तापक्रम बढेको कारण कुरा स्याउ खेती माथिमाथि सर्दै गएको छ,’ सुवेदीले भने।
जसले पहिलो पटक स्याउ रोपे
मार्फाका पुराना किसान विष्णुराज हिराचन स्याउ खेतीबाट बर्सेनि लाखभन्दा बढी कमाउँछन्। २०२३ सालमा पहिलोपटक स्याउ रोप्ने हिराचन २५ रोपनीमा स्याउ खेती गर्छन्। उनले पनि जलवायुका कारण स्याउ खेतीमा परिवर्तन देखिएको बताए। ‘जलवायु परिवर्तनका कारण विभिन्न स्याउमा रोग भित्रिएका छन्। खेतीलाई नै असर गरेको त होइन, स्याउखेती राम्रो छ स्याउ लगाउनेको संख्या पनि बढेको छ’, उनले भने। ७ हजार फिटदेखि ११ हजार फिटमा स्याउ उत्पादन हुने गरेको उनको भनाइ छ।
पर्याप्त अनुसन्धानमा कमी
कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटी जलवायुको असर कृषि क्षेत्रमा देखिएको स्वीकार्छन्। तर अनुसन्धान हुन नसक्नु दुःखद् पक्ष भएको उनको भनाइ छ। बस्ताकोटीका अनुसार जलवायु परिवर्तनको असर तथा अन्य कारणले मुस्ताङमा बढी मात्रामा वर्षा भएको र यसले स्याउको फलमा विभिन्न रोग किराको प्रकोप देखिएको हो। स्याउको बोटमा फल लाग्ने समयमा भारी वर्षा हुँदा समस्या देखिने उनको भनाइ छ। वर्षा नहुने ठाउँमा बढी वर्षा हुनु, जलवायुको असर भएको अनुमान गर्न सकिने उनी बताउँछन्। ‘जलवायु परिवर्तनका कारण होला, अध्ययन भएको छैन’, बस्ताकोटीले भने।
उनका अनुसार हिउँ र पानी पर्ने कुरा पहिलाको जस्तो छैन। वर्षा भयो भने रोग किराको प्रकोप बढ्छ। उत्पादन घट्दो छ। पानी बढी पर्न थालेको छ। स्याउका लागि प्रशस्त घाम लाग्नुपर्छ। विषादी प्रयोग गर्नुपर्ने अवस्था हुन्छ।
उत्पादन घटे पनि कृषक बढ्दै
जलवायुका कारण स्याउमा असर गरे पनि मुस्ताङका कृषकको स्याउ खेतीप्रति आकर्षण बढेको छ। कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको सहयोगले किसानलाई व्यावसायिक रूपमा स्याउ खेती गर्न उत्साहित बनाएको प्रमुख बस्ताकोटीले बताए। मार्फामा गत वर्ष दाबेरोगका कारण उत्पादन घटेको छ। किसानले समयमा रोग किराको व्यवस्थापन गरेको कारण यस वर्ष उत्पादन नघट्ने अनुमान गर्न सकिने प्रमुख बस्ताकोटीले बताए।
‘खासगरी जलवायु परिवर्तनले लेते कुवाङजस्ता तल्लो मुस्ताङमा स्याउखेती हुन छाडेको हो। त्यहाँका किसान मर्कामा छन्, माथिल्लो भेगमा स्याउ खेती गर्नेको संख्या बढेको छ’, उनले भने, ‘यसअघि एकदमै कम विषादी प्रयोग हुने गरेकोमा मौसमी परिवर्तनको असरले बढी विषादी प्रयोग गर्नुपर्ने अवस्था आएको छ।’
मुस्ताङमा ३७ सय घरधुरी छन्। त्यसमध्ये १५ सय घरधुरीले स्याउ खेती गर्छन्। दुई वर्षअगाडि ५ हजार मेट्रिकटन स्याउ उत्पादन भएको भएकामा गत वर्ष ५ हजार ५ सय ६४ मेट्रिकटन उत्पादन भएको थियो। यस वर्ष २० प्रतिशतले बढ्ने अनुमान छ। मुस्ताङमा हुने जलवायु परिवर्तनले त्यस क्षेत्रमा केही सकारात्मक प्रभाव पनि परेको बस्ताकेटी बताउँछन्। ‘१५ वर्ष पहिला गोलभेडा काँक्रो नफल्ने ठाउँमा अहिले फल्न थालेका छन्,’ उनले भने।
सिंगो गाउँ स्थानान्तरण
मुस्ताडको ध्ये गाउँ जलवायु परिवर्तनका कारण स्थान्तरण भएको छ। हिमाली क्षेत्रका कृषकले वर्षौंदेखि गर्दै आएको खेतीमा जलवायु परिवर्तनका कारण एकाएक पानीका मूल सुक्न थालेपछि उब्जनी हुन छाड्यो। लगाएको अन्नबाली उब्जाउ नभएपछि २६ घरधुरीले पुरानो गाउँ छोडेर छाडचुङ भन्ने ठाउँमा आन्तरिक बसाइँ सरेका छन्।
‘जलवायुका कारण मुहान सुक्यो। सिँचाइ हुन सकेन। हजारौं वर्ष अगाडिबाट खेती गर्दै आएको जमिनमा उब्जनी हुन छाडेपछि बसाइँ नै सर्नुप¥यो,’ स्थानीय पासाड गुरुङले भने।
‘पहिले मूल फुटेर कुँवामा पानीले भरिने गरेको उनी सुनाउँछन्। अहिले सुकेको छ। वर्षभरि खाने खेती उत्पादन हुन छाडेपछि विकल्प खोज्नु प¥यो’, उनले भने। उनीहरू १५ वर्षअघि बसाइँ सरेका हुन्। ‘समयमा पानी पर्दथ्यो। हिँउ पर्ने समयमा हिँउ पर्ने गर्दथ्यो’, उनले भने, ‘वातावरण अनुकूलनको खेती पछि विस्तारै हुन छाड्यो र खेत बाँझा हुन थाले।’
केही वर्षयता हिउँ समयमा नपर्ने, परे पनि कम पर्ने, कुनै वर्ष पर्दै नपर्ने र वृष्टि छायाँमा पर्ने गरेको थियो। अहिले अधिक वर्षा हुने गरेका कारण स्याउ खेती गर्न समस्या बढ्दै गएको अर्का किसान तोप्री थाडछुङले बताए। गहुँ उवा, तोरी, आलुलगायतका खेती हुने त्यस ठाउँमा खेती मौसममा एकाएका आएको परिवर्तनले बसाइँ सरेको उनको पनि गुनासो छ।
बसाँइसराइपछि स्याउ खेती
जलवायुका कारण अन्नबाली उत्पादन हुन छाडेपछि आन्तरिक बसाइसराइ गरेका २६ घरधुरीले नयाँ बस्तीमा सामूहिक स्याउ खेती गर्न थालेका थिए। मुस्ताङको दामोदर कुण्ड गाउँपालिकामा १३ हजार स्याउका बोट लगाएका छन्। गुरुङ भन्छन्, ‘पाँच वर्षयता स्याउ उत्पादन हुन थालेको छ। १२ सय रोपनी क्षेत्रफल छ,। १२ देखि १३ सय बोट स्याउ लगाएका छौं। केहीले व्यक्तिगत पनि लगाएका छन्। केही खाली ठाउँ पनि छ।’
जलवायु नीति बन्न सकेन
पृथ्वीको तापक्रम क्रमशः बढ्दै विभिन्न खालका परिवर्तन देखिन थालेको वातावरणविद् डा.सुवास अधिकारीले बताए। मौसम परिवर्तनको बारेमा अझै अनुसन्धान हुन सकेको छैन। कति मात्रामा असर भइरहेको छ भन्ने कुनै तथ्यांक छैन।
डा. अधिकारी संघ, प्रदेश र स्थानीय सरकारले यो विषयलाई महŒवका साथ उठाउनुपर्ने बताउँछन्। सरकारले जलवायु नीति बनाउन नसक्नु दुःखद् भएको उनको गुनासो छ। सरकारले जलवायु मैत्री बजेट पनि बनाउनु पर्ने उनको भनाइ छ। नीति तथा योजना आयोगका गण्डकीका सदस्यसमेत रहेका अधिकारीले जलवायुको पहिला र पछिल्लो समयको अवस्थाबारे नयाँ तथ्यांक नभएको बताए।
‘केही अध्ययन, अनुसन्धान भएका छन् तर यो पर्याप्त होइन्, उनले भने। अनुसन्धानकर्ता डा. अनिल सुवेदीका अनुसार जलवायु परिवर्तनले औसत तापक्रममा वृद्धि, बढी र असामयिक वर्षा, कम हिउँ पर्ने गरेको र हिउँ पर्ने समय चक्रमा केही परिवर्तन, चिसोपनामा कमी हुँदै गएको, असामयिक हिउँ पहिरोलगायत असर देखिएका छन्। स्याउन खेतीमा यसले प्रभाव पारेको छ।
‘चिसोपनामा कमी तापक्रम वृद्धिका कारण स्याउका लागि आवश्यक पर्ने चिसोपनाको अवधिमा कमी हुँदै गएकाले उत्पादकत्व र उत्पादनमा ह्रास, फूल फुल्ने बेला र फल पाक्नु अघि आवश्यक चिसोपना (७ –८ डिग्री सेल्सियसभन्दा कम) हुनुपर्नेमा हुन छाडेको छ’, उनी भन्छन्, ‘रोग कीराको बढ्दो प्रकोप (विशेषगरी तल्लो मुस्ताङमा ढुंसीजन्य जीवाणुको कारण फलको गुणस्तर, उत्पादकत्व र उत्पादनमा ह्रास, स्याउको साइज पहिलाको तुलनामा सानो साइज हुँदै गएकाले भाइरस जन्य जीवाणुको प्रकोप बढ्ने सम्भावना छ।’