मुस्ताङको समानुपातिक मतमा एमाले पहिलो, कांग्रेस दोस्रो
जोमसोम: देशभर मतगणनाकार्य जारी रहँदै गर्दा मुस्ताङमा भने प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको सबै मतगणना सकिएको छ ।
जिल्ला मुख्य निर्वाचन कार्यालय मुस्ताङले सार्वजनिक गरेको समानुपातिक मतपरिणाममा नेकपा एमाले प्रतिनिधि सभा र प्रदेश सभातर्फ सबैभन्दा धेरै मत पाएको छ । दोस्रो धेरै मत नेपाली कांग्रेसले पाएको छ ।
प्रतिनिधि सभा समानुपातिकतर्फ कुल ७ हजार ६९९ मत खसेकोमा एमालेले ३ हजार ४०४ मत पाएको छ । कांग्रेसले २ हजार ४८६ मत पाएको छ । प्रतिनिधि सभा समानुपातिकमा कांग्रेसभन्दा एमालेको ९१८ मत बढी हो ।
यस्तै, नेकपा माओवादी केन्द्रले ९८९ मत पाएको छ। रास्वपाले २९९ मत प्राप्त गरेको छ ।
मुस्ताङ प्रदेश सभा समानुपातिक मतपरिणाममा पनि एमालेले धेरै मत ल्याएको छ । खसेको ७ हजार २५५ मत मध्ये एमालेले ३ हजार १०१ मत पाएको छ । कांग्रेसले २ हजार २५७ मत ल्याएको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादीले १ हजार ३० मत पाएको छ । राप्रपाले ४४० मत ल्याएको छ ।