सदाबहार जर्मनी

सदाबहार जर्मनी

दोहा : विश्वकपमा सर्वाधिक सफलमध्ये एक टोली हो, जर्मनी। विरलै मात्र खराब प्रदर्शन गर्ने जर्मनी २०१८ को विश्वकपमा झैं समूह चरणबाट घर फर्किन चाहँदैन। ह्यान्सी फिलिकको टोलीले बुधबार राति जापानसँग खेल्दै कतारमा जारी विश्वकपमा सुरुवात गर्दैछ। चार पटकको विश्व विजेता जर्मनीले यो शताब्दीमा भएका पाँच संस्करणमध्ये चार पटक कम्तीमा सेमिफाइलन यात्रा तय गरेको छ। जुन, अन्य कुनै मुलुकसँगको तुलनामा सर्वाधिक हो।

जर्मनी जोचिम लोको नेतृत्वमा चार वर्षअघि साविक विजेताका हैसियतमा रुस पुगेको थियो। तर, समूह चरणमा मेक्सिको र दक्षिण कोरियासँग पराजित हुँदै अप्रत्यासितरुपमा नकआउट चरण नपुग्दै बाहिरियो। त्यो बहिर्गमन सन् १९५० यताकै पहिलो थियो। त्यसयता अनुपस्थित भएका विश्वकपबाहेक अन्य कुनै संस्करणमा पहिलो चरणबाट युरोपेली महारथिले समूह चरणबाट बाहिरिनु परेको छैन। जर्मन डिफेन्डर निक्लस सुलको राष्ट्रिय टिममा बटुलेको एउटा मात्रै अनुभव दक्षिण कोरियाविरुद्धको २–० को हार हो। तर, अहिले त्यसले केही फरक नपर्ने उनी बताउँछन्। ‘अब त्यसले केही अर्थ राख्दैन’, उनले सञ्चारमाध्यमसँग कुरा गर्दै भनेका छन्, ‘हामी एकदमै तीव्र समाजमा छौं। जहाँ सफलता र असफलतामा गमेर बस्न धेरै समय हुँदैन। हिजो के भयो आज त्यसले धेरै अर्थ राख्दैन।’

स्पेन, जापान र कोस्टारिकासँग समूह ‘ई’मा रहेको जर्मनीले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। आयोजक कतारपछि मध्यपूर्वमा जारी २२औं संस्करणको विश्वकपमा स्थान बनाउने दोस्रो मुलक जर्मनी हो। जर्मनीले युरोपेली छनोटमा दोस्रो सर्वाधिक गोल गरेको थियो।

इङ्ल्यान्डले सर्वाधिक ३९ तथा जर्मनीले ३६ गोल गरेको थियो। ‘हामीसँग धेरै अगाडि जान सक्ने क्षमता छ’, विश्वकपमा डेब्यू गर्ने तयारीमा रहेका जमल मुसियाला भन्छन्, ‘हामी उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने छौं। हामी विश्वकपमा धेरै अघि बढ्न सक्ने टोली हौं। पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्न ब्यग्र प्रतीक्षामा छौं।’ 

जर्मनीको बुधबारको प्रतिद्वन्द्वी जापानले पछिल्ला आठ विश्वकपमा एक खेल मात्रै जितेको छ। जापानले चार वर्षअघि रुस विश्वकपको पहिलो खेलमा कोलम्बियालाई पराजित गर्दै विश्वकपमा पहिलो जित आत्मसाथ गरेको थियो। एसियाली मुलुक जापान लगातार सातौं पटक विश्वकप खेल्न कतार पुगेको छ। जापानले अहिलेसम्म दोस्रो चरण पार गर्न भने सकेको छैन। रुस विश्वकपको अन्तिम १६ को खेलमा त्यो समय विश्व वरीयताको शीर्ष मुलुक बेल्जियमविरुद्ध जापान २–० को अग्रता जोगाउन असफल भएको थियो। त्यो खेलको अन्तिम १६ मिनेटमा २–० को अग्रता जोगाउन नसक्दा जापान पहिलो पटक क्वार्टरफाइनल पुग्नबाट वञ्चित भएको थियो।

जर्मनी र जापानबीच अहिलेसम्म दुई वटा मैत्रीपूर्ण खेल भएको छ। दुईमध्ये जर्मनीले एक खेलमा जित निकालेको छ भने अर्को एउटा खेल बराबरी गरेको थियो। सन् २००६ मे ३१ मा भएको मेत्रीपूर्ण खेलमा जर्मनी र जापानले २–२ गोलको बराबरी खेलेका थिए। यस्तै सन् २००४ डिसेम्बर १६ मा भएको खेलमा जर्मनीले ३–० को जित निकालेको थियो। 

प्रभाव पार्न सक्ने खेलाडी

जमल मुसियाला (जर्मनी)

जर्मनीका प्रमुख खेलाडी थोमस मुलर हुन्। सन् २०१० मा डेब्यू गरेका मुलरले विश्वकपका १६ खेलमा १० गोल र ६ असिस्ट गरेका छन्। उनीभन्दा अघि रहेका मिरोस्लाभ क्लोजले १६, गर्ड मुलरले १४ र जुर्गन क्लिंसमन ११ गोल गरेका छन्। त्यसैले थोमस कतार विश्वकपमा बढीभन्दा बढी गोल गर्न चाहन्छन्। 

तर, युवा स्टार जमल मुसियालाको उदयसँगै थोमसले जर्मनीको सुरुवाती ११ मा स्थान बनाउनेमा उनी आफै पनि विश्वस्त छैनन्। बायर्न म्युनिखमा उत्कृष्ट लयमा रहेका मुसियालाबाट प्रशिक्षक ह्यान्सी फिल्क पनि प्रभावित छन्। 

मुसियाला जर्मनीको मिडफिल्डका प्रमुख हतियार हुन्। जारी सिजन जर्मन बुन्डेस लिगामा नौ गोल र ६ असिस्ट गरेका मुसियाला युरोपका पाँच शीर्ष लिगमा कुनै पनि युवा खेलाडीभन्दा अगाडि छन्।
नाइजेरियन बुवा र जर्मन आमाका सन्तान मुसियाला सात वर्षको उमेरमै इङ्ल्यान्ड पुगेका थिए। उनको फुटबल करियरको उदय पनि इङ्ल्यान्डबाटै भएको हो। उनले उमेर समूहका थुप्रै खेल जर्मनी र इङ्ल्यान्डबाट खेलेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.