प्यूठानमा एमालेका सूर्य थापा विजयी
प्यूठान : प्रतिनिधिसभा सदस्यमा प्यूठानबाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा विजयी भएका छन्। बुधबार राति सम्पन्न मत परिणाम अनुसार थापाले ५ हजार २ सय ७४ मतान्तरले प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेकी राजमोकी दुर्गा पौडेललाई पराजित गरेका हुन्।
थापाले ४१ हजार १ सय १८ र पौडेलले ३५ हजार ८ सय ४४ मत लिएका छन्। जिल्लाका नौवटै स्थानीय तहमा गरी कुल ८८ हजार ९ सय ९८ मत खसेको थियो।
गृह जिल्लाबाट पहिलोपटक निर्वाचन लडेका सूर्य थापा पाँच दलीय गठबन्धनको चुनौतीलाई चिर्दै सफलता हासिल गरेका छन्। उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनालको प्रेस सल्लाहकार भएर काम गरेका थिए। उनी झिमरुक गाउँपालिका-१ सौतामारे निवासी हुन्।
जिल्लाको समग्र विकासमा ५२ बुँदे विकासका प्रतिवद्धता बोकेर थापा मतदाताको बीचमा पुगेका थिए।
४८ वर्षीय थापाले समाजशास्त्रमा स्नातकोत्तर तह र व्यवस्थापन संकायमा स्नातक तह गरेका छन्। पार्टीको प्रचार र पर्यटन विभागको जिम्मेवारी रहेर लामो समय काम गरेका थापा विगत तीन दशक लामो समय पत्रकारिता क्षेत्रमा पनि क्रियाशील रहे।