बर्दिया २ (१) मा नेपाली काँग्रेसका जन्मजय तिमिल्सिना निर्वाचित
गुलरिया : प्रदेश सभा सदस्य बर्दिया क्षेत्र नम्बर २ (१) मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना निर्वाचित भएका छन्। नागरिक उन्मुक्ति पार्टीका प्रदेशी चौधरीलाई ५ हजार ६७ मतले पराजित गर्दै तिमिल्सिना विजयी भएका हुन्।
तिमिल्सिनाले १७ हजार २५१ र चौधरीले १२ हजार १८४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका लहनु थारु १० हजार ६४३ र राप्रपाका कन्हैयालाल थारु ५ हजार ३२४ मतमा समेटिएका छन्। ३२ वर्षदेखि राजनीतिक जिवनमा लागेका तिमिल्सिना वि.स. २०२८ साल फागुन २१ गते अछाममा जन्मिएका हुन्।
कुस्माकर तिमिल्सिनाका सुपुत्र लुम्विनी प्रदेश सभा सदस्यमा निर्वाचित तिमिल्सिना बर्दियाको गेरुवा गाउँपालिकास्थित सुखारमा स्थायी बसोबास गर्छन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका उनी नेपाली काँग्रेस बर्दियाका महासमिति सदस्य हुन्।