सिन्धुलीमा कांग्रेसका श्यामकुमार, रामकुमार र माओवादीका मातृका विजयी
सिन्धुली : सिन्धुली जिल्लाको प्रतिनिधि सभा १ मा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीका अनुसार घिमिरेले ४ हजार ८ सय ४५ मत अन्तरले विजय भएका हुन्।
उनले ३० हजार ३ सय ९१ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिपकुमार कटुवालले २५ हजार ५ सय ४६ मत पाएका छन्।
घिमिरे सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार थिए । उनी २०७४ को आम निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी कटुवालसंग प्रदेश सभामा पराजित भएका थिए । तर यस पटक तिनै कटुवाललाई पराजित गर्दै घिमिरेले लगातार जित्दै आएको कम्युनिष्टको आधार भुमि भत्काएका छन्। त्यस क्षेत्रमा २०६४ देखि लगातार कम्युनिष्टले जित्दै आएको थियो।
यस्तै उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरीले २ हजार ६ सय ९२ मत पाएर तेस्रो भएकी छिन्। राप्रपाले ७ सय ४ मत प्राप्त गरेको छ । यस क्षेत्रमा १ लाख ७ हजार १ सय ३६ मतदाता रहेकामा ६३ हजार १ सय १७ मत खसेको थियो ।
त्यस्तै प्रतिनिधि सभा १ अन्तरगत प्रदेश सभा १ (क) मा नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद भट्टराई विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालय सिन्धुली क्षेत्र नम्बर १ का अनुसार भट्टराई ३ हजार ३ सय १९ मत अन्तरले विजय भएका हुन्।
उनले १५ हजार ८ सय ५२ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुवास देकोटाले १२ हजार ५ सय ३३ मत पाएका छन्।
साथै प्रतिनिधि सभा १ अन्तरगत प्रदेश सभा २ (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीका अनुसार पहाडी २ हजार २ सय २२ मत अन्तरले विजय भएका हुन्।
उनले १५ हजार ६ सय २१ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार कार्कीले १३ हजार ३ सय ९९ मत पाएका छन्।