बागलुङमा गठबन्धनको क्लीन स्वीप
बागलुङ: बागलुङ जिल्लामा प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ । जिल्लाको सबै स्थानमा पाँच दलिय गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट नेकपा एमालेले एक प्रतिनिधि सभा र एक प्रदेश सभामा जितेको थियो भने, नेकपा माओवादी केन्द्रले एक प्रतिनिधि सभा र एक प्रदेश सभा तथा राष्ट्रिय जनमार्चाले दुई प्रदेशसभा सदस्यमा जित हासिल गरेको थियो ।
यस पटक सत्ता साझेदार दलहरु (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी)ले गठबन्धन गरेका थिएभने नेकपा एमालेले एक्लै चुनावी प्रतिस्पर्धामा हामिएको थियो ।
बागलुङका दुई प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी तथा चार प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । केसीले २१ हजार ४ सय ५१ मत प्राप्त ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका सुर्यप्रसाद पाठकले १८ हजार ८ सय २५ मत ल्याए ।
यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल विजयी भएका छन् । पौडेलले २४ हजार ७ सय ७९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्माले २० हजार १ सय ८० मत प्राप्त गरेकी छिन् ।
यस्तै बागलुङका चार वटै प्रदेश निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा नेपाली कांग्रेसका दिपेन्द्र बहादुर थापाले १३ हजार ८ सय ८४ मत ल्याएर निर्वाचित भएका छन् ।
थापा दोस्रो पटकमा सांसदमा निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा थापा नेकपा एमालेका इन्द्रलाल सापकोटासँग ५ हजार ९ सय २६ मतान्तरले पराजित भएका थिए । सापकोटाले १७ हजार ९ सय १५ मत प्राप्त गर्दा थापाले ११ हजार ९ सय ८९ मत प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिरा बहादुर केसीले १२ हजार ४ सय ५ मत ल्याए ।
यस्तै प्रदेश ‘ख’मा नेपाली कांग्रेसका डिल्लीराम सुवेदीले १३ हजार ३ सय २० मत ल्याएर विजयी भएभने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज पौडेलले ७ हजार २५३ मत प्राप्त गरे ।
एमालेबाट निर्वाचत पौडेल नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका थिए ।
यस्तै क्षेत्र नम्बर २ को प्रदेश ‘क’ र ‘ख’मा समेत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
प्रदेश ‘क’मा नेपाली कांग्रेसका जित बहादुर शेरचन १५ हजार १ सय ८ मत ल्याएर विजयी भए । शेरचन तेस्रो प्रयासमा विजयी भएका हुन् । शेरचन शेरचनले २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन र २०७६ को उपचुनावमा बागलुङ-२ (ख) बाट बामगठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए ।
यस पटक बागलुङ-२ (क)मा पाँच दलिय गठबन्धनको साँझा उम्मेदवार बनेकोका शेरचनले एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पराजित गर्दै तेस्रो प्रयासमा निर्वाचित भए । स्वतन्त्र उम्मेदवार घर्तीले १२ हजार ८ सय मत प्राप्त गरेका थिए । घर्ती स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले ताराखोला गाउँपालिकाको अध्यक्षमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार दिएपनि पराजित भएका थिए ।
बागलुङ-२ प्रदेश (ख) मा नेपाली कांग्रेसका दोर्ण कुमार कुँवर विजयी भएका छन् । कुँवरले १२ हजार ४ सय ८ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६ सय ७१ मत प्राप्त गरे ।