कैलाली १ (ख) मा नागरिकका लक्ष्मणकिशोर विजयी
टीकापुर: कैलाली क्षेत्र नं. १ को प्रदेश (२) मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी भारी मतान्तरले विजयी भएका छन् ।
उनी प्रतिद्वन्दी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री डा. रणबहादुर रावल भन्दा ३ हजार २६४ मतान्तरले विजयी भएका हुन् ।
चौधरीले ११ हजार ३१७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी रावलले ८ हजार ५३ मत पाएका छन् ।
यसअघि २०७४ मा सम्पन्न भएको प्रेदस सभा निर्वाचनमा रावलले चौधरीलाई ६ मत अन्तरले पराजित गरेका थिए । चौधरी राष्टिय जनता पार्टीबाट चुनाव लडेका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका द्धारिकाप्रसाद न्यौपानेले ५ हजार ३२० मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाका डम्बरबहादुर थापाले १ हजार ३३८, स्वतन्त्र उम्मेदवार केशरबहादुर साउँदले ८८८ मत, स्वतन्त्र गणेश चौधरीले ५०८ मत र नेपाल लोकतान्त्रिक पार्टीका रामकृष्ण चौधरीले ४४१ मत प्राप्त गरेका छन् ।
यसअघि प्रदेश १ मा समेत नागरिक उन्मुक्तिका कैलाश चौधरी भारी मतान्तरका साथ विजयी भएका छन् ।
क्षेत्र नं. १ को प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको समेत जित निश्चित भैसकेको छ ।