जाजरकोट प्रदेश १ मा २८ वर्षपछि कांग्रेसको कमब्याक
जाजरकोट : जाजरकोटको प्रदेश सभा क मा २८ वर्षपछि कांग्रेसले जित निकालेको छ। नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका कर्णाली प्रदेश सभा सदस्य पदका उम्मेदवार बेदराज सिंहले जित निकालेसँगै २८ वर्षपछि कांग्रेस कमब्याक भएको हो।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतको अन्तरले हराएका हुन्। बेदराज १८ हजार ५४३ मत प्राप्त गरी विजय भएका हुन्। उनका निकतटम प्रतिद्वन्द्वी एमालेका डम्बरले ११ हजार चार सय ७० मत प्राप्त गरेका छन्।
यसअघि दुई निर्वाचन क्षेत्र रहेको जाजरकोटमा २०४८ र २०५१ सालमा कांग्रेसले जितेको थियो। २०४८ सालमा द्वारिकाप्रसाद प्रधान र २०५१ सालमा झलकनाथ वाग्लेले जित निकालेको क्षेत्र नम्बर १ अहिले प्रदेश सभाको क्षेत्र नम्बर १ भएको छ। २०५६ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द विक्रम शाह विजयी भएका थिए। २०६४ सालमादेखि माओवादी केन्द्रले उक्त क्षेत्र जित्दै आएको थियो।
२०६४ सालमा माओवादी केन्द्रका कालीबहादुर मल्ल र २०७० सालमा माओवादी केन्द्रकै शक्तिबहादुर बस्नेतले जितेका थिए। नयाँ संविधान अनुसार पुर्नसंरचना भएपछि प्रतिनिधिसभामा जाजरकोट १ निर्वाचन क्षेत्रमा सिमित भएको छ। प्रदेश सभामा भने दुई निर्वाचन क्षेत्र छन्। पहिलेको प्रतिनिधिसभाको क्षेत्र नम्बर १ अहिलेको प्रदेश सभा क्षेत्र नम्बर १ भएको छ। २०७४ सालको निर्वाचनमा बामगठबन्धनका तर्फबाट माओवादीका गणेशप्रसाद सिंह विजयी भएका थिए।
२०७४ सालको निर्वाचनमा गणेशप्रसादसँग पराजित भएका बेदराज यसपटक भने उनकै सहयोगमा निर्वाचित भएका हुन्। सत्ता गठबन्धनबाट माओवादी केन्द्रले प्रतिनिधिसभा र कांग्रेसको भागमा प्रदेशका दुबैसिट परेपछि नेपाली कांग्रेस तीन दशकपछि आफ्नो झण्डा फहराउने अवसर भएको हो।
जिल्लाको बारेकोट गाँउपालिका ९ सेपुखोलामा जन्मिएका ४२ वर्षीय वेदराज विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा होमिएका थिए। नेपाली विद्यार्थी संघको जिल्ला अध्यक्ष, पार्टीको क्षेत्रिय सभापति, जिल्ला सहसचिव हुँदै गत वर्ष पार्टी सभापति हुने अवसर पाएका उनले जिल्लाको विकासका लागि आफूले काम गर्ने बताए।
कांग्रेसका युवा नेता सिंहले आफूलाई भरोसा गरेर विजयी गराएकोमा जिल्लाबासी सबैलाई धन्यबाद दिंदै जनमतको कदर गर्दै इमान्दारीपुर्वक काम गर्ने बताए।