महोत्तरीका ५ निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार विजयी
महोत्तरी: जिल्लामा रहेको आठ प्रदेशसभा सदस्य पदका लागि भएको निर्वाचनमा ५ वटा निर्वाचन क्षेत्रको मतपरिमाण सार्वजानिक भएको छ ।
पछिल्लो मतगणनाको रिपोर्टअनुसार ती क्षेत्रमा पुरानै प्रदेशसभा सदस्यहरु जनमत पाएर प्रदेशसभा सदस्यको रुपमा दोह्राएका छन् । शुक्रबार विहानसम्मको मतपरिणाम अनुसार निर्वाचित हुनेमा पुरानै अनुहारहरु रहेका छन् ।
यस निर्वाचनमा पनि जनताले उनीहरुलाई नै रुचाएका छन् । जनमत पाएपछि उनीहरु पुनः दोस्रो कार्यकालका लागि तयार भएका छन् । यसरी जनमत पाउनेमा ४ जना सतारुढ गठबन्धनकोतर्फबाट उम्मेदवार दिएका रहेछन भने १ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
भरतप्रसाद साह (नेकपा माओवादी)
क्षेत्र नं. १ (ख)
मधेस प्रदेशका गृह तथा संचारमन्त्रीजस्तो गरिमामय पद सम्हालिसकेका भरत साह पुनः दोस्रो कार्यकालका लागि जनमत प्राप्त गर्न सफल भएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नं. १ को ख क्षेत्रबाट प्रदेशसभा सदस्यमा उम्मेदवार दिएका साहले आफना प्रतिद्धन्द्धीलाई २ हजार ५ सय मत अन्तरले पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार साहले आफना निकटम प्रतिद्धन्द्धी जनता सामाजवादी पार्टीका उम्मेदवार रामश्रेष्ठ महतोलाई २ हजार ५ सय मतअन्तरले पराजित गरेका हुन् । साहले ८ हजार ३०१ मत हासिल गरेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी जसपाका उम्मेदवार महतो ५ हजार ८७१ मत हासिल गरेका छन् ।
साह २०७४ सालको निर्वाचन यहि निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
जयनुल राईन (लोकतान्त्रिक समाजवादी पार्टी)
क्षेत्र नं. २ (क)
सतारुढ गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार दिएका जयनुल राईन दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको कार्यालयले प्रकाशित गरेको अन्तिम मतपरिणामअनुसार राईनले ११ हजार ४२४ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनले आफ्ना निकटम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादी पार्टीकी मन्जु यादवलाई ५ हजार १७३ मतअन्तरले पराजित गरेका हुन् । यादव ६ हजार २५१ मत ल्याएका थिए ।
सुरिता साह (स्वतन्त्र)
क्षेत्र नं. २ (ख)
सतारुढ गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवार दिएकी नेतृ सुरिता साह प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी छन् । उनी सो क्षेत्रबाट दोस्रोपटक निर्वाचित भएकी हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेतृ साह सत्तारूढ गठबन्धनका उम्मेदवार तथा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवलाई १ हजार ७ सय ६६ मतान्तरले हराउँदै निर्वाचित भएकी हुन् । साहले ८ हजार ५ सय ६८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ८ सय २ मत ल्याए ।
अभिराम शर्मा (लोकतान्त्रिक समाजवादी पार्टी)
क्षेत्र नं. ३(क)
निवर्चानको अन्तिम मतपरिणाम अनुसार महोत्तरी क्षेत्र नं. ३ (क) मा अभिराम शर्मा दोस्रोपटकका लागि जनमत पाएका छन् । मुख्य निर्वाचन अधिकृत हेमवहादुर सेनका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका अभिराम शर्माले ९ हजार ८ सय ९२ मत हासिल गरेका छन् । शर्माले आफना निकटम प्रतिद्धन्द्धी दिपेन्द्र झा लाई पराजित गरेका हुन । झाले ९ हजार ७ सय १८ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शर्मा मधेस प्रदेश सरकारका पूर्व राज्यमन्त्री समेत रहेका छन् । उनी सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
रानी शर्मा तिवारी (लोकतान्त्रिक समाजवादी पार्टी)
क्षेत्र नं. ३ (ख)
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. ३ को (ख) का लागि रानी शर्मा तिवारीले दोस्रोपटक प्रदेश सभा सदस्यका लागि अवसर पाएका छन् । सतारुढ गठबन्धनकोतर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीकोतर्फबाट उम्मेदवार दिएकी तिवारीले ६ हजार ४ सय १४ मत ल्याएर विजयी भएकी छिन् । त्यस्तै उनका निकटम प्रतिद्धद्धि स्वतन्त्रतर्फका उज्वल कुमार झाले ५हजार ४ सय ८९ मत हासिल गरेका हुन् । तिवारी यसभन्दा अगाडि २०७४ सालको निर्वाचनमा विजयी हासिल गरेका थिए ।